१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o२:oo

सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलाई लक्षित गरेर काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने तयारी गरेको छ । कम्पनीले एक हजार च्यांग्रा र दुई हजार खसी–बोका ल्याउने तयारी गरेको हो । 

दसैँलक्षित चौपाया खरिदका लागि आन्तरिक तयारी भइरहेको एक हप्तापछि पक्रिया अघि बढाउने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् । ‘गत वर्ष कोभिड–१९ लगायत कारणले कम बिक्री हुने अनुमान गरी करिब २५ सयको संख्यामा खसी–बोका र च्यांग्रा ल्याएकोमा यसपटक तीन हजारवटा ल्याउने भएका छौँ,’ उनले भनिन्, ‘उपलब्ध बजेट र उपभोक्ताको मागको मूल्यांकन गरेर ल्याउने संख्यामा थपघट हुन सक्नेछ ।’ उनका अनुसार तुलसीपुर, हेटौँडा, नुवाकोट, तनहुँलगायत जिल्लाबाट खसी र बोका ल्याइनेछ । च्यांग्रा भने जुम्ला र हुम्लाबाट ल्याइनेछ ।

व्यापार कम्पनीले खसी–बोका र च्यांग्राका लागि आठ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ । त्यसमध्येबाट तीन करोड ४२ लाखबराबरको खसी तथा बोका र चार करोड ९१ लाखबराबरको च्यांग्रा ल्याउने कम्पनीको योजना छ । घटस्थापनाका दिनसम्म खसी–बोका र च्यांग्रा ल्याइनेछ । कम्पनीले गत वर्ष जिउँदो खसी प्रतिकिलो पाँच सय ७० रुपैयाँ, बोका पाँच सय ५५ रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँले बिक्री गरेको थियो ।

व्यापारीले ४० हजार खसी–बोका ल्याउने 
दसैँलाई लक्षित गरेर व्यापारीहरूले ४० हजार खसी–बोका ल्याउने भएका छन् । उपत्यकाको माग धान्न व्यवसायीले अघिल्लो वर्षको भन्दा पाँच सय हाराहारी संख्या बढाएर खसी–बोका ल्याउने तयारी गरिरहेको चौपाया खरिद–बिक्री संघका अध्यक्ष दीपक थापाले बताए । अघिल्लो वर्ष ३० देखि ३५ हजारको संख्यामा ल्याइएको व्यापारीको भनाइ छ । उनले भने, ‘खसी–बोका ल्याउने प्रक्रिया अघि बढाइसकिएको छ, व्यापारीहरू गाउँ पस्न थालिसकेका छन्, खरिदपश्चात् असोजको तेस्रो साताबाट बिक्री सुरु गर्छौँ ।’ उनका अनुसार उपत्यकामा बर्दिया, गुलरिया, सल्यान, सुर्खेत, दाङ, कटहरी, सुर्खेत, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाहीलगायत जिल्लाबाट खसी–बोका ल्याइनेछ । त्यस्तै, मुस्ताङ, जुम्लालगायत हिमाली क्षेत्रबाट च्यांग्रा ल्याइने उनले बताए । 

सहुलियत पसल असोजको तेस्रो सातादेखि
खाद्य व्यापार कम्पनीले दसैँलक्षित सहुलियत पसल असोजको तेस्रो सातादेखि सुरु गर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लालाई केन्द्रित गरेर सातदेखि नौवटा स्थानमा सहुलियत पसल राखिने कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले भनिन्, ‘कुन वस्तुमा कति छुट दिने भन्नेबारे अहिले हामी छलफलकै क्रममा रहेका छौँ, वणिज्य मन्त्रालयसँग छलफल गरेर सूची सार्वजनिक गर्छौँ ।’ खाद्य व्यापारसँग जोडिएर दुग्ध विकास संस्था डिडिसी, साल्ड टे«डिङलगायतले पनि आपसी समन्वयमा सहुलियत पसल राख्ने तयारी छ । 

ad
ad