
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन सत्र हुने छ । अध्यक्ष केपी शर्मा ओलीले असोज ८ गते अधिवेशनको उद्घाटन गर्नेछन् । अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसंगठनका प्रतिनिधि चयन भएको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताए । एक हजार दुई सय प्रतिनिधिले भाग लिने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष पाण्डेले नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुन सक्ने बताए । उनले भने, ‘मुलुकको राजधानीसमेत रहेको प्रदेश कमिटीको प्रथम र ऐतिहासिक अधिवेशन हुँदै छ । यसमा स्वाभाविक रूपमा चासो र आकर्षण हुन्छ । प्रतिनिधिहरू आइसकेपछि उहाँहरूको भावनाअनुसार हामी अघि बढ्छौँ । तर, बाहिर आएजस्तो कुनै गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा हामीमा छैन । पार्टीको नेतृत्वबाट पनि यो हुनुपर्छ या हुनुपर्दैन भन्ने कुनै सन्देश आएको छैन । यो प्रदेश कमिटीका प्रतिनिधिकै हातमा रहेको निर्णय हो । मुख्य कुरा पार्टीको लक्ष्य र गन्तव्यअनुसार हामी प्रभावकारी रूपमा चल्ने भन्ने नै हो ।’
यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनीमा सहमति हुन नसकेपछि मतदानबाट नेता चयन भएका थिए।