Skip This
शिक्षक आन्दोलनले उपत्यकाको ट्राफिक दिनभर अस्तव्यस्त 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ५ शुक्रबार o७:४६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षक आन्दोलनले उपत्यकाको ट्राफिक दिनभर अस्तव्यस्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o७:४६:oo

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० विरुद्ध सडक संघर्षमा उत्रिएका शिक्षकका कारण उपत्यकाको यातायात आवागमन अस्तव्यस्त बनेको छ । मुलुकभरका शिक्षक बुधबारदेखि राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका थिए । जसकारण पछिल्ला दुई दिन उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

आन्दोलन माइतीघर मण्डला र नयाँ बानेश्वरमा केन्द्रित छ । जसकारण कोटेश्वर, गौशाला, रत्नपार्क, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली क्षेत्रको यातायात आवागमन प्रभावित बन्न पुगेको छ । आन्दोलनका कारण बिहीबार भक्तपुरबाट रत्नपार्क आउने यात्रु कोटेश्वरमै रोकिएका थिए । कोटेश्वरमै रोकिन पुगेका न्युरोडस्थित सहकारी कार्यालयमा कार्यरत खगेन्द्र रावलले सडक अवरुद्ध हुँदा आफ्नोे सम्पूर्ण कार्यसूची खलबलिएको बताए । उनले भने, ‘म भक्तपुर बस्छु । मेरो कार्यालय न्युरोडमा छ । बिहान १० बजे कार्यालय पुग्नुपर्ने हुन्छ । तर, सडक अवरुद्ध हुँदा आज कार्यालय पुग्न सकिएन । कोटेश्वरमै रोकिनुपर्‍यो । त्यसो हुँदा आजको सम्पूर्ण कार्यसूची बिग्रिन पुग्यो ।’

ललितपुरबाट चाबहिल जान चाहने यात्रु थापाथलीमै झर्नुपरेको छ भने बलाजु, नयाँ बजार, नयाँ बसपार्कबाट भक्तपुर जान चाहने यात्रु बीचबाटोमै अलपत्र बन्नुपरेको छ । नयाँ बसपार्कबाट भक्तपुर हिँडेका रविन शाक्यले भने, ‘भक्तपुरस्थित मालपोत कार्यालयमा मेरो काम थियो । तर, यातायात आवागमन अवरुद्ध हुँदा जान सकिएन । दिनभर सडक अवरुद्ध बन्न पुग्यो । आज हुने भनिएको काम पूरा हुन सकेन ।’

शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर, अनामनगर, शंखमूल, बिजुलीबजार, बुद्धनगर, शान्तिनगर, तिनकुनेलगायतका क्षेत्रका भित्री सडक बुधबार र बिहीबार दिनभरजसो अवरुद्ध बन्न पुग्यो । भित्री सडकमा यात्रुवाहक बसको जाम थियो । मोटरसाइकल तथा निजी यातायातका साधन सडकमा दिनभर जाममा परे । धोबीखेला, बागमती नदी करिडोर पनि अवरुद्ध थियो । 

धोबीखोला करिडोरमा जाममा परेका सबिन शर्माले भने, ‘म पाटन अस्पताल जान खोजेको, अस्पतालमा आफन्त बिरामी छन् । घट्टेकुलोबाट भित्री सडक हुँदै अनामनगर आइपुगेँ । तर, यहाँ जाममा फसेँ । अस्पताल कसरी पुग्ने सोच्न सकेको छैन ।’

सडक अवरोधका कारण बिरामी बोक्ने एम्बुलेन्स पनि चल्न सकेनन् । विशेष गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र एभरेस्ट अस्पताल यसको मारमा परे । एम्बुलेन्स नचल्दा बिरामीलाई अस्पतालले अर्को अस्पतालमा रिफरसमेत गर्न सकेनन् ।