१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बजारमा ६ खर्ब ४० अर्बका नोट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

डिजिटल कारोबार बढे पनि नोटको प्रयोग घटेको छैन, जिडिपीको अनुपातमा ११.८३% नोट चलनचल्तीमा

डिजिटल कारोबारले नोटको प्रयोगलाई विस्थापित गर्दै लगे पनि चलनचल्तीको नोटको प्रयोगमा भने कमी आएको छैन । आर्थिक वर्ष ०७८/७९ मा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका नोट चलनचल्तीमा रहेकोमा ०७९/८० मा सात अर्ब ६१ करोडले वृद्धि भएर ६ खर्ब ४० अर्ब आठ करोड रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा चलनचल्तीमा रहेका नोट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ११.८३ प्रतिशत हो । 

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ । डिजिटल कारोबारले विस्थापित गर्दै जाँदा नोटको चलनचल्तीमा सामान्य वृद्धि भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले भने, ‘चलनचल्तीको नोटको विस्तारलाई सामान्य नै मान्नुपर्छ । किनभने आर्थिक वृद्धिदरको तुलनामा नोटको चलनचल्तीमा आएको विस्तार सामान्य नै छ ।’ 

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले नोटको कारोबार बढ्नुका पछाडि विभिन्न कारण रहने बताए । उनका अनुसार पैसा राख्नका लागि बैंकहरूमाथि सर्वसाधारणको विश्वास नहुँदा पनि व्यक्तिले होल्ड गरेर राख्ने सम्भावना हुन्छ, जसले नोटको चलनचल्तीलाई विस्तार गर्न सक्छ । उनले भने, ‘डिजिटल कारोबार बढ्दैमा नोटको कारोबार घटिहाल्छ भन्ने हुँदैन । नोटको कारोबार वृद्धि हुनुमा कारणहरू हुन सक्छन् । मुख्यतः बैंकमा पैसा राख्ने विश्वास सर्वसाधारणमा नहुँदा पनि व्यक्तिले पैसा होल्ड गर्न सक्ने अवस्था रहँदा नोटको कारोबार बढ्ने हुन्छ ।’ 

भ्रष्टाचार तथा गैरकानुनी कारोबारले पनि नोटको चलनचल्ती बढाउन सक्ने उनको भनाइ छ । उनले भने, ‘गैरकानुनी कारोबार गर्नका लागि नोटकै प्रयोग हुने भयो ।’

केन्द्रीय बैंकका अनुसार पछिल्लो समयमा विद्युतीय भुक्तानी प्रणालीमा पहुँच र प्रयोगमा विस्तार भइरहेको छ । कुल विद्युतीय कारोबारमा सबैभन्दा बढी मोबाइल बैंकिङ बैंकले ३८.१७ प्रतिशत हिस्सा ओगटेको छ । अत्यधिक कारोबार हुने मोबाइल बैंकिङका प्रयोगकर्ता गत असार मसान्तसम्ममा दुई करोड १३ लाख ६३ हजार नौ सय ८९ पुगिसकेका छन् । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०७९/८० मा यसका प्रयोगकर्ता ३० लाख ५६ हजार सात सय ३४ ले थपिएका हुन् । नेपालमा दसैँ–तिहारमा नयाँ नोट साट्ने परम्परा कायमै रहेकाले पनि नोटको कारोबार घट्दै जाने सम्भावना न्यून देखिन्छ ।

नोटको मौज्दात १० अर्ब ५३ करोडले घट्यो
नोटको मौज्दात भने ४.६४ प्रतिशतले घटेको छ । ०८० असार मसान्तमा राष्ट्र बैंकले विभिन्न दरका दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँबराबरका नोट मौज्दात राखेको छ । ०७९ असार मसान्तसम्ममा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब आठ करोड ६७ लाख ४९ हजार थियो । यसबीच नोटको मौज्दात १० अर्ब ५३ करोड ७५ लाख रुपैयाँले घटेको छ । मौज्दातको हकमा केन्द्रीय बैंकले तीन वर्षलाई धान्ने अनिवार्य मौज्दात राख्ने व्यवस्थाका कारण मात्रै कायम राख्नुपरेको प्रवक्ता भट्टले जानकारी दिए । उनले भने, ‘हामीले नोटको कारोबारलाई भन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आइरहेका छौँ ।’

कुन दरको नोटको मौज्दात कति ?
एक हजार रुपैयाँ दरका नोटको मौज्दात घटेको छ । १२.४० प्रतिशतका दरले हजारको नोटको मौज्दात घटेको हो । ०७९ असार मसान्तसम्म एक खर्ब ३५ अर्ब ५० करोड रुपैयाँबराबरका हजारका नोट मौज्दात कायम राखेकोमा ०८० असारसम्म आइपुग्दा एक खर्ब १८ अर्ब ७० करोड पु¥याएको छ । बजारमा भने हजार दरका चार खर्ब ४६ अर्ब ८० करोड रुपैयाँबराबर नोट चलनचल्तीमा छन् । 

पाँच सय रुपैयाँ दरका नोटको मौज्दात ३३ प्रतिशतले बढेको छ । यस्ता नोट केन्द्रीय बैंकसँग ८२ अर्ब सात करोड ५० लाख रुपैयाँबराबर छ । ०७९ असारसम्ममा यो मौज्दात ६१ अर्ब ४५ करोड थियो । अहिलेसम्म चलनचल्तीमा भने एक खर्ब ३० अर्ब ६७ करोडबराबर नोट छन् । 

एक सय रुपैयाँ दरका नोटको मौज्दात ४३.४८ प्रतिशतले घटेको छ । एक सय दरका ११ अर्ब ९२ करोड ५० लाख नोट मौज्दात छन् । बजारमा भने यो दरका ३० अर्ब ३९ करोड ४६ लाख रुपैयाँबराबर नोट चलचल्तीमा छन् । 

राष्ट्र बैंकले ५, २० र ५० दरका नोटहरूको मौज्दात पनि घटाउँदै गइरहेको छ । ५० रुपैयाँका एक अर्ब ३५ करोडबराबर, २० रुपैयाँका ६७ करोड रुपैयाँबराबर र पाँच रुपैयाँका ४५ करोड ७५ लाखबराबरका नोट मौज्दात छन् । त्यस्तै, बजारमा ५० दरका १४ अर्ब ३८ करोड रुपैयाँबराबर, २० दरका सात अर्ब ५२ करोड र पाँच रुपैयाँका तीन अर्ब ६४ करोडबराबर नोट चलनचल्तीमा रहेको जनाएको छ । 

१० रुपैयाँ दरका नोटको मौज्दात भने बढाएको छ । यो दरका नोटको मौज्दात ३७.४ प्रतिशतले बढाउँदा एक अर्ब ३६ करोड २८ लाख रुपैयाँ छ । एक र दुई दरका नोटको मौज्दात बढाएको छैन । हालसम्म एक दरका नोट ५० हजार रुपैयाँबराबर र दुई दरका ६३ लाख रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

 

ad
ad