१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ४ बिहीबार १४:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १४:o४:oo

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ। 

अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेसनल सर्भिसेजले बिहीबार जनाएको छ। 

विगत केही समयदेखि बिएसएल इन्टरनेसनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै प्रबन्ध गर्दै आएको छ। बिएसएलले सरकारी र विश्वका विभिन्न देशमा रहेका भारतीय कूटनीतिक नियोगमा सेवा प्रवाह गर्दै आएको छ।

 उक्त कम्पनीले आज एक सूचना जारी गर्दै भारतीय भिसा सेवा अर्को सूचना नभएसम्म स्थगन गरिएको जनाउँदै वेलावेलामा कम्पनीको वेबसाइट हेर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ। 

आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको  ब्रिटिस कोलम्बियास्थित गुरुद्वाराबाहिर गोली हानी हत्या गरिएको थियो।

क्यानडाको संसदमा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेको विश्वसनीय प्रमाण रहेको जानकारी गराएका थिए। क्यानडाका प्रधानमन्त्री र विदेशमन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ भनेर प्रतिक्रिया दिएको छ। 

भारतको विदेश मन्त्रालयले बुधबार भारतीय नागरिक, क्यानडामा रहेका विद्यार्थी र भारत फर्कने योजनामा रहेकाहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ।

भारतविरोधी गतिविधि भएका  क्षेत्र र हुन सक्ने सम्भावित स्थानमा नजान भारतीय नागरिक र भारतीय विद्यार्थीलाई आग्रह गर्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। रासस