
शिक्षकका समस्या समाधान गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । बिहान ८ देखि ९ बजेसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षासचिव, नेपाल शिक्षक महासंघका अध्यक्ष, हिस्टुनका प्रतिनिधिलगायतबीच बैठक बसेको थियो । तर, शिक्षकका माग बुँदागत रूपमा सरकार पक्षले पूरा गर्ने सहमति नगरेपछि बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।
शिक्षकहरूले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघले जनाएको छ । बैठकमा शिक्षामन्त्री अशोककुमार राईले शिक्षकका माग सरकारले पूरा गर्ने बताए । ‘शिक्षकका साझा समस्या पूरा गर्न सरकार पनि कोसिसरत छ, तर शिक्षामा बजेटको कमी छ, शिक्षकलाई मोटिभेसन हुने गरी सरकारले काम गर्छ,’ उनले भने ।
वार्तामा सहमति नभएपछि शिक्षकहरू अहिले माइतीघरमा आन्दोलनमा सहभागी भएका छन् ।