१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Sunday, 11 May, 2025
स्तुति भटनागर
२o८o असोज ४ बिहीबार o९:५२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्यानडा र भारतबीच कूटनीतिक तनावको नालीबेली

क्यानडाले आफ्ना शिख नेताको हत्या मामिलामा भारतको संलग्नता रहेको आरोप लगाएपछि आगामी दिनमा सार्वजनिक एवं कूटनीतिक दुष्परिणाम निम्तिन सक्छ

Read Time : > 2 मिनेट
स्तुति भटनागर
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o९:५२:oo

सोमबार क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्र्युडोले एक चर्चित शिख नेता एवं क्यानेडेली नागरिक हरदीपसिंह निज्जरको यही जुनमा भएको हत्याका लागि भारत जिम्मेवार छ भन्ने स्तब्धकारी आरोप लगाएपछि दुई मुलुकबीच कूटनीतिक चिसोपना बढेको छ । ट्र्युडोले क्यानेडेली सरकारले भारतका विदेश गुप्तचर निकायका वरिष्ठ अधिकारीलाई निष्कासन गरेको जानकारी गराए । भारतले पनि कडा शब्दमा आरोपको खण्डन गर्दै तनावलाई थप पेचिलो बनाउने गरी क्यानडाका उच्चस्तरका कूटनीतिज्ञलाई निकाल्यो ।

खालिस्तान आन्दोलन :  भारतीय राज्यको पन्जाबलाई स्वतन्त्र शिख राज्य खालिस्तान (खाल्सा भूमि) बनाउने मागमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै निज्जरलाई भारत सरकारले सन् २०२० मा ‘आतंकवादी’ करार गरेको थियो । वास्तवमा खालिस्तान आन्दोलनको इतिहास जटिल भए पनि यो मुलतः पृथक् शिख राज्यका लागि गरिएको आन्दोलन हो । स्वतन्त्र भारतमा शिख समुदायले व्यहोरेको आर्थिक, सामाजिक एवं राजनीतिक असन्तुष्टिका कारण सन् १९८० को दशकमा खालिस्तान आन्दोलन चुलिएको थियो ।

 सन् १९४७ मा भारत र पाकिस्तान विभाजनमा पन्जाबको विभाजन हुँदा शिख समुदायमा भय र असन्तुष्टि देखिएको थियो । यो समुदायले आफूलाई मुसलमान बाहुल्य पाकिस्तान र हिन्दू बाहुल्य भारतमा विभाजित गराएको ठानेका थिए । सन् १९६६ मा भारतमा पन्जाब फेरि एकपटक भाषिक आधारमा विभाजित भयो, जहाँ हिन्दीभाषी राज्य हरियाणा बन्यो । 
कृषि उत्पादनमा सुधार ल्याउन सन् १९६० को दशकको अन्त्यतिर भएको हरित क्रान्तिले पनि पन्जाबका शिख प्रभावित भए । उसो त हरित क्रान्तिले पन्जाबलाई आर्थिक रूपमा लाभ पुर्‍याए पनि सम्पत्तिको असमान वितरण, गैरकृषि विकासको अभाव र कृषिनीतिमा केन्द्र सरकारको एकाधिकारका कारण शिख असन्तुष्ट थिए ।

पन्जाबबाट बग्ने सतलज नदीलाई छिमेकी हरियाणा र राजस्थानमा पथान्तरणले पनि शिखमाझ असन्तुष्टि निम्त्यायो । यी सबै असन्तुष्टिलाई सन् १९७० को दशकको अन्त्यताका शिख उपदेशक जर्नेल सिंह भिन्ड्रनवालेले उठाएका थिए र उनले सरकारले शिख समुदायप्रति विभेद गरेको र नियतवश शिख पहिचानको अवमूल्यन गरेको आरोप लगाएका थिए । लगत्तै भिन्ड्रनवाले पन्जाबका एक चर्चित राजनीतिक नेता बने र अमृतसरमा रहेको शिख समुदायको पवित्रतम स्वर्ण मन्दिरलाई उनले हतियार सुसज्जित किल्ला बनाउँदै समानान्तर सत्ता चलाए । भिन्ड्रनवाले र लडाकु कार्यकर्तालाई स्वर्ण मन्दिरबाट हटाउन सन् १९८४ मा भारतीय सेनाले अप्रेसन ब्लुस्टार कारबाही चलायो । यसले पवित्र धार्मिक स्थलमा क्षति पुगेपछि मुलुकभित्र र बाहिरका शिख समुदाय थप क्रुद्ध बने ।   

सन् १९८४ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै शिख अंगरक्षकले हत्या गरेपछि राजधानी दिल्लीमा चलेको हिंसामा सरकारी आँकडाअनुसार दुई हजार सात सयभन्दा बढी शिख मारिए । पन्जाबमा पृथकतावादी आन्दोलन दमन गर्न हिंसात्मक एवं अत्याचारी पहरेदारी अपनाइएको थियो । सन् ०२०–२१ मा नयाँदिल्लीमा भएको किसान आन्दोलनमा पन्जाब शिख समुदायको बाहुल्य थियो र यसले फेरि एक खालिस्तान मुद्दालाई सतहमा ल्याइदियो । पन्जाबमा रहेका खालिस्तान समर्थक आन्दोलन ब्युँताउन पैरवी गर्न थालेका थिए । किसान आन्दोलनलाई अवैध देखाउन सरकारी अधिकारीले समेत खालिस्तानी आन्दोलनको सम्भावना औँल्याएका थिए । भारत सरकारले वर्षौंदेखि निर्वासनमा रहेका खालिस्तानी समर्थकलाई भारतमा अशान्ति फैलाउन पाकिस्तानले शरण दिने गरेको आरोप लगाउँदै आएको छ । 

कहाँनेर जोडिन्छ क्यानडा ? :  खालिस्तान आन्दोलन सुरुवाती समयदेखि नै अन्तर्राष्ट्रिय प्रकृतिको थियो । अमृतसरमा भएको भारतीय सेनाको कारबाही र सन् १९८४ को शिखविरोधी हिंसाले शिखमाझ नमेटिने छाप छोडेको थियो । यसले भारतको सरहदसमेत पार गरेको थियो । खालिस्तान आन्दोलनका समर्थक विशेषतः क्यानडा, बेलायत र अस्ट्रेलियामा देखिए । क्यानडा पन्जाबपछि सबैभन्दा बढी शिख जनसंख्या भएको क्षेत्र हो । र, शिख समुदायले क्यानडामा उल्लेख्य राजनीतिक प्रतिनिधित्वसमेत पाएको छ । 

सन् १९८५ मा टोरोन्टोदेखि लन्डनका लागि उडेको एयर इन्डियाको जहाजमा तीन सय २९ जनाको ज्यान लिने गरी भएको बम हमलाका लागि क्यानडाका शिख संगठन जिम्मेवार रहेको आरोप लगाउने गरिन्छ । भारत सरकारले ओटावालाई बारम्बार ‘खालिस्तानी आतंकवादी र उग्रवादी’लाई खुला छुट दिएको आरोप लगाउँदै आएको छ । सन् २०१९ मा क्यानडामा ट्र्युडोले क्यानडाको मौजुदा आतंककारी खतरासम्बन्धी सार्वजनिक प्रतिवेदनबाट खालिस्तान र ‘शिख उग्रवाद’लाई हटाएको भन्दै भारत सरकार क्रुद्ध बनेको थियो ।

हालैका वर्षमा दिल्लीले क्यानडा, बेलायत, अस्ट्रेलिया र अन्य मुलुकमा खालिस्तानका लागि हुने स्वतन्त्र जनमतसंग्रहप्रति आपत्ति जनाउँदै आएको छ । यिनै कारणले पनि भारत–क्यानडा सम्बन्धमा चिसोपना आइरहेको छ । हालैका दिनमा ओटावाले पृथकतावादी समूहलाई पोसेको भन्दै नयाँदिल्लीले व्यापार सम्झौतासम्बन्धी वार्ता स्थगित गरेको थियो । जी–२० बैठकमा भारत र क्यानडाबीच देखिएको चिसोपना पनि यसैको कडी थियो । 

अमेरिका, अस्ट्रेलिया र इन्डो–प्यासेफिक क्षेत्रका अन्य मुलुकसँगको निकट सम्बन्धका कारण भारत मानवअधिकार उल्लंघनसम्बन्धी आलोचना छल्न सफल भएको थियो । अवस्था यही रहन्छ वा रहन्न, भन्न सकिँदैन । अस्ट्रेलियाले निज्जरको हत्यामा भारतको संलग्नताको आरोपलाई लिएर ‘गम्भीर रूपमा चिन्तित’ भएको जनाएको छ । बेलायत सरकारका प्रवक्ताले आरोपलाई ‘गम्भीर’को संज्ञा दिएका छन्, तथापि बेलायत र भारतबीचको व्यापार सम्झौतामा कुनै असर नपर्ने जनाएका छन् । यो आरोपका कारण आगामी महिनामा सार्वजनिक एवं कूटनीतिक दुष्परिणाम निम्तिन सक्ने सम्भावना भने देखिन्छन् । 

(भटनागर अस्ट्रेलियन नेसनल विश्वविद्यालयकी एसियाली सुरक्षा मामिलाकी शोधकर्ता हुन्) द कन्भर्सेसनबाट