१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 09 May, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८o असोज १ सोमबार o८:४६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

असोजमा आठ बैंकले ब्याजदर बढाए, आठले घटाए

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न दिँदा पनि बैंकहरूले बढाए ब्याजदर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o८:४६:oo

असोजमा ब्याजदर घट्ने अपेक्षासहित अर्थ मन्त्रालयले वाणिज्य बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषको मौज्दात रकमको ६० प्रतिशत निक्षेप गणना गर्न दिने निर्णय गरेको थियो । तर, अधिकांश बैंकहरूले अपेक्षाविपरीत ब्याजदर बढाउने र स्थिर राख्ने काम गरेका छन् । स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिएसँगै बैंकहरूमा ६३ अर्बबराबरको निक्षेप थपिएको छ । स्थानीय तहको रकम दिँदा ब्याजदर बढाउन नपाइने सर्त अर्थ मन्त्रालयले राखेको बताइएको थियो ।

खासगरी स्थानीयको पैसा अधिक निक्षेप राख्ने एनआइसी एसिया, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकहरूले ब्याजदर घटाउने अपेक्षा अर्थ मन्त्रालयको थियो । राष्ट्र बैंकका अनुसार स्थानीय तहको पैसा सबैभन्दा बढी निक्षेप एनआइसी एसिया बैंकमा छ । एनआइसीसँग करिब २२ अर्बको निक्षेप स्थानीय तहको सञ्चित कोषबाट उपलब्ध हुन्छ । तर, एनआइसी एसियाले सरकारको अपेक्षा ब्रेक गर्दै ब्याजदर बढाएको छ । भदौमा १०.८९ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर असोजमा ११.०५ प्रतिशत पुर्‍याइएको छ । 

असोज महिनाका लागि आठ वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । सर्वाधिक ब्याजदर बढाउनेमा हिमालयन, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यी बैंकहरूको ब्याजदर वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको छ । साथै, मेगा, प्राइम, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, एनआइसी एसिया र नेपाल एसबिआईले व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर बढाएका हुन् । 

भदौमा ब्याजदर स्थिर राख्ने तथा घटाउने वाणिज्य बैंकहरूले पनि असोजमा बढाएको देखिन्छ । व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा बढी ब्याजदर प्राइम कमर्सियल बैंकले दिएको छ । प्राइमले ११.३६ प्रतिशतसम्म ब्याज दिने भएको हो । सिद्धार्थ बैंक, प्रभु, एनएमबि बैैंक र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर देखिन्छ । 

साउनबाट खुला प्रतिस्पर्धामार्फत ब्याजदर बढाउने निर्णय भइसकेकाले बैंकहरूमा प्रतिस्पर्धा देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । उनले भने, ‘अहिले पछिल्लो तीन महिनादेखि बैंकहरू आफैँले ब्याजदर निर्धारण गर्दै आएका छन् । ब्याजदर बढाउनेमध्ये चारवटाबाहेकका बैंकहरूले एडजस्ट गर्न बढाएको देखिन्छ ।’ तर, समग्रमा बैंकहरूको झुकाव भने ब्याजदर घटाउनेतर्फ केन्द्रित भएको उनको जिकिर छ । उनले भने, ‘आर्थिक वर्षको सुरुको दिनलाई हेरेर तुलना गर्ने हो भने ब्याजदर घटेकै देखिन्छ । सबै बैंकहरूले आफ्नो बिजनेसअनुसार ब्याजदर तलमाथि गर्न पाउँछन् ।’ 

 पालिकाको पैसाको असर देखिन समय लाग्ने  
स्थानीय तहको पैसा निक्षेप गणना गर्दा ब्याजदरमा पर्ने असर देखिन समय लाग्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । उनले भने, ‘यसले बैंकहरूको आधारदरमा कति असर पार्छ भनेर हेर्नुपर्छ । आधारदर घटेपछि ब्याजदरमा समेत कमी आउनेछ ।’

असोजमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.९५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । भदौमा वाणिज्य बैंकहरूले ४.९७ प्रतिशतदेखि ७.९६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए । 

 यी बैंकले घटाए ब्याजदर
असोजका लागि आठवटा वाणिज्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, राष्ट्रिय वाणिज्य, कुमारी, सिटिजन्स, कृषि विकास बैंक, सानिमा र नेपाल बैंकले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याज नेपाल बैंकको छ । नेपाल बैंकले व्यक्तिगत मुद्दतीमा ९.२९ प्रतिशत मात्रै ब्याजदर दिने भएको हो । भदौमा नेपाल बैंकको ब्याजदर १०.९ प्रतिशत थियो ।