
परिवारका नाममा घरजग्गा र बैंकमा राखेर सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध मुद्दाको तयारी
गरिब तथा विपन्न वर्गलाई मिटरब्याजमा ऋण प्रवाह गरी अकुत धन आर्जन गर्ने र त्यसलाई कानुनी वैधताका लागि सम्पत्ति शुद्धीकरण गर्ने व्यक्तिविरुद्ध मुद्दाको तयारी अघि बढेको छ । गैरकानुनी मिटरब्याज धन्दाबाट आर्जित र त्यसबाट बढे–बढाएको समेत करिब सवा २२ करोड रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको ठहरसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सकेर अभियोजनको निर्णयका लागि पठाएको फाइल अहिले विशेष सरकारी वकिल कार्यालयमा छ ।
कार्यालयबाट प्राप्त अनुसन्धान प्रतिवेदनअनुसार आठजनालाई प्रतिवादी बनाउनुपर्ने दाबी विभागले गरेको छ । विभागले लामो अनुसन्धानपछि मिटरब्याज धन्दा सम्पत्ति शुद्धीकरणसँग जोडिएको तथ्यसहित अनुसन्धान प्रतिवेदन अभियोजनको निर्णयका लागि कार्यालयमा पेस गरेको हो । यो मिटरब्याज जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी सबैभन्दा ठूलो मुद्दा हो । यसअघि गत वर्ष सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
मिटरब्याज जोडिएको यो सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रतिवेदनमा विभागले विभिन्न आठजनालाई प्रतिवादी उल्लेख गरेको छ । प्रमुख प्रतिवादी सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ४ का सञ्जयकुमार रौनियार छन् । उनकी पत्नी सारिकादेवी साह, पुत्रद्वय समिरवर्धन र सौम्यवर्धन, भाइ उमाशंकरप्रसाद साह, उमाशंकरकी पत्नी सुनिता गुप्ता र छिमेकी रामबाबु महतो कोइरी र अशोककुमार यादव छन् । उनीहरू सबैविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा विचाराधीन छ । करिब तीन वर्षअघिको यो मुद्दाको बिगो नै ९७ करोड रुपैयाँ छ । ठगीको यहीसम्बद्ध कसुरका आधारमा विभागले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।
कमजोर आर्थिक अवस्था भएका र समस्यामा परेका मानिसलाई कानुनविपरीत चर्को ब्याजदरमा रकम लगानी गरी ठगी गरेर आर्जित सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानबाट देखिएको छ । रौनियारले सर्लाही, धनुषा र महोत्तरीलगायत विभिन्न जिल्लाका मानिसलाई ३६ प्रतिशतसम्म ब्याजमा ऋण दिएको देखिन्छ । यसरी दिएको ऋणको दोब्बर÷तेब्बरसम्मको लेनदेन कागज बनाएको भेटिएको छ । एउटै कारोबारका धेरै कागजात तयार गरेर पीडितबाट नगद र घरजग्गासमेत असुल गर्ने गरेको अनुसन्धानबाट देखिएको छ । यस्तो चरम ठगीबाट आर्जित सम्पत्ति रौनियारले घरजग्गा कारोबारमा लगाएर थप बढाएका छन् । कसुरबाट आर्जित सम्पत्ति लगानीमार्फत थप वृद्धि गरेर सञ्जयले पत्नी सारिका देवी, भाइ उमाशंकर र छोराहरू समिर र सौम्यवर्धनसमेतका नाममा बैंक मौज्दात र घरजग्गा जोरजम्मा गरेको देखिन्छ ।
यसमा मुख्य आरोपी सञ्जयकुमार छन् । उनले नै आफ्नो सम्पत्ति अन्य प्रतिवादीका नाममा राखेको देखिन्छ । कुनै पनि वैधानिक आम्दानी नभएका उनीहरूको नाममा करोडौँ बैंक मौज्दात र सयौँ बिघा जग्गाजमिन छ । करोडौँको तमसुक कागज छ । वैधानिक व्यापार, व्यवसाय वा रोजगारीको आम्दानी नदेखिएको र सम्पत्तिको तुलनामा कुनै पनि प्रकारको कर, राजस्व तिरे बुझाएको देखिँदैन ।
सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्तिको स्वामित्व र त्यसमाथिको अधिकार हस्तान्तरण गर्ने, लुकाउने, छल्ने, बदल्नेजस्ता निषेधित कार्य गरेको देखिएको छ । शुद्धीकरण गरेको सम्पत्ति, घर, जग्गा छोरा, पत्नी तथा आफन्तका नाममा अंशमार्फत हक हस्तान्तरण गरेको भेटिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सञ्जयले पत्नी र छोराहरूसमेतलाई केही वर्षअघि अंशबन्डा गरेर कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, सम्पत्तिमाथि परिवारका सदस्यको व्यक्तिगत हक गराउने र कसुरजन्य सम्पत्ति सुरक्षित गरी राख्ने कार्य गरेका थिए ।
सञ्जयले आफू र परिवारका नाममा पीडितबाट करिब सात करोड ६४ लाख रुपैयाँमा २७२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । त्यसमध्ये ६ करोड ८५ लाख १३ हजार रुपैयाँमा जग्गा बिक्री गरी हाल उनी र परिवारका नाममा दुई करोड ९२ लाख मूल्यबराबरका ९५ कित्ता जग्गा छ । कसुरबाट प्राप्त तीन करोड दुई लाख ७६ हजार रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा मौज्दात देखिएको छ ।
पत्नी र छोराहरूका नाममा रहेको घरजग्गा, अन्य कारोबार र पीडितहरूमा गरेको ऋण लगानीको रकम २० करोड २० लाख ८५ हजारको स्रोत देखिँदैन । कसुरबाट आर्जित सम्पत्तिबाट बढे–बढाएको दुई करोड १३ लाख रुपैयाँ गरी २२ करोड ३४ लाख रुपैयाँ सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, रूपान्तरण एवं हस्तान्तरणसमेतका कार्य गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ ।
सञ्जय रौनियारको विभिन्न पाँच बैंकमा एक करोड १५ लाख ८८ हजार मौज्दात देखिएको छ । त्यस्तै, पत्नी सारिकादेवीको नाममा तीनवटा बैंकमा २१ लाख ४० हजार बैंक मौज्दात तथा उनकै नाममा सर्लाही र महोत्तरीमा ४५ कित्ता जग्गा छ । पुत्रद्वय समिर र सौम्यका नाममा तीनवटा बैंकमा ६१ लाख २८ हजार मौज्दात रहेको छ । समिरका नाममा सर्लाही र महोत्तरीमा २६ कित्ता जग्गा र सौम्यका नाममा चार बैंकमा एक करोड चार लाख २९ हजार मौज्दात र सर्लाहीमा २४ कित्ता जग्गा छ ।
यसैगरी, भाइ उमाशंकरको नाममा तीन बैंकमा ३८ हजार मौज्दात, सर्लाही र महोत्तरीमा २३ कित्ता जग्गा र उनकी पत्नी सुनिताका नाममा केही बैंक मौज्दात र तीन कित्ता जग्गा छ ।मुख्य आरोपी सञ्जयको मिलेमतोमा रामबाबु कोइरी महतोले जग्गा र बैंक मौज्दातसमेत ३१ लाख ४७ हजार रुपैयाँबराबरको कसुरबाट आर्जित सम्पत्ति धारण गरेको भेटिएको छ । सञ्जयको सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यमा अशोककुमार यादव पनि संलग्न देखिएका छन् ।
सञ्जयको सहयोगी भई लक्ष्मण साह रौनियारले अस्वाभाविक रूपमा जग्गा खरिद र बिक्री गरेको भेटिएको छ । गैरकानुनी स्रोतको सम्पत्ति लुकाइछिपाइ गर्न सञ्जयले लक्ष्मणका नाममा ३६ कित्ता जग्गा हस्तान्तरण गरेका छन् । त्यसको मूल्य एक करोड ६६ लाख ४४ हजार पर्न आउँछ । सञ्जयको भारतमा समेत व्यवसाय र बैंक कारोबार देखिएकाले कसुरबाट आर्जित सम्पत्ति स्थानान्तरणसमेत गरेको हुन सक्ने दाबी गरिएको छ ।