१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मी  धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले शनिबार बागमती प्रदेश सभा सचिवालयअगाडि धर्ना दिएका छन्।

हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले सचिवालयअगाडि धर्ना दिएका हुन्। आज शनिबार प्रदेश सभाको बैठक बस्दै छ। प्रदेश सभा भवनअगाडि भेला भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित प्रदर्शन गरेका छन्। 

उनीहरूले शुक्रबारदेखि अस्पतालको आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गरेर कुटपिटमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका छन्।

बुधबार सन्चो अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि आठ/ दशजनाको समूहले चिकित्सकमाथि कुटपिट गरेका थिए। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक संघले दुईजनाविरुद्ध किटानी जाहेरी दिएको छ।

पक्राउ पर्नेमा गत साउन २५ गते डेंगु संक्रमणका कारण ज्यान गुमाएका राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन्।

हेटौँडा–१२ का प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए।

घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरू धर्नामा बसेका छन्। हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ हरिबहादुर खड्काले प्रदेश सभाका माननीयहरूको ध्यानाकर्षण गर्न सचिवालयअगाडि धर्नामा बसेको बताए। 

घटनामा संलग्न चारजनालाई पक्राउ गरिए पनि अन्यलाई प्रहरीले पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै दबाब दिन आफूहरू धर्नामा बस्नुपरेको उनको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले प्रहरीले आफ्नो काम थालिसकेको बताउँदै घटनामा संलग्न पुष्टि भएका सबैलाई कारबाहीको प्रक्रियामा ल्याउने जानकारी दिए।