उत्तर कोरियाली नेता किम जोङ उनले मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरे । वार्ताका क्रममा उत्तर कोरियाली नेताले रुसी राष्ट्रपति पुटिनलाई ‘पूर्ण र निःसर्त समर्थन’ गर्ने वाचा गरे । पश्चिमबाट टाढिएका यी दुई नेताले युक्रेनमा जारी रुसी युद्धका लागि गोलाबारुद आपूर्ति गर्ने सम्झौता गर्न सक्ने आकलन गरिए पनि वार्ताको विवरण सार्वजनिक गरिएको छैन । किमको भ्रमणले दुई देशबीचको गहिरो सहयोगलाई जोड दिएको छ ।
अमेरिकी अधिकारीले युक्रेन युद्धका लागि रुसी शस्त्र भण्डार रित्तिँदै गएकाले रुसले उत्तर कोरियाबाट हतियार र गोलाबारुद किन्न खोजिरहेको आरोप लगाएका छन् । बदलामा उत्तर कोरियाले सम्भवतः खाद्यान्न तथा ऊर्जा ढुवानी र अत्याधुनिक हतियार निर्माणसम्बन्धी प्रविधिको स्थानान्तरण चाहेको विज्ञहरूले आकलन गरेका छन् ।
सन् २०२० को जनवरीमा कोभिड महामारीको सन्दर्भमा उत्तर कोरियाले आफ्नो सिमाना बन्द गरेपछि पुटिनसँग भेट्नका लागि किमले पहिलो विदेश भ्रमण गरे । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किमको आणविक कूटनीति समाप्त भएको दुई महिनापछि किम र पुटिनबीच पछिल्लोपटक अप्रिल २०१९ मा भेट भएको थियो ।
मस्कोसँगको सम्बन्ध विस्तारलाई किमले आफ्नो वर्षौंदेखि भोगिरहेको एक्लोपनलाई पार लगाउने एक विकल्पको रूपमा हेरेका छन् । उत्तर कोरियाली नेताहरूले लामो समयदेखि विश्व नेताहरूसँगको आमने–सामने भेटघाटलाई देशभित्र अन्तर्राष्ट्रिय महत्वको परिघटनाका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।
उत्तर कोरियाबाट के चाहन्छ रुस ?
गत वर्षदेखि अमेरिकी अधिकारीले उत्तर कोरियाले रुसलाई तोपका गोला, रकेट र अन्य हतियार उपलब्ध गराउँदै आएको शंका गरेका छन् । उत्तर कोरियाले रुसलाई दिएका प्रायः हतियार सोभियतकालीन हुनेछन्, जुन कोरियाली युद्धकालमा सोभियत संघले उत्तर कोरियालाई दिएको थियो । अमेरिकी अधिकारीका अनुसार रुसी रक्षामन्त्री सर्गेई सोइगुले जुलाईमा प्योङयाङको भ्रमण गरेका थिए । त्यस भ्रमणमा सोइगुले किमलाई गोलाबारुद सहयोगको आग्रह गरेको बताइन्छ ।
‘रुसलाई युद्ध आपूर्तिको तत्काल आवश्यकता छ । नभए, एक युद्धरत शक्तिशाली देशका रक्षामन्त्री उत्तर कोरियाजस्तो सानो देशलाई यति महत्व दिएर भ्रमण गर्न नपर्ने हो,’ कोरियाली राष्ट्रिय एकीकरणका लागि सियोलको कोरिया इन्स्टिच्युटका पूर्वप्रमुख किम ताइउले भने । ताइउका अनुसार सोइगु सन् १९९१ मा सोभियत संघको विघटनपछि उत्तर कोरियाको भ्रमण गर्ने पहिलो रुसी रक्षामन्त्री हुन् । रक्षा तथा सैन्य विश्लेषक पावेल फेल्गेनहाउरले पनि उत्तर कोरिया रुसलाई हतियार उपलब्ध गराउन सक्षम रहेको बताए । ‘उत्तर कोरियाको भण्डारमा अझै पनि शीतयुद्धको समयका हतियार छन् । अधिकांश हतियार सोभियत क्यालिब्रेस नक्कल छन्, जसले गर्दा रुसलाई युद्धमोर्चामा उसका सेनाको आवश्यकता पूरा गर्न सहयोग गर्न सक्छ,’ फेल्गेनहाउरले भने ।
उत्तर कोरियाबाट हतियार खरिद गर्नु संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन हुनेछ । प्रस्तावले उत्तर कोरियासँग गरिने सबै कालका हतियार लेनदेनमाथि प्रतिबन्ध लगाएको छ । प्रस्तावलाई रुसले समर्थन गरेको थियो । तर, युक्रेन युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्ध र निर्यात नियन्त्रणको सामना गरिरहेका वेला रुसले उत्तर कोरिया र इरानजस्ता अरू प्रतिबन्धित देशबाट हतियार भित्र्याउने प्रयास गरिरहेको छ । उत्तर कोरियासँग हतियारको विशाल भण्डार छ । तर, उसले आफूसँग भएको हतियार ठूलो परिमाणमा रुस पठाउन सक्ने क्षमतामा भने आशंका रहेको सोलको ‘आसन इन्स्टिच्युट फर पोलिसी स्टडिज’का विश्लेषक चा डु ह्योगनले भने । विशेषतः रुस र उत्तर कोरियाबीचको साँघुरो भूमिको ‘लिंक(सेतु)’रहेकाले त्यहाँबाट सीमित परिणामको हतियारमा मात्र रेल यातायात मात्र पठाउन सकिने ह्योगनले बताए ।
बदलामा के चाहन्छन् किम ?
विज्ञहरूका अनुसार किमको प्राथमिकता सहायता ढुवानी, प्रतिष्ठा र सैन्य प्रविधि हुनेछ । ‘यो दुवैका लागि ‘विन–विन’ सम्झौता हुनेछ, किनकि हतियार रित्तिँदै गएसँगै पुटिन हतियार खोजिरहेका छन् भने किमले दक्षिण कोरिया, अमेरिका र जापान गरी त्रिपक्षीय सहयोगको दबाबको सामना गरिरहेका छन्,’ दक्षिण कोरियाली गुप्तचर निकायद्वार सञ्चालित थिंक ट्यांक इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्रेटेजीका पूर्वनिर्देशक नाम सुङ–वुक भन्छन्, ‘उनीहरूको आवश्यकता अहिले एक–अर्कासँगको सम्बन्धबाट पूर्ति हुन सक्छ ।’
उत्तर कोरियाबाट हतियार खरिद गर्नु संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन हुनेछ । प्रस्तावलाई रुसले समर्थन गरेको थियो । युक्रेन युद्धपछि आफैँ अन्तर्राष्ट्रिय प्रतिबन्ध र निर्यात नियन्त्रणको सामना गरिरहेको रुसले उत्तर कोरिया र इरानजस्ता अरू प्रतिबन्धित देशबाट हतियार भित्र्रयाउने प्रयास गरिरहेको छ ।
महामारीको समयमा सिमाना बन्द हुँदा उत्तर कोरियालाई गम्भीर आर्थिक कठिनाइले घेर्यो । किमले रुसबाट उनको देशलाई अत्यन्त आवश्यक परिरहेको खाद्यान्न र ऊर्जाको आपूर्ति खोज्ने सम्भावना छ । योन्सेई युनिभर्सिटी इन्स्टिच्युट फर उत्तर कोरियाली स्टडिजका रिसर्च फेलो बोङ यंगसिकले प्योङयाङ र मस्कोबीच खाद्यान्न सहायता सम्झौता हुन सक्ने बताए । ‘यी देशहरूलाई हतियार आदानप्रदान तथा व्यापारलाई अन्तिम रूप दिनका लागि शिखर बैठक आवश्यक छ भन्ने तथ्यको अर्थ त्यहाँ समझदारीमा आउनुपर्ने विषय धेरै छन् र सरकारको उच्च तहमा सहमत हुनुपर्छ,’ यंगसिकले भने ।
‘सम्झौताका लागि दुवै पक्ष गम्भीर छ । सबैभन्दा सम्भावित परिदृश्य रुसले उत्तर कोरियालाई खाद्यान्न सहायता प्रदान गर्नेछ भने उत्तर कोरियाले रुसलाई हतियार प्रदान गर्नेछ,’ यंगसिकले भने । किमले सम्भवतः मस्कोसँगको सम्बन्ध विस्तारलाई देशले आफ्नो वर्षौंदेखि भोगिरहेको एक्लोपनलाई पार लगाउने एक विकल्पको रूपमा हेर्नेछन् । उत्तर कोरियाली नेताहरूले लामो समयदेखि विश्व नेताहरूसँगको आमने–सामने भेटघाटलाई देशभित्र अन्तर्राष्ट्रिय महत्वको परिघटनाका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।
किमले शक्तिशाली लामो दूरीको क्षेप्यास्त्र, हाइपरसोनिक ब्यालिस्टिक हतियार, आणविक शक्तिमा चल्ने पनडुब्बी र जासुसी उपग्रहजस्ता उच्च प्रविधियुक्त हतियार प्रणाली निर्माण गर्ने आफ्नो योजनालाई समर्थन गर्न रुसी प्रविधि पनि खोजिरहेको सिउलस्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनले भने । तथापि रुस उसको संकटग्रस्त छिमेकी मुलुक उत्तर कोरियालाई परमाणु हतियार र आइसिबिएमसम्बन्धी उन्नत प्रविधि प्रदान गर्न इच्छुक छ वा छैन भन्ने स्पष्ट नभएको चाले बताए । चीनजस्ता प्रमुख साझेदारलाई समेत रुसले उसका सबैभन्दा महत्वपूर्ण हतियार प्रविधि साझा नगर्ने गरेको इतिहास रहेको चाले बताए ।
दुई देश कति नजिक हुन सक्छन् ?
यो पनि अस्पष्ट छ कि किम र पुटिनको सैन्य सहयोग कहिलेसम्म चलिरहन्छ । तर, दुई देशबीचको न्यानो सम्बन्धको संकेतले समेत अमेरिका र दक्षिण कोरियाजस्ता प्रतिद्वन्द्वीलाई चिन्तित बनाउनेछ । रुसले युक्रेनी प्रत्याक्रमणलार्ई पूर्ण रूपमा दबाउँदै युद्धलाई लम्ब्याउन खोज्नेछ । उत्तर कोरियाले दक्षिण कोरिया र जापानसँगको सैन्य गठबन्धनलाई सुदृढ पार्ने अमेरिकी कदमको विरोध गर्न मिसाइल परीक्षणको गति विस्तार गरिरहेको छ ।
रुसी रक्षामन्त्री सोइगुले रुस र उत्तर कोरियाले द्विपक्षीय सैन्य अभ्यासको सम्भावनाबारे विचार गरिरहेको बताएका थिए । सोइगुले चीनलाई समावेश गर्ने त्रिपक्षीय प्रशिक्षण अभ्यासको प्रस्ताव गरेको देखिएको दक्षिण कोरियाको जासुसी एजेन्सीले सांसदहरूलाई जानकारी गराएको थियो । यदि त्यस्तो कुनै सैन्य अभ्यास भयो भने त्यो सन् १९५०–५३ बीच चलेको कोरियाली युद्धको अन्त्यपछि कुनै विदेशी देशसँग उत्तरको पहिलो संयुक्त सैन्य अभ्यास हुनेछ । अन्यथा हालसम्म ऊ आफ्नो आधिकारिक ‘आत्मनिर्भरता(जुक्षे)’ दर्शनअनुसार विदेशी सेनासँग तालिम लिन त्यति इच्छुक रहँदैन ।
‘तत्काल मस्को र प्योङयाङबीचको सम्बन्ध मजबुत भएको देखिन्छ । दुवै पक्षले एक–अर्कालाई प्रदान गर्ने विषय छन् । दुवै पक्ष पश्चिमी दबाब र प्रतिबन्धमा छन्, तसर्थ उनीहरू प्राकृतिक समर्थक देखिन्छन्,’ रक्षा तथा सैन्य विश्लेषक फेलगेनहउरले भने । संस्थानका पूर्वनिर्देशक किम ताइउले दक्षिण कोरिया–अमेरिका–जापान सुरक्षा सहयोग विस्तारले किम जोङ उनलाई त्यो वर्जित तोड्न र रुस र चीनसँग पहिलोपटक अभ्यास गर्न उत्प्रेरित गर्न सक्ने बताए । तर, हाल कोरिया विश्वविद्यालयमा प्राध्यापक रहेका नामले उत्तर कोरियाले यो प्रस्ताव स्वीकार नगर्ने बताए, किनकि यसले उत्तर कोरियालाई चीन र रसियामाथि अझ बढी निर्भर गराउन सक्छ ।
सोलको इवा वुमन्स युनिभर्सिटीका प्राध्यापक पार्क वन गोनले किम कूटनीतिले अमेरिकाप्रति अवज्ञा प्रदर्शन गर्नुबाहेक के हुन सक्छ भनेर भविष्यवाणी गर्न धेरै हतारो हुने बताए । ‘जुनसुकै अवस्थामा उत्तर कोरिया र रुसले उनीहरूसँगै काम गरिरहेका छन् भनेर देखाउन आवश्यक छ । उनीहरूले यो सहयोग अगाडि बढाइरहेका छन्,’ पार्कले भने, ‘त्यहाँ प्रस्ट रूपमा सहयोगका व्यावहारिक क्षेत्र छन् र उनीहरूले अमेरिकालाई देखाउन चाहने केही प्रतीकात्मक पक्ष पनि छन् ।’
–अलजजिराबाट