मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ४ आइतबार १०:०२:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अलजजिरा अर्थात् सानो मुलुकको ठूलो शक्ति 

मिडिया बहस

Read Time : > 8 मिनेट
२०७७ असोज ४ आइतबार १०:०२:००

सन् २०१७ देखि कतार र अन्य खाडी मुलुक साउदी अरेबिया, बहराइन, युएई र इजिप्टलगायत छिमेकी मुलुकबीच देखिएको विवादको केन्द्रमा अलजजिरा छ 

कतारी शाही परिवारले सन् १९९६ मा स्थापना गरेको समाचार संस्था अलजजिरा अहिले विश्वको प्रमुख प्रसारण संस्थामध्ये एकमा गनिन्छ । सुरुका पाँच वर्षमा यसको प्रभाव कतारभित्र सीमित थियो । सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी हमला र त्यसपछि अमेरिकाको नेतृत्वमा सुरु भएको अफगानिस्तना र इराकमाथिको आक्रमणको रिपोर्टिङका क्रममा यसको लोकप्रियता देशको सीमाबाहिर फैलिन थाल्यो । अल–जजिराले अफगानिस्तान र इराकका युद्धस्थलबाटै रिपोर्टिङ गर्ने गथ्र्यो । सेप्टेम्बर ११ को आतंकवादी हमलाको मुख्य दोषी भनेर अमेरिकाले खोजिरहेको विन लादेनले आफ्ना सन्देश अलजजिरामार्फत प्रसारण गर्थे । यसले लादेनका सन्देश प्रसारण गर्न विश्वभरका समाचार च्यानल अलजजिरामाथि निर्भर रहन लागे । सुरुमा अलजजिरा अरबी भाषामा मात्र प्रसारण हुने गथ्र्यो । विश्वका अन्य भागबाट पनि माग बढ्न थालेपछि सन् २००६ बाट उसको अलग अंग्रेजी च्यानल पनि सुरु भयो । अलजजिराको मातृसंस्था अलजजिरा मिडिया नेटवर्कअन्तर्गत अहिले अरबी, अंग्रेजी भाषाका च्यानलहरू छन् । त्यसबाहेक नेटवर्कको डिजिटल प्लाटफर्म र युटुब च्यानलहरू सञ्चालित छन् । अलजजिरा आफ्नो प्रसारण एक सय मुलुकका ३१ करोडभन्दा बढी टिभीसेटमा पुग्ने दाबी गर्छ । 

विस्तारकै क्रममा सन् २०१३ मा अलजजिरा मिडिया नेटवर्कले पूर्वअमेरिकी उपराष्ट्रपति अल गोरको स्वामित्वमा रहेको करेन्ट टिभी खरिद गर्‍यो । करेन्ट टिभीको पूर्वाधार प्रयोग गरेर अलजजिराले अगस्ट २०१३ बाट अमेरिकाकेन्द्रित समाचार च्यानल सुरु गर्‍यो । पछि अमेरिकी मिडिया बजारको कडा प्रतिस्पर्धामाझ यो च्यानल टिक्न सकेन । तर, सञ्चालनको दुई वर्षमा यसले धेरै प्रतिष्ठित अवार्ड जित्न सफल भयो । अलजजिराका अन्य च्यानल भने अझै लोकप्रिय रूपमा चलिरहेका छन् । लोकप्रियतासँगै च्यानलको प्रभावकारिता विस्तार भयो । च्यानलमा कतारी राजपरिवारको लगानी रहे पनि त्यसका सामग्रीहरू स्वतन्त्र रूपमा प्रसारण हुने कतारी सरकारको दाबीका बाबजुद आलोचकहरूले यो कतारको कूटनीतिक औजार रहेको आरोप लगाउन थालेका छन् । सन् २०१७ देखि कतार र अन्य खाडी मुलुक साउदी अरेबिया, बहराइन, युएई र इजिप्टलगायत छिमेकी मुलुकबीच देखिएको विवादको केन्द्रमा छ, अलजजिरा । 

सन् २०१७ जुन ५ र ६ का दुई दिनमा साउदी अरब, युएई, यमन, इजिप्ट, माल्दिभ्स र बहराइनले अलग–अलग रूपमा कतारसँग कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरे । घोषणापछि साउदी अरब र युएईले कतारी जहाज र नागरिकलाई आफ्ना बन्दरगाहमा प्रवेश गर्न रोक लगायो । साउदी अरबले कतारी जहाजलाई आफ्नो आकाशबाट उड्न प्रतिबन्ध लगायो । कतारसँग जमिन जोडिएको साउदी अरबले सिमाना पनि बन्द गर्‍यो । साउदी अरब, युएई र बहराइनले कतारका नागरिकलाई दुई हप्ताभित्र आफ्नो देश छाड्न निर्देशन दिए । यहाँसम्म कि साउदी अरब चर्न गएका दश हजारभन्दा बढी कतारी ऊँट कतार फर्काइयो । कतारलाई उसका छिमेकी राष्ट्रले जमिन, जल र आकाशमा नाकाबन्दी गरेका थिए । नाकाबन्दी घोषणा गर्ने राष्ट्रहरूले कतारसँग १३ बुँदे माग राखेका थिए । तिनमा इरानसँग सम्बन्ध अन्त्य गर्नुपर्ने, कतारभित्रको टर्किस सैनिक आधार बन्द गर्नुपर्ने, आतंकवादी संगठनहरूलाई सघाउन रोक्नुपर्ने जस्ता माग राखिएका थिए । १३ मा एउटा माग थियो– अलजजिरा र यसका सहायक स्टेसन बन्द गर्नुपर्ने । 

अलजजिराले अफगानिस्तान र इराकका युद्धस्थलबाटै रिपोर्टिङ गर्ने गर्थ्यो । सेप्टेम्बर ११ को आतंकवादी हमलाको मुख्य दोषी भनेर अमेरिकाले खोजिरहेका विन लादेनले आफ्ना सन्देश अलजजिरामार्फत प्रसारण गर्थे । यसले लादेनका सन्देश प्रसारण गर्न विश्वभरका समाचार च्यानल अलजजिरामाथि निर्भर रहन लागे ।
 

११ हजार ५८१ वर्गकिमि क्षेत्रफलमा फैलिएको सानो देश कतारको जनसंख्या पुग–नपुग २८ लाख छ । त्यसमध्ये तीन लाख मात्र कतारी नागरिक हुन्, बाँकी काम गर्न आएका आप्रवासी । आप्रवासीमा फिलिपिन्स, भारत र नेपालबाट आएका नागरिकको हिस्सा सबैभन्दा ठूलो छ । सबैभन्दा धेरै भारतीय पाँच लाख ५० हजार, नेपाली तीन लाख ५० हजार, बंगलादेशी दुई लाख ८० हजार र श्रीलंकन एक लाख ४५ हजार छन् । कतारमा वास्तविक कतारीभन्दा ठूलो संख्या त नेपालीकै छ । तर, उनीहरू आप्रवासी कामदार हुन् । 

कतारसँग विश्वकै ठूलोमध्ये एक प्राकृतिक ग्यास भण्डार छ । अरबी मुलुकहरूमध्ये पनि निकै पछि अर्थात् सन् १९७१ मा मात्र ब्रिटिस शासनबाट स्वतन्त्र भएको कतारले आफ्नो प्राकृतिक स्रोतको बिक्रीमार्फत छोटो समयमै उलेख्य सफलता हासिल गर्‍यो । सन् १९९५ मा शेख हमाद विन खलिफा अल थानीले परिवारका अन्य सदस्यको सहयोग लिएर बिदामा गएका आफ्नै पितालाई पदबाट हटाई आफू राजा भए । उनको शासनमा कतार निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्रतर्फ अघि बढ्यो । शेख हमादको शासन सुरु भएको अर्को वर्ष अलजजिराको अरबी सेवा सुरु भएको थियो । शेख हमादले राजा भएपछि धेरै उदारवादी नीति अघि सारे । यसको परिणाम स्वरूप अन्य अरबी मुलुकमा भन्दा कतारमा नागरिक समाज बढी स्वतन्त्र छन् । तेल र ग्यासबाट आएको आय पूर्वाधार निर्माण गर्न र सामाजिक सेवाको वृद्धिमा प्रयोग भयो । यसले कतारमा अन्य अरबी मुलुकको तुलनामा असन्तुष्टि कम छ । शासकहरूसँगको असन्तुष्टिका कारण सुरु भएको सन् २०११ को अरबी क्रान्तिले सबैजसो अरबी मुलुकलाई प्रभावित पार्दा कतार अछुतो रहेको थियो । 

ठूला, शक्तिशाली र प्रतिद्वन्द्वी मुलुकहरू इरान, साउदी अरब र इजरायलनजिक रहेको कतारले आफ्नो आकार र कमजोरीका कारण सुरुदेखि नै कोहीसँग शत्रुता नमोल्ने र सबैसँग मित्रता गाँस्ने नीति लिएको थियो । अधिकांश अरबी मुलुकहरूले इजरायलको अस्तित्व नस्विकारेको समयमा कतारले ऊसँग सम्बन्ध सुधारेको थियो । त्यस्तै सुन्नीबहुल मुलुक भएर पनि उसको सियाबहुल इरानसँग राम्रो सम्बन्ध थियो । अरब क्रान्तिअघिसम्म कतार र सिरियाबीच सौहार्दपूर्ण सम्बन्ध थियो । कतारले छिमेकी ठूला देशलाई नचिढ्याउने नीति लामो समयसम्म लियो । तर, सन् २००४ बाट बिस्तारै यसमा परिवर्तन आउन थालेको देखियो । कतारले यसपछि अत्यन्त अस्थिर मध्यपूर्वका सरकारसँग मात्र होइन, त्यहाँका विद्रोही समूहहरूसँग पनि सम्बन्ध बढाउन थाल्यो । उसले साउदी राजपरिवारले मन नपराउने प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्ध नजिक्याएको थियो । त्यस्तै इजरायलले आतंकवादी मानेको हमासका नेतालाई आश्रय दिएको थियो । तालिवानको पहिलो अन्तर्राष्ट्रिय कार्यालय दोहामा खोलियो । सिरियाको गृहयुद्धमा उसले सक्रिय रूपमा असाद सरकार ढाल्न द्वन्द्वरत पक्षलाई सहयोग गर्न थाल्यो । 

यसरी आकारले सानो भए पनि २००४ बाट कतारले आफ्नो आर्थिक सामर्थ्यका बलमा आक्रामक कूटनीति सुरु गर्न थाल्यो । सुरुमा कतारको नीति र छिमेकी बलिया राष्ट्र साउदी अरब र युएईको नीति मिलिरहँदा यसमा केही समस्या देखिएको थिएन, तर सन् २०११ बाट यसमा बदलाब आयो । सन् २०१० बाट ट्युनिसियामा सुरु भएको विरोध प्रदर्शन बढ्दै गएर समग्र अरब क्षेत्रमा फैलियो । अलजजिराले सुरुदेखि नै आन्दोलनलाई प्रमुखता दिएर कार्यक्रम प्रसारण सुरु गर्न थाल्यो । आन्दोलनको मैदानबाट आन्दोलनकारीसँग रहेर कार्यक्रम प्रसारण गरिरहेकाले आन्दोलनकारीका मुद्दाले प्राथमिकता पाइरहेका थिए । आन्दोलन फैलिँदै गएर इजिप्ट पुग्यो । आन्दोलनको बलमा ३० वर्षदेखि इजिप्टमा शासन गरिरहेका राष्ट्रपति होस्नी मुबारकले पद त्याग्नुपर्‍यो । त्यसपछि भएको निर्वाचनमा मुस्लिम ब्रदरहुडका उमेदवार मोहम्मद मोर्सी राष्ट्रपति भए । अरब क्रान्तिदेखि त्यसपछिको सरकारसम्मलाई कतार सरकार र अलजजिराले समर्थन गरिरहेको थियो । उता साउदी अरब भने अरब क्रान्तिको विपक्षमा उभिएको थियो ।

क्रान्तिकै लहरमा साउदी अरबका केही क्षेत्रमा पनि प्रदर्शन भएका थिए । त्यसमाथि साउदी अरबको राजपरिवार आफूलाई अरबी क्षेत्रको एक मात्र धार्मिक पन्थको प्राधिकार मान्छ । मुस्लिम ब्रदरहुड भने जनसमर्थनमा इस्लामवादी राज्यको पक्षधर समूह हो । निरंकुश राजतन्त्रको पक्षधर इस्लामको वहावी पन्थको प्रवर्द्धक साउदी राजपरिवारले मुस्लिम ब्रदरहुडको राजनीतिलाई आफ्नो अस्तित्वमाथिको चुनौती मान्ने गरेको छ । यसैले साउदी अरबले इजिप्टको सेनालाई उचालेर एक वर्षमै मोर्सीविरुद्ध कु गरायो र मुस्लिम ब्रदरहुडलाई प्रतिबन्ध लगाउन लगायो । त्यसपछि नै साउदी अरब र उसको अर्को बलियो मित्रशक्ति युएईको कतारसँग सम्बन्धमा कटुता बढ्न थालेको थियो । सन् २०१४ को गल्फ कोअपरेसन काउन्सिलको सम्मेलनमा सदस्य राष्ट्र कतार र साउदी अरबको मतभिन्नता मिलाउने प्रयास भएको थियो ।

तर, विवाद नटुंगिएपछि कतारमाथि प्रतिबन्धको स्थिति आयो । यसमा साउदी अरबमा नयाँ युवराज मोहम्मद बिन सलमानको उदयलाई पनि ध्यान दिनुपर्छ । सन् २०१७ मा आफ्नो पिता सलमान बिन अब्दुलअजिजको राज्यारोहणपछि अघिल्ला राजाले युवराज घोषणा गरेका नायव बिन अब्दुलअजिजलाई पदच्युत गरेर युवराज पदमा आसिन भएका सलमान बिन सलमान निकै आक्रामक मानिन्छन् । अहिले साउदी अरबमा वृद्ध राजा सलमान बिन अब्दुलअजिज पृष्ठभूमिमा रहेकाले वास्तविक शक्ति बिन सलमानको हातमा रहेको मानिन्छ । उनी युवराज भएलगत्तैबाट विदेश नीतिमा साउदी अरब निकै आक्रामक रूपमा अघि आइरहेको छ । बिन सलमान युवराज हुनु १५ दिनअघि कुवेतविरुद्ध कदम चालिएको भए पनि यसमा उनकै हात रहेको बताइन्छ । एक प्रसंगमा सलमानले कतारविरुद्धको कूटनीतिक नाकाबन्दी अमेरिकाले क्युवालाई लगाएको नाकाबन्दीसँग तुलना गरेर यो निकै लामो जान सक्ने संकेत गरेका छन् । 

मोहम्मद बिन सलमान युवराज भएदेखि उनको मुख्य निसाना इरान रहँदै आएको छ । एकअर्कालाई परम शत्रु मान्ने यी दुई देशबीच सिधै टकराव त भएको छैन, तर दुवैले एकअर्कोलाई कमजोर बनाउन विभिन्न छद्म युद्ध लडिरहेका छन् । साउदी अरब इरानविरुद्ध सख्त हुन नसक्ने भएकाले पनि कतारमाथिको प्रतिबन्ध र अलजजिरामाथिको दबाब राखेको संकेत गरेको छ । तर, प्रतिबन्धको असर भने उल्टो परेको छ । नाकाबन्दीपछि कतार, इरान र टर्की एकअर्कासँग झन् नजिकिएका छन् । साउदी अरबले कतारी जहाजलाई आफ्नो आकाशबाट उड्न प्रतिबन्ध लगाएको थियो । साउदी आकाश छल्न कतारी जहाजलाई इरान र टर्की दुवैले आफ्नो आकाश प्रदान गरे । 

जहाँसम्म अलजजिराको कुरा छ, अरबी मुलुकले बन्द गर्न माग गरे पनि यो टेलिभिजन सञ्जाल निर्बाध सञ्चालन भइरहेको छ । अलजजिराको शाब्दिक अर्थ हुन्छ– प्रायद्वीप । वास्तवमा, फरक पहिचान र मुस्लिम आवाजका रूपमा अलजजिरा मिडिया जगत्मा झन्डै टापुजस्तै छ ।
 

कतार खाद्यान्नलगायत धेरै कुरामा छिमेकी साउदी अरबमा निर्भर रहेको थियो । ती अत्यावश्यक आपूर्ति रोकिँदा केही समय कतारलाई अप्ठ्यारो पनि प¥यो । तर, नाकाबन्दीको केही समयपछि कतारमा टर्की, इरान, ओमान, मोरक्को र भारतबाट खाद्य सामग्रीले भरिएका सयाँै कार्गाे पानी र हवाईजहाजहरूको ताँती लाग्न थाले । त्यस समय कतार ९० प्रतिशत खाद्यवस्तुका लागि आयातमा निर्भर थियो । संकटका कारण कतारले खाद्यवस्तुको आफ्नो घरेलु उत्पादन वृद्धि गराउन ध्यान दियो । त्यस्तै उसले खाद्यान्न व्यापारमा एउटै देशमाथि अत्यधिक निर्भर नहुने नीति लियो । 

नाकाबन्दीअघिसम्म कतारले साउदी अरेबियाबाट दैनिक ४ सय टन दूध आयात गथ्र्याे । तर, नाकाबन्दीको केही महिनामै युरोप र अमेरिकाबाट हवाईजहाजमा हजारौँ गाई भित्र्यायो र मुलुककै पहिलो स्थानीय डेरी तथा मिट फर्म ‘बालाद्ना’ स्थापना गर्‍यो । अहिले कतार डेरी उत्पादनमा आत्मनिर्भर मात्रै छैन, निर्यात गर्न सक्ने अवस्थामा नै पुगेको छ । सन् २०१७ सम्म स्थानीय फलफूल तथा तरकारी उत्पादनले १० प्रतिशत मागसमेत धान्ने अवस्था थिएन । अहिले ३० प्रतिशत आफैँ उत्पादन गर्न थालेको छ । बजारमा ताजा फलफूल र तरकारीको अपूर्तिका लागि स्थानीय कम्पनीहरूसँग मिलेर काम गरिरहेको छ । अन्न, तेल तथा चिनीको मौज्दात राख्न ठूला भण्डार गृहहरू निर्माण गरेको छ । इकोनोमिस्ट इन्टलिजेन्स युनिटको ग्लोबल फुड सेक्युरिटी इन्डेक्सअनुसार मध्यपूर्वमा खाद्य सुरक्षाको दृष्टिले कतार पहिलो र विश्वव्यापी रूपमा १३औँ स्थानमा छ । 

नाकाबन्दीबाट कतारले कम्तीमा ४३ अर्ब डलर वित्तीय नोक्सानी व्यहोर्नु परे पनि यसबीच उसले गरेका तयारीले नयाँ कोरोना भाइरसले निम्त्याएको संकटको सामना गर्नमा भने उल्लेख्य आत्मनिर्भरता हासिल गरेको देखिएको छ । लन्डनस्थित किंग्स कलेजका उपप्राध्यापक एन्ड्रियाज क्रिग भन्छन्, ‘नाकाबन्दीले कतारलाई अवरुद्ध आपूर्ति शृंखलासँग जुझ्न मजैले तयारी गरिदिएको छ ।’ 

त्यसैगरी, नाकाबन्दीको ६ महिनाभन्दा कम समयमा नै कतारले मध्यपूर्वकै ठूलो हमादपोर्ट उद्घाटन ग¥यो । जसले उसलाई सामुद्रिक मार्गको सुनिश्चितता गरिदियो । कतारी ध्वजावाहक कतार एयरवेजले नाकाबन्दीका सुरुका केही महिना उल्लेख्य नोक्सानी खेप्नुपरे पनि त्यसयता वार्षिक आम्दानीमा वृद्धि नै गरिरहेको छ । जुन विश्वकै प्रमुख एयरलाइन्स पनि हो । इरान अहिले कतारको खाद्य, पानी र औषधिको प्रमुख स्रोत बनेको छ । पछिल्लो समय पर्यटन उद्योगलाई ध्यानमा राख्दै कतारले विश्व चर्चित कलाहरूको संग्रह र म्युजियमका लागि अर्बौँ डलर लगानी गरिरहेको छ । सन् २०१६ मा २.१ प्रतिशत रहेको कतारको वार्षिक वृद्धिदर नाकाबन्दीपछि केही खुम्चिएर सन् २०१७ मा १.६ प्रतिशतमा झरेको थियो । तर, २०१८ मै पुनर्बहाली गरी २.२ प्रतिशतमा उक्लियो । जब कि साउदीको ०.७ प्रतिशतले ऋणात्मक थियो । आयका हिसाबले कतारको प्रतिव्यक्ति आय (पिपिपीमा गणना) विश्वकै तेस्रो–उच्च र जिएनआईमा प्रतिव्यक्ति आय छैटौँ उच्च स्थानमा छ ।

जहाँसम्म अलजजिराको कुरा छ, अरबी मुलुकले बन्द गर्न माग गरे पनि यो टेलिभिजन सञ्जाल निर्बाध सञ्चालन भइरहेको छ । अलजजिराको शाब्दिक अर्थ हुन्छ– प्रायद्वीप । वास्तवमा, फरक पहिचान र मुस्लिम आवाजका रूपमा अलजजिरा मिडिया जगत्मा झन्डै टापुजस्तै छ । यसको फरक पहिचान छ । जुन पहिचान उसको सम्पत्ति र दुर्भाग्य दुवै हो । इराक युद्ध, अफगानिस्तान युद्ध, सिरियाको गृहयुद्ध, प्यालेस्टाइन–इजरायल द्वन्द्वमा विद्रोही पक्षप्रति नरम देखिएको, अरबी एवं इस्लामिक पहिचानको प्रसार गर्न खोजेको जस्ता आरोपले उसलाई हतोत्साही होइन, अझ मजबुत नै बनाएको छ ।  

अलजजिरा उदार खालका समाचार सामग्रीमा केन्द्रित हुने भएकाले पनि यो क्षेत्रका वास्तविकतासँग यसको द्वन्द्वजस्तो देखिने गरेको छ । यो क्षेत्रका प्रायः सबैजसो सञ्चार माध्यम सरकारी स्वामित्व वा राज्य नियन्त्रित नै छन्, जसले ती मुलुकको नीति र जमिनी यथार्थताअनुकूलका सामग्री प्रकाशन प्रसारण गर्छन् । तर, कतार सरकारकै स्वामित्वअन्तर्गतको अलजजिराले भने कतार सरकारको आलोचना गरेरसमेत प्रसारण गर्ने गर्छ । यसले यो क्षेत्रका फरक र असन्तुष्टहरूको आवाजलाई पनि स्थान दिने गरेको छ । यो क्षेत्रका अधिकांश मुलुकले अलजजिरालाई राजनीतिक प्रोपोगान्डाका रूपमा लिन्छन्, तर अलजजिरा भने आफूलाई एउटा विशुद्ध समाचार संस्था भन्छ ।

अलजजिरा विश्वभरका मिडियाका लागि विद्रोहीको आवाज सुन्ने माध्यम बन्यो । त्यसपछि यसले गाजा स्ट्रिपमा निहत्था प्यालेस्टिनी महिला र बालबालिकामाथि इजरायली हवाई आक्रमणको वीभत्स तस्बिर र भिडियोहरू प्रकाशित गर्न थाल्यो । अलजजिरा विश्वभर चिनिएको भने अफगानिस्तान युद्धको सुरुवातपछि नै हो । यो समाचार संस्थाले अफगान युद्धलाई युद्धभूमिबाटै लाइभ कभरेज गर्न थाल्यो । यही कारण अलजजिराका कैयाैँ पत्रकारले जीवनको मूल्य चुकाउनुपर्‍यो ।

द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे), एम्नेस्टी इन्टरनेसनलको अधिकार समूह, रिपोटर्स विदाउट बोर्डसलगायतले अलजजिरामाथिको आक्रमणको विरोध गर्ने गरेका छन् । उनीहरू अलजजिरा कतारको कूटनीतिको कोलाटर्ल भिक्टिम बनेको ठान्छन् । कतारका लागि अलजजिरा एउटा ठूलो सफ्ट पावर हो । यसले मध्यपूर्वमा अरब आवाजलाई उछालेको छ । अलजजिरा कतार सरकारको एउटा यस्तो हतियार हो, जसलाई प्रयोग गरेर ऊ विश्वभर प्रतिष्ठित पनि बनिरहेको छ । साथै, फरक मतका अरबी समुदायले यसलाई बढी नै रुचाउँछन् । यही कारण साउदी अरेबिया, युएई, बहराइनजस्ता मुलुकका शासकको आँखाको कसिंगर भएको छ । र, उनीहरू जुन कुनै मूल्यमा यसलाई सदाका लागि बन्द गर्न चाहन्छन् ।