१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० भदौ २९ शुक्रबार ०८:५४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला रेफ्रीले एसियन कप खेलाउने

कतार फिफा विश्वकप खेलाइसकेकी जापानी योसिमी यामासिता पुरुष एसियन कप खेलाउने पहिलो महिला रेफ्री

Read Time : < 1 मिनेट
२०८० भदौ २९ शुक्रबार ०८:५४:००

 पुरुष एसियन कप फुटबलमा पहिलोपटक महिलाले निर्णायक भूमिका निभाउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलोपटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको हो । जापानकी योसिमी यामासिता पुरुष एसियन कप खेलाउने पहिलो महिला बन्ने पक्का भएको छ । एसिया कप अर्काे वर्ष कतारमा हुँदै छ । 

योसिमीले सन् २०२२ को कतार फिफा विश्वकप खेलाइसकेकी छिन् । दोहामा भएको फाइनल खेलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन भएको थियो । अर्की चार महिला रेफ्रीले पनि १२ जनवरीदेखि १० फेब्रुअरीसम्म हुने प्रतियोगिता खेलाउनेछन् । ‘पहिलोपटक महिला रेफ्रीले एसियाको ठूलो प्रतियोगिता खेलाउने भएका छन्,’ एएफसीले भनेको छ ।

 यसपटकदेखि एएफसीले भिडियो सहायक रेफ्री (भिएआर) पनि राख्ने बताएको छ । साबिक विजेता कतारले यसपटक प्रतियोगिता आयोजना गर्दा २४ टोलीको सहभागिता रहनेछ । विश्वकपको अन्तिम १६ मा स्थान बनाएका जापान र दक्षिण कोरिया नै यसपटकको मुख्य दाबेदार हुन् । यसैगरी, एएफसीले पहिलोपटक एएफसी एसिया महिला च्याम्पियन्स लिग अर्काे वर्षबाट गर्ने बताएको छ । 

 नौ रंगशालामा खेल हुने 
एएफसी एसियन कप नौ रंगशालामा हुँदै छ । विश्वकप आयोजना भएको अल बायत मैदान, लुसेल मैदान, अहमद विन अली रंगशाला, एजुकेस सिटी रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल थुमाम रंगशालासहित जासिम विन हमाद, अब्दुल्लाह विन खालिफा र अल जानोउव मैदानमा खेल हुने कतारले जनाएको छ । विश्वकप आयोजना भएको लुसेल मैदानमा सर्वाधिक ८८ हजार दर्शक अटाउनेछन् ।