मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Monday, 17 March, 2025
नवीन अर्याल काठमाडाैं
२o८o भदौ २९ शुक्रबार o६:२६:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय ध्वजावाहक दुई न्यारोबडी २० महिनामा २२० दिन ग्राउन्डेड

जहाज नउड्दा निगमले गुमायो झन्डै साढे दुई अर्ब आम्दानी, इन्जिन मर्मत र भाडाको इन्जिनमा पनि डेढ अर्ब खर्च

Read Time : > 7 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o६:२६:oo

६१ दिनदेखि काठमाडौंमा ग्राउन्डेड ९एन–एकेएक्स कहिले उड्छ अझै टुंगो छैन

गत ३१ असार (१६ जुलाई)मा अर्को न्यारोबडी एकेएक्स पनि ग्राउन्डेड भयो, जुन अहिलेसम्म थन्किएकै छ । हालै मात्र इजरायलको आइएआईलाई इन्जिन मर्मतको जिम्मा दिने तथा सोही कम्पनीसँग भाडाको इन्जिन पनि लिने सम्झौता भएको छ । ग्राउन्डेड भएको बिहीबार ६१ दिन पुगेको जहाजले व्यावसायिक उडान कहिले गर्छ अझै टुंगो छैन । 

पछिल्ला २० महिनामा नेपाल वायुसेवा निगम (नेवानि)का दुईवटा न्यारोबडी एयरबस–३२० जहाज दुई सय २० दिन ग्राउन्डेड भएका छन् । यसबाट निगमलाई तीन अर्ब ८३ करोड रुपैयाँ नोक्सानी भएको छ ।

न्यारोबडी ९एन–एकेडब्लू ‘सगरमाथा’ले कतारको दोहा विमानस्थलमा ग्राउन्डेड हुँदा ७५ दिन र फेरि काठमाडौंमा ग्राउन्डेड हुँदा ६२ दिन व्यावसायिक उडान गर्न पाएन । अर्को न्यारोबडी ९एन–एकेएक्स ‘लुम्बिनी’ पनि गत ३१ असार (१६ जुलाई)देखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ । इन्जिनमा समस्या आएर थन्किएको बिहीबार ६१ दिन पुग्दासमेत जहाज कहिलेबाट उड्ने हो अझै टुंगो छैन । 

यसबाहेक पनि छोटो समयका लागि पटक–पटक गरेर दुवै जहाज २२ दिन ग्राउन्डेड भएका थिए । ०८० असारको अन्तिम साता दुईवटै न्यारोबडी एकसाथ ग्राउन्डेड हुँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको थियो । त्रिभुवन विमानस्थलमा बोर्डिङ पास लिइसकेका यात्रुसमेत उड्न नपाएपछि निगमको केन्द्रीय कार्यालय न्युरोडमा पुगेर विरोध जनाएका थिए

निगमसँग दुई सय ७४ सिट क्षमताका दुईवटा वाइडबडी र एक सय ५८ सिट क्षमताका दुईवटा न्यारोबडी जहाज छन् । चारवटै जहाजबाट फागुन र चैतमा तीन अर्ब १५ करोड ६५ लाख आम्दानी गरेको थियो । दुईवटा वाइडबडीलाई तीनवटा न्यारोबडीसरह मानेर हिसाब निकाल्दा पनि एक न्यारोबडीले दैनिक सरदर एक करोड पाँच लाख आम्दानी गर्ने देखिन्छ । यस हिसाबले न्यारोबडी जहाज दुई सय २० दिन ग्राउन्डेड हुँदा दैनिक एक करोड पाँच लाखका दरले दुई अर्ब ३१ करोडभन्दा बढी आम्दानी गुमाउनुपरेको स्रोतको भनाई छ ।

यसबाहेक इन्जिन मर्मत, दोहामा ग्राउन्डेड हुँदा पार्किङ शुल्क र इन्जिनको भाडा शुल्क गरेर निगमले एक अर्ब ५२ करोड खर्च गरेको छ । निगम स्रोतका अनुसार ९० दिनका लागि भनेर इजरायलको एमटियू कम्पनीबाट ल्याएको इन्जिन पाँच सय ४३ दिन राख्दा भाडाबापत मात्रै ३४ करोड ८६ लाख तिर्नुपरेको छ । एकेडब्लू जहाजका दुईवटा इन्जिन मर्मत गर्दा एक अर्ब १६ करोड खर्च भएको छ । त्यस्तै, एकेडब्लू दोहामा करिब ७० दिन ग्राउन्डेड हुँदा पार्किङ शुल्क ९२ लाख तिर्नुपरेको छ ।

कलसाइन ९एन–एकेडब्लु जहाज दोहामा ग्राउन्डेड हुँदा बायाँ इन्जिन र काठमाडौंमा ग्राउन्डेड हुँदा दायाँ इन्जिन मर्मत गर्नुपरेको थियो । अहिले फेरि एकेएक्स जहाज इन्जिनमै समस्या आएर ग्राउन्डेड छ । भाडामा इन्जिन ल्याउन र इन्जिन मर्मत गर्न भर्खरै एमआरओ छनोट गरिएको छ । 

निगमले रोल्स रोयस कम्पनीसँग सन् २०१८ देखि इन्जिन हेल्थ मोनिटरिङ (इएचएम) सर्भिस लिइरहेको छ । हरेक महिना जहाजको इन्जिनका डाटाहरू इएचएममा पठाउने गरिन्छ । इएचएमका डाटा रोल्स रोयसले अध्ययन गरेर निगमलाई प्रतिवेदन पठाउँछ । यदि कुनै इन्जिनमा समस्या आउँदै छ भने निगमलाई ५–६ महिनाअघि नै सूचना प्राप्त हुने गरेको स्रोत बताउँछ । ‘जहाजको इन्जिन बिग्रिन लागेको सूचना व्यवस्थापनलाई पहिल्यै थाहा भइसकेको हुन्छ,’ स्रोतले भन्यो, ‘इएचएमले इन्जिनमा समस्या आउँदै छ, यति समयमा मर्मत गर्नुपर्ने हुन्छ भनेर दिएको रिपोर्टलाई बेवास्ता गर्दै इन्जिनको जोहो नगरेर निगमलाई अर्बौँको घाटा गराइयो ।’ 

स्रोतकाअनुसार यो सेवा प्रयोग गरेबापत निगमले रोल्स रोयसलाई वार्षिक १६ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । इएचएमको रिपोर्ट हेरेर पहिल्यै इन्जिन मर्मत गर्ने एमआरओ र इन्जिन भाडामा लिने कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको भए तत्कालै इन्जिन मर्मतमा पठाएर भाडाको इन्जिन ल्याएर जहाज उडान गर्न सकिन्थ्यो । यो काम हप्ता–दश दिनमै फत्ते हुन्थ्यो । 

तर, निगम व्यवस्थापनले इन्जिन बिग्रिएर ग्राउन्डेड भएका जहाज समयमै मर्मत गरेर उडाउन चासो दिने गरेको छैन । इन्जिन मर्मतका लागि एमआरओ तथा इन्जिन लिजमा लिने कम्पनी छनोट प्रक्रियामा ढिलाइ गरेर व्यवस्थापन ‘कमिसन’को खेलमा लाग्ने गरेको निगमकै कर्मचारी संघको आरोप छ । यस विषयमा पटक–पटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको नेपाल वायुसेवा निगम कर्मचारी संघले १० भदौमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

निगम प्रवक्ता रमेश पौडेलले इन्जिन रिपेयर तथा इन्जिन लिजमा लिन छनोट गरेर सम्झौता भइसकेको हुँदा ग्राउन्डेड जहाज छिट्टै उड्ने बताए । ‘इन्जिन मर्मत तथा भाडामा लिनका लागि कम्पनी छनोट भएर सम्झौता भइसकेको छ । अहिले हामीले कम्पनीसँग मेन्टेनेन्स स्लट कुरेर बसेका छौँ । त्यो कन्फर्म भइसकेको छैन,’ उनले भने, ‘विश्वमै जहाज मर्मत गर्ने एमआरओ थोरै छन् । त्यही भएर जहाज मर्मतका लागि स्लट पाउन समय लाग्छ । त्यहाँ क्यु लाग्नुपर्छ । स्लट नपाएर ढिलाइ भएको हो । अबको चार–पाँच दिनमा जहाज इजरायल जान्छ । बिग्रिएको इन्जिन मर्मत गर्न दिएर भाडाको इन्जिन राखेर उडान सुरु गर्छौँ । इन्जिन फेर्न अर्को चार–पाँच दिन लाग्ला । सेप्टेम्बर पहिलो सातामै जहाज उडाउने भनिए पनि स्लट नपाउँदा समस्या आएको हो ।’ निगमले एकेएक्सको इन्जिन मर्मत तथा लिजमा लिनका लागि इजरायलको एरोस्पेस इन्डस्ट्रिज (आइएआई)सँग सम्झौता गरेको छ । 

निगमसँग न्यारोबडी र वाइडबडी दुवैको जगेडा इन्जिन छैन । विज्ञहरूका अनुसार निगम व्यवस्थापनले दीर्घकालीन सोच राखेर लामो समयका लागि एमआरओ नियुक्त गरेर राख्नुपथ्र्यो । ता कि ग्राउन्डेड हुनेबित्तिकै इन्जिन ल्याएर जहाज उडाउन र तत्कालै इन्जिन मर्मत गर्न दिन सकियोस् । तर, कमिसनको खेलका कारण समस्या आउनुअघि नै इन्जिन मर्मत तथा भाडामा लिन कम्पनी नियुक्तसमेत गरिँदैन । जहाज ग्राउन्डेड भएपछि पनि सार्वजनिक खरिद ऐनलाई देखाएर इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया सुरु गर्न ढिलाइ गरिन्छ । जब कि नेतृत्वलाई तत्कालै प्रक्रिया अगाडि बढाएर छोटो अवधिका लागि इन्जिन भाडामा ल्याउन पाउने सुविधा रहेको स्रोत बताउँछ ।

लामो समयसम्म जहाज ग्राउन्डेड हुँदा निगमको उडान तालिकासमेत अस्तव्यस्त हुने गरेको छ । अहिले एकेएक्स ग्राउन्डेड हुँदा व्यस्त गन्तव्य काठमाडौं–दिल्ली सेक्टरको उडानसमेत कटौती गर्नुपरेको स्रोतको भनाइ छ । छोटो दूरी र कम यात्रु भएको ठाउँमा पनि दुई सय ७४ सिटको वाइडबडी उडाउनुपरेको छ । 

१३ पुस ०७८ (२८ डिसेम्बर २०२१)  मा एकेडब्लू जहाजको बायाँ इन्जिनमा समस्या देखिएर दोहामा ग्राउन्डेड भएपछि १९ फागुन ०७८ (३ मार्च २०२२) मा इजरायली कम्पनी एमटियूसँग ९० दिनका लागि प्रतिदिन दुई हजार डलर, प्रतिसाइकल दुई सय ३९ डलर र प्रतिघन्टा दुई सय ७६ डलर भाडा तिरेर इन्जिन लिने तय भएको थियो । तर, त्यो इन्जिन बन्न नै नौ महिना लाग्यो । ६ मार्चमा भाडाको इन्जिन राख्न  इजरायल गएको एकेडब्लूले १२ मार्चदेखि नियमित उडान सुरु गरेको थियो । उता इजरायली कम्पनी आइएआईले इन्जिन बनाउन नै नौ महिना लगायो । त्यतिन्जेल दायाँ इन्जिनमा पनि समस्या आएर सो जहाज फेरि काठमाडौंमा ग्राउन्डेड भइसकेको थियो । उडान नभए पनि ५३ दिन भाडाको इन्जिन राखेर जहाज थन्कियो । आइएआईले मर्मत गरेको इन्जिन जडान गरेर ६२ दिनपछि मात्रै जहाजले व्यावसायिक उडान गर्न सक्यो । 

जर्मनीको लुफ्थान्सा कम्पनीले दायाँ इन्जिन ८ अगस्टमा मर्मत गरेपछि एमटियूको भाडाको इन्जिन कतारमा झारेर एकेडब्लू जहाज आफ्नै इन्जिनबाट उड्न थाल्यो । तर, ३० अगस्टमा मात्रै एमटियूसँग भाडाको इन्जिनको सम्झौता खारेज गरियो । जबकि, त्यसअघि नै १६ जुलाइ (३१ असार)मै अर्को न्यारोबडी एकेएक्स इन्जिनमै समस्या आएर ग्राउण्डेड भइसकेको थियो । 

एकेएक्स ग्राउन्डेड भएपछि निगम सञ्चालक समिति र कर्मचारी संघले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकेएक्सको इन्जिन मर्मत र इन्जिन भाडामा लिने प्रक्रिया चाँडो थाल्न सुझाव दिएका थिए । इन्जिन मर्मत नहुन्जेल एमटियूको इन्जिन एकेएक्समा राखेर उडान सुरु गर्न पनि उनीहरूको सुझाव थियो । एकेडब्लू र एकेएक्समा एउटै इन्जिन प्रयोग हुन्छ । तर, कार्यकारी अध्यक्ष अधिकारीले वास्तै गरेनन् । 

स्रोतले भन्यो, ‘९० दिनलाई भनेर ल्याएको इन्जिन करिब १८ महिनासम्म राखियो भने अझै तीन महिना समय थपेर सोही इन्जिनलाई एकेएक्समा प्रयोग गरौँ भनेर सुझाव दिँदा नेतृत्वले अटेर गर्‍यो ।’ र, एकेएक्सको इन्जिन मर्मत र अर्को इन्जिन भाडामा लिन प्रक्रिया अगाडि बढाइयो । ८ अगस्टमा भाडाको इन्जिन दोहामा झारिएको भए पनि ३० अगस्टमा मात्र इजरायली कम्पनी एमटियूसँग सम्झौता खारेज गरिएको थियो । ‘यसबाट एकातिर दैनिक दुई हजार पाँच सय डलरका दरले २३ दिनको भाडा तिरेर दोहामा त्यत्तिकै इन्जिन थन्क्याइयो, अर्कोतिर इन्जिन नहुँदा एकेएक्स जहाज त्रिभुवन विमानस्थलमा थन्किँदा उडान तालिका नै अस्तव्यस्त भइरहेको छ,’ स्रोतले भन्यो । अहिले फेरि निगमले एकेएक्सका लागि इजरायलकै आइएआई कम्पनीसँग नै इन्जिन भाडामा लिने र इन्जिन मर्मत गर्न चार वर्षको सम्झौता गरेको छ । 

स्रोतका अनुसार मर्मत गर्न दिएको इन्जिन चाँडै नबन्ने र अर्को इन्जिन तत्काल भाडामा ल्याउन नसक्ने स्थितिमा निगमले एमटियूको इन्जिन फिर्ता गरिदिएको भए भाडाको खर्च घट्ने थियो । तर, पटक–पटक गरी ७५ दिन उडान नै नगरी दिनको दुई हजार डलरका दरले निगमले भाडा तिर्नुपर्‍यो । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कहिलेकाहीँ जहाज ग्राउन्डेड हुनु र निगममाथि प्रश्न उठ्नु सामान्य भएको बताए । विस्तृतमा उनले कुरा गर्न चाहेनन् । ‘कहिलेकाहीँ यस्तो (जहाज ग्राउन्डेड हुने) भइहाल्छ । क्वेसन उठ्ने त भइहाल्छ नि । यस विषयमा मसँग भन्दा पनि प्रवक्ता वा इन्जिनियरिङ डाइरेक्टरसँग कुरा गर्नुस्,’ उनले छोटो प्रतिक्रिया दिए । 

निगम प्रवक्ता रमेश पौडेलले भने सार्वजनिक खरिद ऐनको प्रावधानका कारण पनि ढिलाइ हुने गरेको दाबी गरे । ‘हाम्रो सार्वजनिक खरिद ऐनको प्रावधान नतिजामुखीभन्दा बढी प्रक्रियामुखी हुँदा ढिलासुस्ती भइरहेको हो । प्रक्रिया पुर्‍याउने समय लागिरहेको छ । सरकारी नियम, कानुन र प्रक्रियाले ढिलाइ भइरहेको छ । त्यसैले एभियसन क्षेत्रलाई सार्वजनिक खरिद ऐनमा पनि विशेष व्यवस्था गरिदिनुपर्ने आवश्यकता छ । यस क्षेत्रमा बनाएको आफ्नै नियमले नोक्सानी गरिरहेको छ,’ उनले भने । 

एकेडब्लू जहाज दोहा र काठमाडौंमा १३७ दिन ग्राउन्डेड हुँदा एक अर्ब ४४ करोड आम्दानी गुम्यो
१३ पुस ०७८ मा कतारको दोहामा अवतरणपछि पार्किङतर्फ लैजाँदा न्यारोबडी ९एन–एकेडब्लूमा समस्या आएपछि बायाँ इन्जिन मर्मत गर्नुपर्ने देखियो । जहाज ग्राउन्डेड भएको डेढ महिनापछि मात्र एओजी बेसिसमा एमआरओ छनोट प्रक्रिया अगाडि बढाइयो । ३ मार्च २०२२ मा इजरायली कम्पनी एमटियूसँग ९० दिनका लागि प्रतिदिन दुई हजार डलर, प्रतिसाइकल २३९ डलर र प्रतिघन्टा २७६ डलर भाडा तिरेर इन्जिन लिने तय भयो । त्यतिन्जेलसम्म जहाज ६९ दिन ग्राउन्डेड भइसकेको थियो, भाडाको इन्जिन राखेर १२ मार्च २०२२ मा व्यावसायिक उडान थाल्दा ७५ दिन पुग्यो । यसबाट निगमको करिब ७९ करोड आम्दानी गुम्यो । भाडाको इन्जिन राखेर उडिरहेको सो जहाज ३० जुलाई २०२२ फेरि काठमाडौंमा ग्राउन्डेड भयो । बोरोस्कोप गर्दा जहाजको दायाँ इन्जिन मर्मत गर्नुपर्ने देखियो, ५३ दिनसम्म ग्राउन्डेड भयो । आइएआईले इन्जिन मर्मत गरेपछि २२ सेप्टेम्बर २०२२ मा बल्ल जहाज इन्जिन फेर्नका लागि इजरायल गयो । इन्जिन फेरेर ६२ दिनपछि मात्रै व्यावसायिक उडानमा आउँदा निगमले करिब ६५ करोडभन्दा बढी आम्दानी गुमायो । 

९० दिनका लागि भाडामा ल्याएको इन्जिन ५४३ दिनपछि मात्रै फिर्ता, ३४ करोड ८६ लाख खर्च
एकेडब्लू दोहामा ग्राउन्डेड भएपछि निगमले इजरायली कम्पनी एमटियूसँग ९० दिनका लागि इन्जिन भाडामा लिएको थियो । एमटियूअन्तर्गतकै कम्पनी ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)’ लाई इन्जिन मर्मतको जिम्मा पनि दिइयो । तीन महिनामा इन्जिन मर्मत गरिदिनुपर्नेमा उसले नौ महिना लगाइदियो । त्यतिन्जेलसम्म दायाँ इन्जिन बिग्रेर सोही जहाज फेरि काठमाडौंमा ग्राउन्डेड भएको ५० दिन नाघिसकेको थियो । भाडाको इन्जिन झुन्ड्याएर एकेडब्लू जहाज ५३ दिनसम्म विमानस्थलमा थन्कियो । इजरायलमा मर्मत गरिएको इन्जिन जडान गरेर व्यावसायिक उडान थाल्दा ६२ दिन पुगिसकेको थियो । दायाँतर्फको इन्जिन जर्मनीको लुफ्थान्सा कम्पनीलाई मर्मत गर्ने जिम्मा दिइयो । मर्मत गरिएको बायाँ इन्जिन जडान गर्दा दायाँ इन्जिन इजरायलमै छाडिएको थियो । त्यहाँबाट जर्मनी पठाउनै तीन महिना ढिलो गरियो । लुफ्थान्साले पनि समयमै इन्जिन मर्मत गरेर दिएन । ८ अगस्ट २०२३ मा मात्रै दियो । ३० अगस्ट मात्रै भाडाको इन्जिनको सम्झौता खारेज गरियो । यसरी ५४३ दिन राख्दा इन्जिनको भाडाबापत मात्रै ३४ करोड ८६ लाख तिर्नुपर्‍यो । 

इन्जिन मर्मतमा एक अर्ब १६ करोड खर्च
आइएआईले एकेडब्लूको बायाँ इन्जिन मर्मतको साढे ४२ लाख डलरको बिल दिएको थियो । बिल चुस्त नभएको भन्दै विरोध भएपछि छानबिन गर्न समिति गठन गरियो । एक महिनाको समय पाएको पाँच सदस्यीय समितिले ‘रकम ठीक हो’ भनेर पाँच महिनामा प्रतिवेदन दियो । पछि ४० लाख डलरको बिल स्वीकृत गरेर भुक्तानी गरियो । त्यस्तै, दायाँ इन्जिन मर्मत गर्न लुफ्थान्सालाई ४७ लाख डलर लागत अनुमान गरी हस्तान्तर गरिएको थियो । जुन २०२३ सम्म इन्जिन मर्मत गरेर दिनुपर्ने सर्त थियो । तर, उसले पनि समयमै दिएन । उसको बिल निगमले गोप्य नै राखेको छ । 

इन्जिन मर्मत र भाडाका लागि कम्पनी छनोट भइसकेको छ, चाँडै उड्छ : रमेश पौडेल, प्रवक्ता, नेपाल एयरलाइन्स
इन्जिन मर्मत तथा भाडामा लिनका लागि कम्पनी छनोट भएर सम्झौता भइसकेको छ । अहिले हामीले कम्पनीसँग मेन्टेनेन्स स्लट कुरेर बसेका छौँ । त्यो कन्फर्म भइसकेको छैन । विश्वमै जहाज मर्मत गर्ने एमआरओ थोरै छन् । त्यही भएर जहाज मर्मतका लागि स्लट पाउन समय लाग्छ । त्यहाँ क्यु लाग्नुपर्छ । स्लट नपाएर ढिलाइ भएको हो । अबको चार–पाँच दिनमा जहाज इजरायल जान्छ । बिग्रिएको इन्जिन मर्मत गर्न दिएर भाडाको इन्जिन राखेर उडान सुरु गर्छौँ । इन्जिन फेर्न अर्को चार–पाँच दिन लाग्ला । सेप्टेम्बर पहिलो सातामै जहाज उडाउने भनिए पनि स्लट नपाउँदा समस्या आएको हो ।