१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २८ बिहीबार ११:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ ब्लड क्यान्सर ? यसरी हुन्छ रोकथाम र उपचार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २८ बिहीबार ११:४५:००

रगतमा विभिन्न रक्तकोषिका हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पु¥याउने काम गर्छ । साथै, अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगसँग लड्ने र रोगप्रतिरोधी क्षमता बढाउँछ । प्लेटलेट्सले रगत धेरै बग्न नदिने काम गर्छ । यसको ढिक्का गएर रक्तनलीको प्वाल बन्द गरिदिन्छ । जसकारण, शरीरबाट धेरै रक्तश्राव हुन पाउँदैन । 

यी तीनवटै रक्तकोष हड्डीको भित्री भाग मासी अर्थात् बोनम्यारोमा बन्छ । जब शरीरको कोषिकाहरूको डिएनएमा क्षति पुग्छ, तब सेतो रक्तकोषहरू वयस्क हुन नपाउनुका साथै यिनीहरूको संख्या अनियन्त्रित भई ब्लड क्यान्सर विकसित हुन थाल्छ । यहाँ क्यान्सरका कोष बन्न थालेपछि रगतसँगै शरीरका प्रत्येक अंगमा पुग्छन् । ती क्यान्सरका कोषहरू बोनम्यारोमा फैलँदा हेमोग्लोबिन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा अत्यधिक घट्न जान्छ ।

सेतो रक्तकोषको संख्या अधिक बढ्न गएमा शरीरमा रगत बाक्लो भएर जान्छ । जसले गर्दा स–साना रक्तनली बन्द हुन्छन् । रातो रक्तकोष कम भएमा हेमोग्लोबिनले अंगहरूमा अक्सिजन पु¥र्याउन सक्दैन । रक्तकोषहरू फुट्छन् । यस्तो हुँदा प्लेटलेट्सले काम गर्न सक्दैन । र, अधिक रक्तश्राव भई अंगहरूमा क्षति पुग्छ । समयमै उपचार मिलेन भने ब्लड क्यान्सरले मानिसको ज्यानसमेत जाने गर्दछ । 

कारण 
- ब्लड क्यान्सरको निश्चित कारण पत्ता लागेको छैन । तर, केही त्यस्ता कारक छन्, जसले ब्लड क्यान्सर हुने जोखिम बढाउँछ । 
- वंशानुगत कारण ।
-धूम्रपान, मदिरा, विकिरण, विषादीयुक्त खानेकुरा, तरकारी तथा फलफूलको प्रयोग, जसले ल्युकेमिया विकास हुने जोखिम बढाउँछ । 
- किमोथेरापी लिएका व्यक्तिमा पनि पछि गएर ब्लड क्यान्सर हुने जोखिम रहन्छ, तर सबैमा हुन्छ भन्ने होइन । 
- डाउन सिन्ड्रोम, फ्यानकोनी एनिमियालगायत आनुवंशिक विकार । 
- रक्तविकार (जस्तो, मायलोइड्सप्लास्टिक सिन्ड्रोम) ।

लक्षण 
- धेरै समयसम्म ज्वरो आइरहने, औषधि खाएपछि केही दिनमा निको हुने र फेरि ज्वरो बल्झने, महिनौँसम्म पनि ज्वरो निको नभएमा ब्लड क्यान्सर भएको हुन सक्छ । अन्य लक्षण यस प्रकार छन् :
- शरीर सेतो भएर जाने । रक्तअल्पता हुने । 
- नाकबाट रगत बग्ने, दिसा, पिसाबमा रगत देखिने । 
- शरीरमा गिर्खा आउने, सास लिन अप्ठ्यारो हुने ।
- शरीरमा निलो डाम, रातो छिर्का हुने, कहिलेकाहीँ शरीर सुन्निने । 
- हड्डी करकर खाने, जोर्नी दुख्ने । 
- आँखा सुन्निने, टाउको दुखिरहने ।
- वाकवाकी लाग्ने, बान्ता हुने । 
- कहिलेकाहीँ हातखुट्टा एक्कासि नचल्ने, काम्ने । 
- सुस्त मनस्थिति हुने, थकान हुने ।

कसरी बच्ने ? 
- रासायनिक पदार्थ धेरै मात्रामा प्रयोग नगर्ने । कीटनाशक औषधि प्रयोग भएका खानेकुरा प्रयोग नगर्ने । अर्गानिक खानेकुरा खाने । सन्तुलित खानेकुरा खाने । 
- जथाभावी औषधि प्रयोग नगर्ने । विकिरणबाट बच्ने । धूम्रपान तथा मद्यपान नगर्ने । 
- थप समस्या भएमा क्यान्सर रोग विशेषज्ञको सल्लाहमा आवश्यक औषधि उपचार गर्ने । 

उपचार 
बिरामीको उमेर, उसको स्वास्थ्य अवस्था र कुन प्रकारको रक्त क्यान्सरबाट बिरामी प्रताडित छ भन्ने हेरेर यसको उपचार गरिन्छ । सबैभन्दा धेरै प्रयोगमा आउने उपचार विधि किमोथेरापी हो । यदि प्रारम्भिक चरणमा यस उपचार विधि अपनाइयो भने मानिसले स्वस्थ्यलाभ गर्ने सम्भावना धेरै रहन्छ । अर्काे उपचार विधि बोनम्यारो प्रत्यारोपण हो । किमोबाट ब्लड क्यान्सर निको नभएमा वा उपचारपछि फेरि समस्या देखिएमा यो विधि प्रयोगमा ल्याउने गरिन्छ । अर्काे उपचार विधि लक्षित चिकित्सा (टार्गेट थेरापी) हो । यसमा डाक्टरहरूले अन्य कोषिकालाई प्रभावित नगर्ने गरी केवल क्यान्सर कोषिकालाई लक्षित गरेर औषधि प्रयोग गर्छन् । जसकारण सम्भावित दुष्प्रभाव कम भएर जान्छ । त्यस्तै, बिरामीको अवस्था हेरेर इन्टरफेरान, विकिरण उपचार, मनोक्लानल एन्टिबडिज, कार टी सेललगायत उपचार विधि प्रयोगमा आउन सक्छ ।