१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

मोरक्को भूकम्पमा २८ सयको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या  दुई हजार आठ सय पुगेको छ। यस्तै, अहिलेसम्म तीन हजारभन्दा बढी घाइते भएका छन्। 

अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन्। भूकम्पबाट घरबारविहीनहरूले आफ्नो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै खाना र आवासका निम्ति भौँतारिनुपरेको पीडा पोखेका छन्। 

सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन्। भूकम्पबाट अधिक प्रभावित ताफेघते गाउँका एकजना पीडितका अनुसार करिब दुई सयजनाको बसोवास रहेको उनको गाउँका ९० जनाको शव फेलापरेको छ भने अन्य हराइरहेका छन्। 

भवनका भग्नावशेष सफा गर्ने यान्त्रिक उपकरणको अभावमा खोज जटिल भएको छ। परम्परागत घरका इँटा र ढुंगा बाटामा असरल्ल छन् । हसन आफ्ना काका अझै पनि भग्नावशेषमुनि दबिएका बताउँछन्, तर उनलाई जीवितै बाहिर निकाल्ने कुनै आशा छैन। 

‘हामीले यहाँ राज्यले परित्याग गरेको महसुस गरिहेका छौँ, हामीलाई मद्दत गर्न कोही आएको छैन । हाम्रा घर भत्किएका छन्, अब हामी कहाँ बस्ने ?’ एटलस पहाडको अग्लो क्षेत्रमा रहेकाे गाउँ मिसिरातका भग्नावशेषमाथि उभिएर रोष व्यक्त गर्दै ४३ वर्षीया खादिजा एट्लकिद प्रश्न गर्छिन्। 

एक सयभन्दा कमको बसोवास रहेको उनको गाउँपालिकामा १६ जनाको शव फेला परेको भए पनि भग्नावशेषमा पुरिएका पशुचौपाया गनाएर स्थानीय वायु नै प्रदूषित भएको छ। 

मोरक्कोको पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ। अल–हौज र ताराउदान्ट प्रान्तका अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफियामा पनि विनाश भएको छ।

स्पेन, संयुक्त अधिराज्य र कतारले खोज तथा उद्धारमा सघाउन आ–आफ्नो टोली परिचालन गरका छन्। मोरक्कोका उद्धारकर्मीसँगको समन्वयमा उनीहरूले काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ। 

सवारीसाधन पुग्न नसक्ने अनकन्टार पहाडी गाउँमा हेलिकाेप्टरबाट खाद्य सामग्री खसालिएको जनाउँदै गृह मन्त्रालयले यथाशक्य चाँडो सबै पीडितलाई राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। 

यसैबीच, युरोपेली संघले मानवीय सहायतास्वरूप एक लाख युरो तत्काल उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजारजनाको मृत्यु भएको थियो। भूकम्पबाट अगादिर नगर तहसनहस भएको थियो।