१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्छ : शेखर कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्ने वेला आएको बताएका छन्। 

पार्टीका संस्थापक नेता बिपी कोइरालालको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन हेटौँडा आइपुगेका नेता कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने वेला आएको बताएका हुन्।

नेता कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू देशलाई द्वन्द्वमा लाने खालको भएको आरोपसमेत लगाए। 

उनले कांग्रेसको नेतृत्वमा सरकार बन्न सके मात्रै लोकतन्त्र र राष्ट्रियतालाई बजबुत पार्न बल पुग्ने दाबी गर्दै कांग्रेसले प्रचण्डको विकल्प खोज्नुपर्ने बताए।

‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजाति दिवसको दिन हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भन्नुभयो । सुर्खेतमा एक–डेढ महिनाभित्र हामी डेढ–दुई लाख मान्छे सडकमा उतार्छौँ भन्नुभयो। यो देशको प्रधानमन्त्रीले दिने अभिव्यक्ति होइन। यो त गैरजिम्मेवार अभिव्यक्ति हो,’ उनले भने।

प्रधानमन्त्रीले जातीय राज्य दिन्छौँ भनेको केही दिनमा धरानमा घटना भएको उल्लेख गर्दै नेता कोइरालाले धरानको घटना धार्मिकजस्तो देखिए पनि जातीय भएको दाबी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले जाति–जातिबीच द्वन्द्व बढाउने बताए। 

‘नेपालमा पछिल्ला समय विभिन्न वहानामा द्वन्द्व फैलाउने प्रयास भइरहेको छ। त्यसमा प्रधानमन्त्रीले जुन कुरा राख्नुभयो त्यसले झनै अप्ठ्यारो पार्छ,’ नेता कोइरालाले भने। 

नेता काेइरालाले कांग्रेसकै समर्थनमा बनेको सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र पनि छलफल हुने बताए।

‘हामी देशकै ठूलो दल हौँ। हामीसँग ९० सिट छ। हामीले पनि ठोस निर्णय लिन सक्छाैँ। यसैगरी सरकार सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच भए कांग्रेसले प्रधानमन्त्री परिवर्तन गर्न लाग्नुपर्छ,’  उनले भने।

उनले सरकार परिवर्तन हुँदा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने पनि बताए।

 ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। र, दलको नेता देउवाजी हुनुहुन्छ। उहाँको विकल्प खोज्न हतार हुन्छ। कांग्रेसको नेतृत्वमा सरकार बन्दा देउवाजी नै प्रधानमन्त्री बन्नुहुन्छ। यसमा दुईमत छैन,’ नेता कोइरालाले भने।

यसअघि नेता कोइरालाले हेटौँडा उपमहानगरपालिका– ११ सरस्वतीमा रहेको बिपी वाटिकामा निर्माण गरिएको बिपी कोइरालाको अर्धकदको सनलिक अनावरण गरेका थिए। 

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतको उपस्थिति थियो।