१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ १३ आइतबार o९:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा उकालो लाग्दै डेंगु संक्रमणदर

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o९:१८:oo

काठमाडौंमा ४६३, भक्तपुरमा १७२ र ललितपुरमा १८५ जना डेंगु संक्रमित

काठमाडौं उपत्यकामा डेंगु संक्रमितको संख्या आठ सय नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा चार सय ६३ जना, भक्तपुरमा एक सय ७२ र ललितपुरमा एक सय ८५ जना डेंगु संक्रमित भएका छन् ।

पछिल्लो एक महिनामा उपत्यकाभित्र संक्रमणदर बढेको सरकारी तथ्यांकले देखाएको छ । अघिल्लो महिना अगस्टमा काठमाडौंमा तीन सय ३३ जना संक्रमित भएका थिए भने भक्तपुरमा एक सय १७ जना र ललितपुरमा एक सय ३६ जना संक्रमित थिए । हाल चलिरहेको महिना सेप्टेम्बरमा संक्रमितको संख्या थप बढ्न सक्ने भन्दै सतर्क र डेंगु संक्रमणबाट सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा प्रमुख अनुप बाँस्तोलाले मंसिरसम्म नै उपत्यकालगायत देशैभर डेंगु संक्रमण फैलने डर देखिएको बताए । उनले यसबारे पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताए । उनका अनुसार अझ गत वर्षदेखि त जाडो महिना पुसमा समेत डेंगु संक्रमित देखिएको थियो । ‘गत वर्ष काठमाडौंमा धेरै डेंगु देखियो, यसपटक बाहिरी जिल्लामा संक्रमितको संख्या बढी देखिएको छ, तर अब काठमाडौंको पालो आउन पनि सक्ने भएकाले यसबारे सावधानी हुनैपर्छ, डेंगु संक्रमण अहिले नै कम हुने होइन, यो समय संक्रमितको संख्या उकालो लाग्ने समय हो,’ उनले भने, ‘सरकारी रेकर्ड र परीक्षणको तथ्यांक हेर्दा हामीले बढेको पाउँछौँ ।’ फोहोर र सबैतिर पानी जम्ने गरेकाले पनि काठाडौंमा संक्रमण बढ्ने देखिएको हो । समुदाय र सरकारी निकाय थप जागरुक भए संक्रमण नियन्त्रण हुन सक्ने उनको भनाइ छ । गत वर्ष सबैभन्दा बढी काठमाडौंमा फैलिएको डेंगु यसपटक सुनसरीमा धेरै देखिएको छ । तर, काठमाडौंमा पनि पछिल्लो समय तीव्र बन्ने संकेत देखिएको छ ।

काठमाडौंका ठूला अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा सातजना, वीर अस्पतालमा तीनजना र त्रिवि शिक्षण अस्पतालमा ६ जना डेंगुका बिरामी उपचारका लागि भर्ना भएका छन् । अस्पतालमा आउने धेरैजसो बिरामी भर्ना नै गर्नुपर्ने खालका नहुने भएकाले घरमै पठाइने गरिन्छ । कतिपय त अस्पताल नै आउँदैनन् । वीर अस्पतालका मेडिसिन विभाग प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठले अहिले नै डेंगु संक्रमण उच्च बिन्दुमा नपुगे पनि बढ्न सक्ने जोखिम रहेको बताए । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी पनि डेंगु संक्रमण उच्च बिन्दुमा पुग्ने देखिएकाले रोकथामका लागि सरकारी निकाय र नागरिक समाज समयमै जागरुक हुनुपर्ने बताउँछन् । उनले लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नस्ट गर्नतर्फ ध्यान दिन आग्रह गरे । 

१४ जनाले गुमाइसके ज्यान
यस वर्ष डेंगु संक्रमणबाट हालसम्म १४ जनाको ज्यान गएको छ भने मृत्यु हुनेमा १२ जना उपत्यकाबाहिरका छन् । देशका ७५ वटै जिल्लामा संक्रमण फैलिएको छ । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ५४ मा संक्रमण देखिँदा ३२ जनाले ज्यान गुमाएका थिए । यसपटक पनि संक्रमणदर बढ्न सक्ने आकलन गरिएको छ । तर, यसको नियन्त्रणका लागि सरकारी र निजी तवरमा भएका प्रयास कमजोर देखिन्छन् । यो वर्ष सन् २०२३ का सुरुवाती पाँच महिना स्थिर रहेको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबन्दा जुनयता ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । 

सुनसरीमा मात्रै १४ हजार संक्रमित
यस वर्ष देशभर संक्रमितको संख्या २४ हजार आठ सय ४२ पुगिसकेको छ । पछिल्लो महिना सबैभन्दा बढी संक्रमित सुनसरीको धरान क्षेत्रमा देखिएका छन् । सुनसरीमा संक्रमितको संख्या १४ हजार दुई सय २८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मोरङमा दुई हजार दुई सय ५४, धादिङमा दुई हजार एक सय ९७, झापामा एक हजार तीन सय ६४, धनकुटामा तीन सय ७४, धनुषामा तीन सय ३१, संखुवासभामा ती सय ४२, कास्कीमा दुई सय ७९, कैलालीमा दुई सय ७६ लगायतमा संक्रमण देखिएको छ । अधिकांश जिल्लामा वर्षको सुरुवाती जनवरीदेखि अर्थात् पुसदेखि नै फाट्टफुट्ट संक्रमित देखिन थालेका थिए भने गर्मी बढेसँगै संक्रमितको संख्या पनि बढेको छ । 

अनुप बाँस्तोला प्रमुख, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा
उपत्यकालगायत देशैभर मंसिरसम्म नै डेंगु संक्रमण फैलने डर देखिएको छ । यसकारण पर्याप्त सावधानी अपनाउन आवश्यक छ । अझ गत वर्षदेखि त जाडो महिना पुसमा समेत काठमाडौंमा धेरै डेंगु संक्रमित देखिएका थिए । यसपटक बाहिरी जिल्लामा संक्रमितको संख्या बढी देखिएको छ । तर, अब काठमाडौंको पालो आउन पनि सक्ने अवस्था छ । डेंगु संक्रमण अहिले नै कम हुने होइन, यो समय संक्रमितको संख्या उकालो लाग्ने समय हो ।

ad
ad