१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

म्याच फिक्सिङ काण्डमा श्रीलंकाका सचित्र पक्राउ

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१३:oo

पूर्वराष्ट्रिय खेलाडी सचित्र सेनानायकेमाथि सन् २०२० को श्रीलंकाली प्रिमियर लिगमा दुई खेलाडीलाई प्रलोभनमा पारेको आरोप

श्रीलंकाली प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोपमा श्रीलंकाका पूर्वस्पिनर सचित्र सेनानायके पक्राउ परेका छन् । सन् २०२० को श्रीलंकाली प्रिमियर लिगमा दुई खेलाडीलाई खेल मिलेमतो गराउन राजी गरेको आरोपमा सचित्र पक्राउ परेका हुन् । श्रीलंकाली प्रहरीले म्याच फिक्सिङको मुख्य अभियोगमा सचित्रलाई शुक्रबार अदालतसमक्ष उपस्थित गराउने एजेन्सीले जनाएको छ । तीन वर्षअघिको लिगमा सचित्र कुनै पनि क्लबमा आबद्ध थिएनन् । तर, उनले खेलाडीलाई लोभ्याउन प्रयास गरेको प्रहरीको भनाइ छ । उनले श्रीलंकामा नभएर बाहिर देशबाट दुई खेलाडीलाई फकाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । प्रहरीले दुई खेलाडीको नाम गोप्य राखेको छ । सचित्रले दुबईबाट खेलाडीलाई लोभ्याएका थिए । 

सन् २०१९ को कानुन लागू
श्रीलंकाका खेलाडी वेलावेलामा फिक्सिङ काण्डमा मुछिने गर्छन् । तर, सरकारले म्याच फिक्सिङ सम्बन्धमा लामो समयसम्म कानुन बनाउन सकेन । सन् २०१९ मा सरकारले राजनीतिदेखि खेलकुदसम्म भ्रष्टाचार रोक्न एउटा विशेष कानुन बनाएको थियो । जसमा खेल भावनाविपरीत कार्य गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउने उल्लेख छ । ‘कुनै पनि खेलका खेलाडीले नतिजा प्रभावित पार्न सक्ने काम गरे म्याच फिक्सिङ मानिनेछ, उसलाई तत्काल कानुनबमोजिम पक्राउ गर्न सकिन्छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीले यही कानुनको धारा अपनाउँदै सचित्रलाई पक्राउ गरेको हो । 

बलिङ एक्सनमा प्रतिबन्ध
श्रीलंकाबाट ४९ एकदिवसीय खेल खेलेका सचित्र बलिङ एक्सनका कारण दुईपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा परेका थिए । सन् २०१४ मा उनको बलिङ एक्सन नियमअनुसार नभएको जनाउँदै आइसिसीले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा पर्नुअघि उनले टी–२० विश्वकप खेलेका थिए । श्रीलंकाले त्यही वर्ष नै आइसिसी टी–२० विश्वकप जितेको थियो । विश्वकप च्याम्पियन टोलीका सदस्य रहेका सचित्र सन् २०१३ मा इन्डियन प्रिमियर लिग (आइपिएल) को कोलकाता नाइट राइडर्समा आबद्ध थिए । त्यसवेला कोलकाताले उनलाई भिœयाउन ६ लाख २५ हजार अमेरिकन डलर खर्चेको थियो । एकदिवसीय खेलमा उनले ५३ विकेट लिएका थिए । २४ अन्तर्राष्ट्रिय टी–२० मा उनको नाममा २५ विकेट रहेको छ । सन् २०१५ को डिसेम्बरमा उनले अन्तिमपटक श्रीलंकाबाट एकदिवसीय खेल खेलेका थिए । सन् २०१३ मा उनले एकपटक मात्र टेस्ट खेले । 
 

ad
ad