मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २२ शुक्रबार ०९:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको  उमेर स्पष्ट हुने थप कागजात झिकाउने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २२ शुक्रबार ०९:०९:००

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीको उमेर स्पष्ट हुने थप कागजात झिकाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको हो । 

जिल्ला अदालतका अनुसार काठमाडौंको एक स्थानीय तहबाट बसाइँ सरी गएकी ती किशोरीसँग सम्बन्धित कागजात उक्त स्थानीय तहबाट मगाइएको हो । ती किशोरीको परिवार १५ माघ ०६९ मा बसाइँसराइ गरी नुवाकोट गएको थियो ।  बिहीबार झिकाइएका कागज एक साताभित्र पेस गर्न र निरन्तर सुनुवाइ गर्ने आदेश न्यायाधीश कार्कीको इजलासबाट भएको छ । अर्को पेसी २६ भदौका लागि तोकिएको छ । 

यसअघि अदालतले नुवाकोटस्थित स्थानीय तहसँग किशोरीको उमेर खुल्ने कागजात झिकाएको थियो । साथै, पीडितकी आमाको उमेर स्पष्ट हुने कागजसमेत झिकाउने आदेश भएको थियो ।

क्रिकेटर लामिछानेमाथि गत वर्ष २१ भदौमा गौशाला प्रहरीमा किटानी जाहेरी परेको थियो । १७ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिका बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत पाटनले भने २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।