१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:१७:oo
Read Time : > 5 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चर्चामै सीमित कोरला नाका

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:१७:oo

चीनले पूर्वाधार निर्माण सक्दा नेपालतर्फ एकीकृत भन्सार बनाउन बल्ल माटो परीक्षण

उपल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाका सञ्चालन गर्ने नेपाल–चीनबीचको सम्झौता चर्चामै सीमित बनेको छ । कोरला नाका सञ्चालनको सम्भावना र आवश्यकताको अध्ययनका लागि संघ सरकार र प्रदेश सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले अवलोकन गरे पनि नेपालले नाका सञ्चालनको पूर्वाधार निर्माणको काम नै सुरु गर्न सकेको छैन । 

नेपालसँग कोरलालगायत विभिन्न थप आठ नाका खोल्ने सम्झौता भएपछि चिनियाँ पक्षले कोरला नाकासम्म सडक कालोपत्रे गरेको छ । त्यसबाहेक बन्दरगाह, सुरक्षा पोस्ट, भन्सार स्थापना गरेको छ भने आफ्नो भूमिमा तारबार गरेको छ । गत साता मात्रै चिनियाँ पक्षबाट ठेकेदारमार्फत निर्माण गरेको सम्पूर्ण पूर्वाधार निर्माणको काम सरकारलाई हस्तान्तरण भइसकेको सन्देश आएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले बताए । ‘चीन नाका खुलाउन तयार छ, हाम्रोतर्फ भर्खर माटो परीक्षण भएको छ, अब कहिले डिपिआर बन्ने हो, कहिले ठेक्का लाग्ने र कहिले पूर्वाधार बन्ने हो ? टुंगो लागेको छैन,’ अध्यक्ष गुरुङले भने । 

मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारमार्फत नाका सञ्चालनका लागि आवश्यक पहल गरिरहेको जानकारी दिए । मुख्यगरी नाका खुलाउन भौतिक पूर्वाधार तयार गर्न र कूटनीतिक रूपमा दुई देशबीचको पारवहन सम्झौतालाई कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायमा पहल भइरहेको उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०१६ मार्चमा भएको चीन भ्रमणका वेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो । 

कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि करिब हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएपछि हालै मात्र माटो परीक्षण गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरका लागि बजेट विनियोजन भएपछि माटो परीक्षण भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए । माटो परीक्षणको रिपोर्ट आएपछि डिपिआरलगायतको काम अघि बढ्ने जानकारी पाएको प्रजिअ केसीको भनाइ छ । ट्रेसेबल मेजरमेन्ट कम्पनीले भू–प्राविधिक परिचालन गरेर दशगजाको नेपालतर्फको भूभागलगायत पूर्वाधार बनाउन अधिग्रहण भएको जग्गाको माटो परीक्षण गरेको हो । कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरी चौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको बिओपी पोस्ट स्थापना भइसकेको छ । 

कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाको मुस्ताङ खण्डको काम अन्तिम चरणमा पुगेको छ । घाँसादेखि जोमसोम हुँदै कोरला नाका जोड्ने सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको क्रममा छ भने विभिन्न खोलामा मोटरेबल पुल निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको छ । चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाको म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको घाँसा खण्डको काममा भने ढिलासुस्ती भएको छ । निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो र नदी कटानको कारण म्याग्दी खण्डमा सडक कालोपत्रे गर्ने काम प्रभावित बनेको छ । पारवहन र व्यापारिक हिसाबले महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी करिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । 

२४ नम्बरको पिलर एक्लो पूर्वाधार
उपल्लो मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाका

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिलर ठडिएको छ । नेपाल–चीनको सिमानामा पर्ने कोरला नाकाको यो पिलर नै नेपालतर्फको एक मात्रै देखिने चिनारी र पूर्वाधार हो । पिलरको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाइरहेको छ । नेपाल र चीनबीच भएको नाका खुलाउने सम्झौताअनुसार ‘कोरला नाका’मा चिनियाँ पक्षले भन्सारलगायत प्रयोजनका लागि विशाल भवन निर्माण गरिसकेको छ । सिमानामा आफ्नो देशको राष्ट्रिय झन्डा फहराउँदै चीनले सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिसकेको छ । तर, नेपाली पक्षबाट भने पूर्वाधार निर्माण सुरुसमेत हुन सकेको छैन ।

परम्परागत रूपमा कोरला नाकामा अर्धवार्षिक रूपमा व्यापार मेला लाग्दै आएको छ । अहिले वर्षमा दुईपटक मात्रै मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँले सामान आयात र निर्यात गर्दै आएका छन् । यस वर्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला लगाउन इच्छा देखाएका छैनन् । 

चीनले व्यापार मेलाभन्दा पनि नियमित रूपमै नाका खुलाउन चाहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । हरेक वर्षको भदौ र जेठमा मुस्ताङीलाई लक्षित गरेर एकदेखि दुई साताको समयावधिका लागि अल्पकालीन व्यापार मेलाका रूपमा नाका सञ्चालन हुँदै आएको छ । कोरोना महामारीपछि चिनियाँ पक्षले व्यापार मेलासमेत खुलाएको छैन । व्यापार मेलाबाट मुस्ताङवासीले निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडालगायत सामग्री आयात गर्छन् भने यार्सालगायत जडीबुटी निर्यात गर्छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा कोरला नाकालाई पनि एजेन्डा बनाउन प्रदेशका उद्योग–व्यवसायीले माग गरेका छन् । चीनले सिगात्सेसम्म रेल ल्याइसकेकाले कोरला नाका जोड्न अब ६ सय किलोमिटर मात्र बाँकी रहेको अवस्थामा कोरला नाका छिटोभन्दा छिटो सञ्चालन गर्न, पोखरा विमानस्थलमा चीनबाट व्यावसायिक रूपमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न र पोखरामा चीनको महावाणिज्य दूतावास स्थापना गर्न यहाँका व्यवसायीको माग छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरला नाका खोल्दा पोखरासँगै गण्डकी र समग्र देशको आर्थिक क्षेत्र चलायमान हुने बताए । 

किमाथांका नाका खुलाउने विषयमा चीन सकारात्मक छ : परराष्ट्रमन्त्री 

संखुवासभा/परराष्ट्रमन्त्री एनपी साउदले किमाथांका नाका खुलाउने विषयमा चीन सकारात्मक रहेको बताएका छन् । बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले संखुवासभाको उत्तरी चीनसँगको सीमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीनसँग पटक–पटक कुराकानी भइरहेको बताए । आगामी २३ सेटेम्बरदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा किमाथांका नाका खुलाउने विषय एजेन्डामा राखिएको उनले जानकारी दिए ।

मन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउँदै एक–आपसमा व्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत् र सहरीकरणलगायतको विकास योजनाका लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए । ‘चीनसँग विद्युत्को ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने विषयमा पनि अघि बढेको छ । किमाथांका नाकालाई सहरीकरण बनाउनेलगायत थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौँ, यो विषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ,’ उनले भने । मन्त्री साउद भारतीय दूतावासको सहयोगमा निर्मित खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन गर्न आएका हुन् । 

प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा उरै नाका पनि समावेश गर्न माग

सुदूरपश्चिमका व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी महिना हुने चीन भ्रमणको एजेन्डामा बझाङको उरै नाका सञ्चालनको विषयलाई समावेश गर्न माग गरेका छन् । चीनसँग जोड्ने उरै नाका सञ्चालनको विषयलाई भ्रमणको एजेन्डामा समावेशका लागि पहल गरिदिन व्यवसायीहरूले सुदूरपश्चिम प्रदेश सरकारसँग पनि आग्रह गरेका छन् ।

उरै नाका सञ्चालनमा ल्याउन सके उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको आर्थिक समृद्धि हासिल गर्न सकिने उनीहरूको भनाइ छ । उरै नाकाले भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दूरीमा जोड्ने भएकाले यसलाई त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना रहेको व्यवसायीहरूले औँल्याएका छन् ।

कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्प कुँवर यो नाका सञ्चालन हुन सकेमा पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमै महत्वपूर्ण योगदान पुग्न सक्ने बताउँछन् । सुदूरपश्चिमको समग्र विकासका लागि चीनसँगका नाका खोल्नेसँगै भारतसँगका नाकाहरूको स्तरोन्नति आवश्यक रहेको उनले बताए । ‘उरै नाका खोल्न सके ‘कनेक्टिभिटी’ बढ्छ, व्यापारिक कारोबारमा सहज हुन्छ । यहाँको औद्योगिक विकासमा सहयोग पुग्छ,’ कुँवरले भने, ‘नाका खुलाउनेतर्फ सरकारको ध्यान जानुपर्छ ।’ उत्तर र दक्षिणतिरका नाकाहरू खोल्न सके सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उरै नाकाको विषय उठाउन आग्रह गरिएको उनले बताए । 

करिब हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएको ठानिएको यो नाका कोरोनायता प्रवेश निषेध गरिएको छ । बझाङको चैनपुरदेखि उरैसम्म जोड्ने सडक निर्माण हुन सकेको छैन । चैनपुरदेखि उरैसम्म एक सय १७ किलोमिटरमध्ये हालसम्म ४० किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम पूरा भएको छ । 

सरकारले कैलालीको टीकापुरदेखि बझाङमा चीनतर्फको ताक्लाकोट जोड्ने सडकलाई सेती लोकमार्गका रूपमा अगाडि बढाएको छ, तर डेढ दशकसम्म ट्र्याक खोल्ने कामसमेत पूरा भएको छैन । त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो यहाँका स्थानीयको छ ।

उरै नाकाको विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणको एजेन्डामा राख्न आवश्यक पहल गर्न आग्रह गर्दै व्यवसायी तथा व्यावसायिक संघ–संस्थाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश समिति, जिल्ला समिति, नाटा सुदूरपश्चिमलगायत व्यावसायिक संघसंस्था तथा व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

पर्यटन व्यवसायीहरूको संस्था नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले उरै नाका खोल्न सके सुदूरपश्चिमको पर्यटन विकासले छलाङ मार्ने बताए । उरै नाका खुले चीनको मानसरोवर जाने हजारौँ भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्र्याउन सकिने उनको भनाइ छ । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उरै नाकालाई एजेन्डामा राख्न प्रदेश सरकार आफैँले पनि पहल गर्नुपर्ने हो,’ सिंहले भने, ‘हामीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह गरेका छौँ ।’

म्याग्दीमा कमल खत्री, कास्कीमा रोहितराज पराजुली, संखुवासभामा नवीन गुरुङ र धनगढीमा तेजराज भट्ट

ad
ad