लमजुङको दोर्दी गाउँपालिकामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत् आयोजनाले खोलामा १० प्रतिशत पानी छाड्ने भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा दोर्दी करिडोरभित्र सञ्चालित जलविद्युत् आयोजनाको सञ्चालक प्रतिनिधिबीचको बैठकले हिउँदको समयमा सबै पानी जलविद्युत् उत्पादनका लागि मात्रै नभई १० प्रतिशत खोलामा छाड्ने सहमति गरेको हो ।
बैठकले दोर्दी गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनाको क्षमताका आधारमा आर्थिक सहयोग गर्ने र दोर्दी गाउँपालिकाको नेतृत्वमा वातावरणविज्ञसँग सहकार्य गरी दोर्दी खोला, छ्याङ्दी खोला र किसेदी खोलामा माछाका भुरा छाड्ने निर्णय गरिएको छ ।हिउँदको सुक्खायाममा सबै पानी विद्युत् उत्पादनमा प्रयोग गरेको र खोलामा रहेका जलचरको विनाश भएको भन्दै गुनासो बढ्न थालेपछि आयोजनाहरूले हिउँदयाममा कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्ने भएका हुन ।
जलविद्युत् आयोजनाले आइइई र इआइएए रिपोर्टअनुसार १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने उल्लेख छ । दोर्दी करिडोरमा ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना, चार मेगावाटको माथिल्लो छन्दी खोला जलविद्युत् आयोजना र दुई मेगावाटको छन्दी खोला जलविद्युत् आयोजना गरी ६ वटा जलविद्युत् आयोजनाबाट एक सय २४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।