१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तेल अपचलनमा संलग्न व्यवसायी जमरकट्टेल हिरासतमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१८:oo

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयबाट तीन हजार लिटरभन्दा बढी डिजेल अपचलन घटनामा दोषी पेट्रोलपम्प व्यवसायी तथा ट्यांकरधनी बाबुराम जमरकट्टेल प्रहरी हिरासतमा रहेका छन्।

बिहीबार कास्की प्रहरीसमक्ष आत्मसमर्पण गरेका जमरकट्टेललाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेस गरी पाँच दिन म्याद थप गरी न्यायिक हिरासतमा राखेको हो। उनी अपचलन गरिएको डिजेल ढुवानीमा प्रयोग गरिएको ग.२ख ८३६ नम्बरको ट्यांकरधनी तथा सो तेल किनेर लैजाने पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोलपम्पका सञ्चालक हुन् । निगमले २६ साउनदेखि जमरकट्टेलको पम्पमा तेल ढुवानी रोकेको छ ।

व्यवसायी जमरकट्टेल समातिए पनि निगमको पोखरास्थित तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दास भने अझै फरार छन् । व्यवसायी जमरकट्टेल र दासविरुद्ध प्रहरीले ३० साउनमा पक्राउ पुर्जी जारी गरेको थियो ।  

गत २५ साउनमा निगमको पोखरा डिपोबाट १२ हजार लिटर डिजेल खरिद गरेर पोखरा–२७ स्थित पश्चिमाञ्चल ट्रेडर्समा लाँदै गरेको ट्यांकरमा तीन हजार दुई सय लिटर डिजेट बढी रहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले समातेको थियो । प्रहरी थुनामा रहेका जमरकट्टेल लेखनाथ उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । उनी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्यसमेत हुन् ।  

घटनापछि जिल्ला प्रशासन कार्यालय कास्कीले भष्ट्राचार निवारण ऐनसँग सम्बन्धित रहेको भन्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयलाई २६ साउनमा लेखिपठाएको थियो भने आवश्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हंसपुरलाई लेखिपठाएको थियो । अहिले घट्नाका सम्बन्धमा अख्तियारसँगै हंसपुर प्रहरीले समेत अनुसन्धान जारी राखेका छन् ।

हंसपुरका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार जिल्ला प्रशासनको पत्रपछि कार्यालयले प्रारम्भिक अनुसन्धान सकेर २९ साउनमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को दफा २५२ बमोजिमको कसुरअन्तर्गत आपराधिक विश्वासघात (ठगी) शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेकोे थियो ।

प्रहरीले मुद्दा दर्ता गरेपछि अदालतले ३० साउनमा चारजनालाई पक्राउ गरी थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुमति पाएपछि सोही दिन घट्नामा संलग्न रहेको आरोपमा गण्डकी धौलागिरि पोट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव ५१ वर्षका जगन्नाथ ढुंगानलाई र ट्यांकरका चालक २८ वर्षका निर्मल थापालाई २९ साउनमा प्रहरीले पक्राउ गरेको थियो । 

दाहालका अनुसार घट्नामा संलग्न भएको आरोप लागेका तीनजना न्यायिक हिरासतमा रहेकाले उनीहरूलाई कानुनी हदम्यादभित्र अदालत लैजाने तयारी भएको छ । ढुंगाना र थापालाई आउँदो दुई–तीन दिनभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । 

स्रोतका अनुसार घटनापछि दाहाल र जमरकट्टेल करिब एक साता पोखरामै लुकेर बसेका थिए । त्यसपछि दास भारततर्फ गएको स्रोतको भनाइ छ । उनलाई भारततर्फ लगेर लुकाउन आयल निगमका उच्चपदस्थ कर्मचारीसमेत क्रियाशील भएको स्रोतले बतायो । नियमित रूपमा डिपोमा रकम बुझाएको भन्दा बढी तेल लैजाने गरेका जमरकट्टेलले करिब १० लाख रुपैयाँ दासलाई बुझाउन बाँकी नै रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

जमरकट्टेललाई बचाउन उच्चपदस्थको दबाब                                                                
तेल अपचलनमा दोषी भेटिएका पम्प व्यवसायी बाबुराम जमरकट्टेललाई बचाउन राष्ट्रपति कार्यालयदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसम्म क्रियाशील भएका छन् । जमरकट्टेलले आफ्ना ससुरा कमल पंगेनीमार्फत राष्ट्रपति कार्यालय दुरुपयोग गर्न लगाइरहेका छन् । कास्की घर भएका पंगेनी राष्ट्रपति रामचन्द्र पौडेलका घनिष्ट मित्र हुन् । उनीहरू क्याम्पस पढ्दादेखि नै राजनीति सुरु गरेका नजिकका साथी भएको स्रोतको भनाइ छ ।

तेल अपचलन घटनाबारे अनुसन्धान गरिरहेका कार्यालयलाई राष्ट्रपति र गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट दबाब आइरहेको एक कर्मचारीले बताए । ‘हामीलाई सुरुदेखि नै जमरकट्टेललाई बचाउन राष्ट्रपति कार्यालयदेखि गण्डकी मुख्यमन्त्री कार्यालयसम्मको दबाब आएको छ, दबाबका कारण निकै तनावमा हामीले काम गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने, ‘तैपनि, हामी अनुसन्धानमा जे देखिन्छ, सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने गरी काम गरिरहेका छौँ ।’

ad
ad