१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगम पोखरा डिपोको भ्रष्टाचार छानबिन गर्दै अख्तियार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५o:oo

नेपाल आयल निगमको कास्की गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले छानबिन अघि बढाएको छ । निगमको कार्यालयका निलम्बित डिपो प्रमुख चित्तरञ्जन दासले २५ साउनमा तीन हजार लिटरभन्दा बढी डिजेल अपचलन गरेको घटना सार्वजनिक भएपछि अख्तियारले ३२ साउनमा छानबिन समिति बनाई अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा निगमको पोखरा डिपोभित्र थप अनियमितता भएको उजुरी परेपछि अख्तियारले सबै प्रकारका भ्रष्टाचारको अनुसन्धान अघि बढाएको हो ।

अख्तियारको पोखरा कार्यालयले ३ भदौमा निगमको पोखरास्थित कार्यालयलाई दुई पेजको पत्र पठाउँदै तेल अपचलनसँगै अन्य उजुरी परेका भ्रष्टाचारजन्य गतिविधिको कागजात माग गरेको छ । अख्तियारले १५ दिनभित्र माग गरिएका कागजात उपलब्ध गराउन निर्देशन पनि दिएको छ ।

२५ साउनमा तोकिएभन्दा बढी डिजेल लैजाँदै गरेको अवस्थामा ट्यांकर समातिएको विषयमा निगमको पोखरा डिपोको प्रतिक्रियासहित सबै कागजात माग गरेको छ । उक्त दिन १२ हजार लिटर डिजेलको बिल बनाई पैसा भुक्तानी भएको ट्यांकरमा निगमको तत्कालीन डिपो प्रमुख दासको अग्रसरतामा १५ हजार दुई सय लिटर डिजेल हालेर पठाएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, कास्कीको टोलीले समातेको थियो । सो घटनमा प्रहरीले समेत अनुसन्धान अघि बढाई तत्कालीन डिपो प्रमुख दास र ट्यांकरधनी बाबुराम जमरकट्टेलविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । 

त्यस्तै, निगमको पोखरा डिपोभित्रको प्रशासनिक खर्चमा हुने भ्रष्टाचारबारे पनि अख्तियारले छानबिन अघि बढाएको छ । कार्यालयले कुन शीर्षकमा कति बजेट राखेको, कति खर्च गरेको र के–कसरी खर्च गरेको भन्ने विषयमा विस्तृत खुल्ने गरी निगमसँग कागजात मागेको छ । निगमको सबै डिपोमा करोडौँका मर्मत तथा सेवासम्बन्धी काम पाँच–पाँच लाख रुपैयाँ कोटेसनबाट गर्ने गरिएको उजुरी पनि अख्तियारमा परेको छ । सो उजुरीपछि पाँच–पाँच लाखमा काम गरेका सबै फर्म र कार्यको विवरण मागेर अनुसन्धान अघि बढाइएको छ ।

सार्वजनिक खरिद ऐन, ०६३ र सोको विनियमावलीले पाँच लाखसम्मको कार्य गर्दा सार्वजनिक सूचनाविनै तीनवटा कम्पनीसँग लागत अनुमान माग गर्न सक्ने व्यवस्था गरेको छ । निगमको पोखरा डिपो प्रमुख रहँदा दासले यस्तो व्यवस्थाको दुरुपयोग गरी आफूनजिकका व्यक्तिसँग तीनवटा कम्पनीबाट लागत अनुमान माग गर्ने र सोही व्यक्तिलाई पाँच लाखसम्मको कोटेसनको काम गर्न दिई भ्रष्टाचार गरेको अख्तियारको आशंका छ । यसरी पाँच लाखसम्मको भुक्तानी गरे पनि ययार्थमा दुई–तीन लाखभन्दा बढीको काम नहुने गरेको अख्तियारमा उजुरी छ ।निलम्बन प्रमुख दासले मर्मत, रंगरोगनलगायतका काम गर्दा आफ्नो गृहजिल्ला सिराहाका ठेकेदारहरूसँग मिलेमतो गरेको उजुरीमा पनि अख्तियारले छानबिन थालेको छ । 

 केन्द्रीय कार्यालयका हाकिमलाई खुसी बनाउन पाँच सय किलो माछा 
आयल निगमको पोखरा डिपोका निलम्बित प्रमुख चित्तरञ्जन दासले हाकिम खुसी बनाउन पोखराको विभिन्न तालको माछा खुवाउने गरेका थिए । उनले पोखराको बेगनास ताल तथा स्थानीय नदीको स्वादिलो माछा भन्दै केन्द्रीय कार्यालयका निर्देशक र ट्रेड युनियनका पदाधिकारीलाई पाँच सय किलो माछा खुवाएको अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढाइएको छ ।

‘निगमको केन्द्रीय कार्यालयमा रहेका निर्देशक, ट्रेड युनियनका पदाधिकारीलाई पोखराको भन्दै गाडी रिजर्भ गरी करिब पाँच सय किलो माछा केन्द्रीय कार्यालयको हातामा वितरण गरेको भन्ने सम्बन्धमा स्पष्ट प्रतिक्रिया तथा व्यहोरा खुलाई पठाइदिनु’ अख्तियारले लेखेको पत्रमा भनिएको छ । 

साथै, दासले बढी तेल बिक्री गर्दा प्राप्त हुने रकम केन्द्रीय कार्यालयका हाकिमहरूलाई समेत दिने हुँदा उनीहरू खुसी रहेको भन्दै नियमित रूपमा तेल अपचलन गरेको विषयमा पनि अख्तियारले छानबिन अघि बढाएको छ ।

 अख्तियारले छानबिन थालेको मुख्य ९ विषय

  •  तोकिएभन्दा ३२ सय लिटर तेल अपचलन गरेको
  •    प्रशासनिक खर्चमा भ्रष्टाचार गरेको
  •    पाँच लाखको कोटेसनमा काम गर्दा नक्कली कम्पनी खडा गरी भ्रष्टाचार गरेको
  •   आफ्नै गृहजिल्ला सिराहाका ठेकेदारमार्फत मर्मतको काम गरेको
  •    काम सम्पन्न नभई पाँच लाख रुपैयाँसम्मको कोटेसनमा अग्रिम भुक्तानी दिएको
  •    जिल्ला दररेटभन्दा बढी दरको लागत अनुमान गरी गेट निर्माण गरेको
  •    एक वर्षअघि रंगरोगन गरिएको कार्यालयको सामग्री पुनः रंगरोगन गराई भ्रष्टाचार गरेको
  •   सवारीसाधनमा प्रयोग गर्ने इन्धन सुविधासमेत दुरुपयोग गरेको
  •    निगमको निर्देशक र टे«ड युनियनका पदाधिकारीलाई पोखराको माछा भन्दै पाँच सय किलो माछा केन्द्रीय कार्यालय हातामै वितरण गरेको 
ad
ad