
विश्वमा पहिलोपटक अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा जिउँदो किरा भेटिएको छ । आठ सेन्टिमिटर लामो रातो रंगको गँड्यौलाजस्तो देखिने उक्त किरा ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मस्तिष्कमा जिउँदो किराका कारण ती महिलामा टाउको दुख्ने, रातको समयमा पसिना आउनेदेखि डिप्रेसनजस्ता समस्या देखिएका थिए । त्यस्तै उनले पछिल्लो समय ससना कुरा पनि बिर्सिंदै जान थालेकी थिइन् । ती महिलाको मस्तिष्कमा दुई महिनादेखि सो किरा बसिरहेको हुन सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् ।
यस्ता किरा प्रायः अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामको सर्पको प्रजातिमा पाइने अनुसन्धाताले बताए । वैज्ञानिकहरूले तालको छेउमा बस्ने ती महिलाले तालवरपरको सागसब्जी खाने क्रममा सो किरा उनको शरीर र पछि मस्तिष्कमा पुगेको हुन सक्ने बताएका छन् । सागसब्जीमा सर्पको बिस्टा वा किराको अन्डा रहेको र महिलाले तिनको सेवन गर्दा ती शरीरमा प्रवेश गरेको आकलन गरिएको छ । ती महिलाको शल्यक्रियापछि स्वास्थ्यमा राम्रो सुधार भएको पनि चिकित्सकले बताए ।