१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

को हुन् रिपब्लिकन पार्टीभित्र ट्रम्पका प्रमुख प्रतिस्पर्धीका रूपमा उदाइरहेका रामास्वामी ?

राष्ट्रपति चुनावलक्षित पहिलो रिपब्लिकन बहसमा विवेक रामास्वामीको प्रस्तुति ट्रम्पकै झल्को दिने खालको छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३२:oo

विवेक रामास्वामी अर्को डोनाल्ड ट्रम्प हुन चाहन्छन् । बाहिरबाट आएर राजनीतिक संस्थापनलाई हल्लाइदिने र राष्ट्रपति चुनाव जितेर सो पदबाट उग्र दक्षिणपन्थी एजेन्डालाई प्रचारप्रचार गर्ने नेता हुन् उनी । ‘म आजका ट्रम्पभन्दा धेरै सन् २०१५ का ट्रम्पजस्तो देखिन्छु,’ रामास्वामीले यही महिना ब्रिटिस अभिनेता तथा पोडकास्ट सञ्चालक रसेल ब्रान्डसँगको अन्तर्वार्तामा भने । जवाफमा ब्रान्डले ठट्टा गर्दै उनलाई ‘ट्रम्पभन्दा बढी ट्रम्पपन भएको, ट्रम्पपनमा ट्रम्पलाई उछिन्ने’ नेता बताए । सो अन्तर्वार्ताको दुई सातापछि सन् २०२४ को राष्ट्रपति चुनावलक्षित पहिलो रिपब्लिकन बहसमा रामास्वामीको प्रस्तुति ट्रम्पकै झल्को दिने खालको थियो । उनले मञ्चमा उभिएका आफ्ना प्रतिद्वन्द्वीको आलोचना मात्र गरेनन्, आक्रमणमा आनन्द लिइरहेका थिए र नौलो नीतिगत प्रस्ताव प्रस्तुत गरिरहेका थिए । 

रामास्वामीको प्रस्तुतिले उनी एकाएक अमेरिकाभरका राजनीतिक विश्लेषक तथा मिडिया टिप्पणीकारका नजरमा परे । धेरै अमेरिकी मिडियाले रामास्वामीलाई पहिलो रिपब्लिकन उम्मेदवारबीचको बहसको विजेता बताएका छन् । ‘रामास्वामीका लागि बहस निकै राम्रो भयो । उनी धेरै विषयमा हाबी भए भने आफ्ना असन्तुष्टि प्रभावकारी रूपमा राख्न सफल भए,’ बहसपछि रिपब्लिकन विश्लेषक जोन फिहेरीले भने । रामास्वामीले पाइरहेको प्रशंसामाझ उनले अघि सारेका नौला विचारको पनि चर्चा सुरु भयो । उदारवादीहरूले तिनलाई खतरनाक बताएका छन्, अरूले अव्यावहारिक । उनले अघि सारेका नीतिमा खनिज इन्धनको प्रयोगलाई बढावा दिनेदेखि मेक्सिकोबाट अमेरिका ड्रग्स भिœयाउने डिलरविरुद्ध सैन्य अभियान चलाउनेसम्मका विषय छन् । 

पहिलो बहसमा राम्रो प्रस्तुति दिए पनि मतसर्वेक्षणमा रामास्वामी ट्रम्पभन्दा धेरै पछाडि छन् । तथापि उनको तीव्र उदयले रिपब्लिकन पार्टी राजनीतिक अनुभव नभएको तर नयाँ र कट्टर विचार प्रस्तुत गर्ने उम्मेदवारलाई समर्थन गर्न तयार रहेको इंगित गर्छ । कुनै वेला रिपब्लिकन पार्टीका कंग्रेसम्यान (सांसद) रहेर हाल सो पार्टीका आलोचकमा बदलिएका जो वाल्सले शुक्रबार सामाजिक सञ्जालमा गरेको पोस्टमा रिपब्लिकनहरूले अहिले एक ‘धाकधम्की दिन सक्ने’ वा ‘अधिनायकवादी’ नेतालाई राष्ट्रपति उम्मेदवारको खोजिरहेको आरोप लगाए । उनले भने, ‘त्यो भनेको ट्रम्पले विगतमा गरेकोजस्तै काम हो, भलै त्यसका लागि ट्रम्प स्वयं आवश्यक नपर्ने देखिएको छ । अब ट्रम्पको काम बाँकी दुई उम्मेदवार फ्रोरिडाका गभर्नर रोन डिसेन्टिस र रामास्वामीले पनि गर्न सक्ने देखिएका छन् । अरू त छेउमा पनि आउँदैनन् ।’

पहिलो मिडिया बहसमा राम्रो प्रस्तुति दिए पनि मतसर्वेक्षणमा रामास्वामी ट्रम्पभन्दा धेरै पछाडि छन् । तथापि उनको तीव्र उदयले रिपब्लिकन पार्टी राजनीतिक अनुभव नभएको, तर नयाँ र कट्टर विचार प्रस्तुत गर्ने उम्मेदवारलाई समर्थन गर्न तयार रहेको इंगित गर्छ ।

सफल व्यवसायी 
भारतबाट अमेरिका आप्रवासीका रूपमा आएका अभिभावकबाट ३८ वर्षअघि ओहायोमा जन्मिएका रामास्वामी सफल व्यवसायी हुन् । उनले औषधि उद्योग र बायोटेक (जैविक प्रविधि)बाट करोडौँ डलर आर्जन गर्न सफल भए । सन् २०२१ मा उनले लेखेको ‘ओक, इन्क’ पुस्तकले उनलाई दक्षिणपन्थी वृत्तमा परिचित बनायो । पुस्तकमा उनले दिगो तथा समतामुखी व्यावसायिक नीतिको विरोधमा शब्द खर्चेका छन् । पुस्तकले चर्चा पाउन थालेपछि उनी दक्षिणपन्थी मिडिया ‘फक्स न्युज’मा देखिन थाले, जहाँ उनले मुख्यतः उदारवादीहरूको पहिचानको राजनीतिमाथि आक्रोश पोखेको देखिन्थे ।

रामास्वामीले रिपब्लिकनभित्र बढ्दै गएको सकारात्मक विभेदको नीतिप्रतिको आक्रोशलाई पक्रन खोजेका छन् । रामास्वामी ‘मेरिटोक्रेसी (उत्कृष्टतामा आधारित प्रणाली)’लाई विविधता बढाउने नाममा नश्लमा आधारित गर्न नहुने तर्क गर्छन् । ‘सकारात्मक विभेद पनि विभेद नै हो,’ उनी बारम्बार भन्ने गर्छन् । 

रामास्वामी पछिल्लो समय नियमित रूपमा मिडिया बहसमा देखिने भए पनि उनले राष्ट्रपतिको उम्मेदवारी दिँदा थोरै अमेरिकीले मात्र उनलाई नामले नै चिन्न सक्थे । तर, केही मिहिनाभित्रै उनले आफूलाई अपरिचित रिपब्लिकन राष्ट्रपतीय उम्मेदवारबाट ट्रम्पपछि दोस्रो स्थानका लागि डिसेन्टिससँग प्रतिस्पर्धा गर्ने उम्मेदवार बनाइसकेका छन् । ‘धेरै अमेरिकीलाई वासिंटनका राजनीतिक समस्यालाई कुनै बाहिरियाले पसेर ठिक गर्ने भाष्यले आकर्षित गर्छ । रिपब्लिकन पार्टी त्यो बाहिरिया सफल व्यवसायी छ भने त झनै आकर्षक हुन्छ,’ जर्ज वासिंटन विश्वविद्यालयका राजनीतिक व्यवस्थापन कार्यक्रमका निर्देशक प्राध्यापक टोड बेल्टले भने । 

के छन् उनका नीति ? 
रामास्वामीले आफ्नो चुनावी अभियानमा १.५ करोड डलर व्यक्तिगत रकम हालेको संघीय चुनाव रेकर्डले देखाउँछ । धाराप्रवाह भाषण गर्ने क्षमता भएका रामास्वामी सधैँ हाँसिरहेका देखिन्छन् । दुई सन्तानका पिता रामास्वामी धर्म, परिवार र राष्ट्रियतालाई समाजका अधिकांश विकारको उपचार बताउने गर्छन् । उनी धार्मिक रूपले हिन्दू भए पनि राजनीतिक बहसमा भने ‘जुडियो–क्रिस्चियन मूल्य’लाई जोड दिन्छन् । अध्ययनको कुरा गर्दा रामास्वामीले हार्वर्ड विश्वविद्यालयबाट जीवविज्ञान र यल ल स्कुलबाट कानुनको डिग्री हासिल गरेका छन् । रामास्वामीले आफूलाई समस्या समाधान गर्न सक्ने उम्मेदवार मात्र होइन, रिपब्लिकन पार्टीको एकता उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । तीक्ष्ण अभिव्यक्ति क्षमता भए पनि उनका कतिपय चुनावी एजेन्डा अव्यावहारिक वा राष्ट्रपतिको क्षेत्राधिकारभन्दा माथिका भएको आलोचकहरूले बताएका छन् । 

उदाहरणका लागि उनले नागरिक परीक्षा पास नगरेका वा सेनामा सेवा नगरेका युवाहरूको मतदान उमेर १८ बाट बढाएर २५ बनाउने बताएका छन् । तर, यसलाई कार्यान्वयन गर्न अमेरिकाको संविधान संशोधन गर्नुपर्ने हुन्छ र यति ध्रुवीकृत मुद्दामा संशोधन गर्न आवश्यक बहुमत पुग्ने सम्भावना छैन । उनले आफू राष्ट्रपति भए शिक्षा मन्त्रालय र अमेरिकी कर विभाग ‘इन्टरनल रिभेन्यु सर्भिस’लाई खारेज गर्ने र अमेरिकाको प्रमुख सुरक्षा निकाय एफबिआई अरू निकायमा गाभेर भंग गर्ने बताएका छन् । यी पनि कार्यान्वयन गर्न कठिन मुद्दा हुन् । 

जलवायु परिवर्तनको कारण अमेरिकाले डढेलोको सामना गरिरहेको र विश्वभर विपत् बढेको समयमा उनी खनिज इन्धनको पक्षमा उभिएका छन् । पहिलो रिपब्लिकन उम्मेदवारको बहसमा पनि उनले जलवायु परिवर्तनलाई उदारवादीले चलाएको झुटो हल्ला मात्र भएको दाबी गरे । बहसमा रामास्वामीको तर्कको सबैभन्दा चर्को प्रतिक्रिया युक्रेनबारे उनको भनाइले निम्त्याएको थियो । उनले आफू राष्ट्रपति भए युक्रेनलाई दिइरहेको आर्थिक सहयोग रोक्ने बताएपछि अधिकांश प्रतिस्पर्धीले उनको विरोध गरेका थिए । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि अमेरिकाले युक्रेनमा अर्बौं डलरको सैन्य तथा मानवीय सहयोग दिइसकेको छ । तर, रामास्वामीले यो नीति ‘ध्वंसात्मक’ भएको र अमेरिकाले विदेशी भूमिमा भन्दा आफ्नो दक्षिण सिमाना सुरक्षामा जोड दिनुपर्ने बताए । 

रामास्वामीले यस विषयमा बोल्ने क्रममा युद्ध सुरु भएपछि युक्रेन पुगेर त्यहाँका राष्ट्रपति भेटेका रिपब्लिकन राष्ट्रपतिका प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति माइक पेन्स र क्रिस क्रिस्टीको आलोचना गरे । ‘हाम्रा केही व्यावसायिक राजनीतिज्ञले किभको तीर्थाटन गरेर तिनको पोप जेलेन्स्कीलाई भेटेको सुन्दा मलाई घिन लागेको थियो । जबकि ती यही देशको मोउई जल्दा र सिकागोको दक्षिण भेगको समस्यामा सहानुभूति जनाउन गएनन्,’ उनले भने ।

जवाफमा संयुक्त राष्ट्र संघका लागि पूर्वराजदूत रहिसकेकी अर्की उम्मेदवारकी प्रतिस्पर्धी निक्की हेलीले रामास्वामीलाई अमेरिकाको मित्रशक्तिको साटो रुसी राष्ट्रपति पुटिनको पक्षमा उभिएको आरोप लगाइन् । अधिकांश रिपब्लिकन सांसद युक्रेनलाई सघाउने पक्षमा भए पनि पार्टीका समर्थक भने यस मुद्दामा विभाजित छन् । यस मुद्दामा बहसमा उपस्थित प्रतिस्पर्धीमाझ रामास्वामी अल्पमतमा देखिए पनि युक्रेन युद्धबारे उनको अडानले केही मतदातालाई आकर्षित गर्नेछ । 

‘बहसमा रामास्वामी स्पष्ट, सहज, हँसमुख, सटिक र मुद्दामा केन्द्रित थिए । जसले उनलाई बहस अवधिभर बौद्धिक देखाउन सघायो । यही कारणले पनि उनी पहिलो रिपब्लिकन बहसमा विजयी भए,’ कन्जर्भेटिभ पत्रकार डेभिड ब्रोडीले बहसपछि सामाजिक सञ्जालमा लेखेका थिए । रामास्वामीको चुनावी अभियान व्यवस्थापन समितिले एपी समाचार एजेन्सीलाई बहसपछिको केही घन्टामै ससानो चन्दाका रूपमा चार लाख ५० हजार डलर जम्मा भएको जानकारी दियो । तथापि हालसम्म उनको चन्दा संकलन ट्रम्प र डिसेन्टिसभन्दा निकै पछाडि छ । फ्लोरिडाका गभर्नर डिसेन्टिसले बहसको २४ घन्टाभित्र १० लाख डलर चन्दाका रूपमा उठाएको एबिसीले शुक्रबार बतायो । त्यस्तै अहिलेकै हिसाबमा रामास्वामीले ट्रम्पको पार्टीमाथिको प्रभाव कमजोर पार्ने सम्भावना न्यून देखिन्छ । 
अल जजिराबाट
 

ad
ad