१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
दमकका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै केपी ओली ।
२o८१ बैशाख २२ शनिबार १७:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गिरीबन्धु चियाबगानबारे ओलीको प्रस्टीकरण : कमिसन खाएको भए दुष्ट सरकारसँग थरथर हुन्न थिएँ होला ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:५३:oo

दुष्ट सरकारले उसको विरुद्ध बोल्दा एउटा सांसदलाई पक्राउ पुर्जी नदिई थुन्छ । यदि मैले कमिसन खाएको हुन्थेँ भने यस्तो सरकारसँग म थरथर हुन्न थिएँ होला ? मलाई मुद्दामा डुबाउँछन् कि क्या हो भनेर प्रभु मलाई बचाइदेऊ भन्दै जान्थेँ होला नि !

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले बिर्तामोडस्थित गिरीबन्धु चियाबगानको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएरै गरेको बताएका छन् । कमिसन खाएर उक्त निर्णय गरेको आरोपसहित छानबिन हुनुपर्ने माग उठेपछि उनले कानुन बनाएर स्थानान्तरणका लागि निर्णय गरेको बताए हुन् । उनी प्रधानमन्त्री हुँदा १३ वैशाख ०७८ को मन्त्रिपरिषद् बैठकले गिरीबन्धु चियाबगानको तीन सय ४३ बिघा १९ कट्ठा १२ धुर जग्गा स्थानान्तरणका लागि दिने निर्णय गरेको थियो । यद्यपि, उक्त निर्णय कार्यान्वयनमा आएको छैन । 

गृहजिल्ला झापाको दमकमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरीबन्धुका चियाबगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब उत्पादन नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए । ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशियार नभएको बताए । ‘उहाँहरूबाट (गिरीबन्धु चियाबगान सञ्चालक) निवेदन आएको हो । गिरीबन्धुले चियाको उमेर ६० वर्षदेखि बढीमा ८० वर्षसम्म हुन्छ, ०२०/०२१ सालमा लगाएका चियाका बोट अहिले ६० वर्षका भए । अब यी चियाबगान काम लाग्दैन हटाउनुपर्छ भनेर भन्योे,’ ओलीले भने, ‘यसलाई हटाएर फेरि चिया गलाउन १५/२० वर्ष खाली राख्नुपर्छ । चिया अहिले लगाउन मिल्दैन, जमिन रुखो भएको छ । मलिलो पार्न १५–२० वर्ष राख्नुपर्छ । अनि मात्र चिया रोप्न सकिन्छ भन्ने कुरा आयो । करोड रुपैयाँ कट्ठाको जमिन चियाका बुट्टा पर्खिएर त्यो पनि २० वर्षपछि लगाउनका लागि खाली राख्नुपर्ने, त्योभन्दा बाहिर सार्दा १५ लाख २० लाखमा बिघा पाउँछौँ । त्यसमा बगान लाउँछौँ । अहिलेको जग्गा सहरी प्रयोजनमा बेच्छौँ । त्यसबाट पैसा कमाउँछौँ । त्यो कमाएको पैसा उद्योग व्यापारमा लगाउँछौँ भन्ने उहाँहरूको कुरा आयो । अनि उनीहरूको सम्पत्तिमा मेरो अंश खोई भन्न म अंशीयार हो ? भाइभतिजा हो ?’ 

पञ्चायत तानाशाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन । यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन । म यस्ता भ्रष्ट तŒवविरुद्ध आवाज कम गर्दिनँ । हामी त लडेर जेल परेर आएका हौँ ।

उनले गिरीबन्धु चियाबगान सञ्चालक निवेदन लिएर आएपछि कानुन र नियम बनाएर निर्णय गरेको बताएका हुन् । ‘मैले उहाँहरूलाई तपाईंहरूको सम्पत्ति तपाईंहरू कमाउनुहोस्, तर विनाकानुन होइन, कानुन बनाएर मात्र हुन्छ भनेँ,’ ओलीले भने, ‘मैले कानुन बनाइदिएँ । कानुन कार्यान्वयन गर्न नियम बनाइदिएँ । उहाँहरूले आदेश मान्नुभयो । १३ वैशाख ०७८ मा सर्त राखेर भूमिसुधारले हेरेर त्यो जमिन ठीक भयो भने वातावरणीय मूल्यांकन गरेर दिन्छ भनेँ ।’ 

विगतका सरकारले कमिसन खाए
ओलीले विगतमा अरू दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० विघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी गरे । ‘गिरीबन्धु टी स्टेट केपी ओलीले खायो भन्छन् । तिनीहरूले एकपटक १९ र एक पटक ५१ विघा गरेर ७० विघा जमिन टी स्टेटलाई सट्टा भर्ना गर्न दिएका थिए,’ ओलीले भने, ‘बसपार्क क्षेत्र भनेको ७० बिघा गैरकानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो । मैले त्यसरी २–४ करोड लिएर सुटुक्क दिने होइन । कमिसन खाने भन्ने भएको भए कमिसन पाइन्थ्यो होला । देश चलाउँछु भन्ने मान्छेलाई कमिसन खान्छु भन्न लाज हुँदैन ? कमिसन खान के म कांग्रेस–माओवादी हो ?’

उनले आफूले कमिसन लिएको भए सरकारसँग थरथर हुनुपर्ने बताए । ‘यदि मैले कमिसन खान्थेँ भने यस्तो दुष्ट सरकार उसको विरुद्ध बोल्दा एउटा सांसदलाई पक्राउ पुर्जी नभई थुन्छ भने यस्तो सरकारसँग म थरथर हुन्न थिएँ होला ? मलाई मुद्दामा डुबाउँछन् कि क्या हो भनेर प्रभु मलाई बचाइदेऊ भन्दै जान्थेँ होला नि !,’ ओलीले भने, ‘म यस्ता भ्रष्ट तत्वविरुद्ध आवाज कम पनि गर्दिनँ । यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन । पञ्चायत तानाशाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन । हामी त लडेर जेल परेर आएका हौँ ।’ 

ad
ad