१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ८ शुक्रबार १६:५३:oo
Read Time : > 1 मिनेट
समाचार

धरानमा २४ घन्टे निषेधाज्ञा जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १६:५३:oo

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार एक आदेश पत्र जारी गर्दै धरान उपमहानगर क्षेत्रमा ८ भदौ राति १२ बजेदेखि ९ भदौ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो। 

डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेकाले प्रशासनले संक्रमण नियन्त्रणमा नआउन्जेल ‘जनस्वास्थ्य आपतकालीन अवस्था’ घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिससमेत गरेको छ। 

धरान उपमहानगरपालिका क्षेत्र धार्मिक–साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्तिसुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन, २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेध आदेश दिएको पत्रमा उल्लेख छ। 

अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला, जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न–नगराउन प्रशासन कार्यालयले अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा हस्ताक्षरित पत्रअनुसार धरानको पश्चिममा बराहक्षेत्र १ मा पर्ने झन्डा चोकदेखि धरान क्षेत्र, पश्चिम–दक्षिण रामधुनी ६ बाट बराहक्षेत्र ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी २० तरहरा पानीपियादेखि उत्तर धरानक्षेत्र, पूर्वीतर्फ धरान ५ प्रवेश गर्ने केराबारीबाट धरानक्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सो किसिमका गतिविधि गर्न पाइनेछैन।

निषेध आदेशविपरीत कार्यक्रम गरे वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ। 

पछिल्लो समय धरानमा गोरुको मासु खाएको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै पहिचान पक्षधर र हिन्दु पक्षधरबीच विवाद सुरु भएको छ। शनिबार धरानमा श्रीवैशणव परिषद् नेपाल, विश्वहिन्दु परिषद नेपाल, समग्र वैदिक सनातन समुदायलागयतले गोरक्षा शान्ति ¥याली गर्ने तयारी गरेको थियो।

सबै दलको अपिल : विवादलाई वार्ताबाट समाधान गरौँ, शनिबारको कार्यक्रम स्थगित गरौँ

धरानका दलहरुले हाल सुरु भएको विवाद वार्ता–संवादको माध्यमबाट समाधान गर्न प्रतिवद्ध रहेको जनाएका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले एकअर्काबीचको सद्भाव, सहिष्णु वातावरण विथोलिने आशंका उत्पन्न भएकाले चिन्तित बनाएको जनाएको छ।

‘यसै सन्दर्भमा धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षिय सर्वदलीय वार्ता सम्वादको माध्यमद्वारा समाधान गर्न हामी प्रतिवद्ध छौँ। अतः भोली भाद्र ९ गने सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित र्काक्रमहरु स्थगित गरी वातावरण सहिज बनाउन भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौँ।’ सर्वदलीय प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

साथै सामाजिक सद्भाव खलबलिने सामाग्रीहरु पोस्ट, सेयर तथा कमेन्ट नगरिदिन विज्ञप्तीमार्फत सबैमा अनुरोध समेत गरेको छ।