१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:१५:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

काँचै स्याउ बेच्दै डोल्पाली कृषक, बिक्री नहुने डर देखाउँदै बोटमै आइपुग्छन् बिचौलिया 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

हिमाली जिल्ला डोल्पाका बस्तीहरूमा यतिखेर लटरम्म स्याउ फलेका छन्। स्याउको सिजन सुरु भएसँगै बोटै नुहिने गरी फलेका स्याउले डोल्पाका गाउँबस्ती रंगीएका हुन्।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने सुँ, जिउँ र वडा नम्बर ४ मा पर्ने रंगमा कृषकहरूले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्।

त्रिपुरासुन्दरीसँगै ठूलीभेरी नगरपालिकामा पनि व्यावसायिक स्याउ खेती गरिँदै आएको छ। वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गर्दछ।

स्याउ राम्रोसँग नपाक्दै डोल्पाली स्याउ कृषकहरूले ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरेजतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ बिचौलिया व्यापारीहरूलाई प्रतिकिलो २० देखि ३० रुपैयाँ बेच्न बाध्य भएका हुन्।

जिल्लामै स्याउको राजधानीको रूपमा परिचित रंग गाउँमा एक घर एक स्याउ बगैँचा छ। प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै नकिन्ने कृषकको गुनासो छ।

डोल्पाका स्याउ बगानहरूमा तीन वर्षयतादेखि नेपालगन्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट स्याउ किन्न व्यापारीहरू घरमै पुग्ने गरेका छन्।

नपाक्दै बोटमै बिचौलिया आइपुग्ने रंगाली कृषकहरूले बताए। बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायतका समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्यता हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताए।

‘स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ, तर व्यापारीहरू कृषकहरूको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषकहरू बाध्य भएर मात्र २० देखि ३० रुपैयाँमा स्याउ बगैँचा जिम्मा लाउन बाध्यहुनुपर्छ,’ उनले दुःखेसो पोखे।

‘राम्रो पाकेको स्याउको स्वादै मिठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका सहरमा प्रतिकिलो दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्,’ उनले थपे ।

अर्का कृषक रुद्री बुढाले यस वर्ष ११ क्विन्टल स्याउ जम्मा ३५ हजारमा बेचेको दुःखेसो पोखे। ‘मेरो बगैँचामा तीन सय बोट स्याउ छन्, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसकेँ,’ बुढाले थपे ।

‘व्यापारीले बोटमै प्रतिकिलो ५० रुपैयाँ किलोसम्म पाए कृषकलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा ३० रुपैयाँभन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँ पछि बिक्रिी गर्न समस्या हुन्छ,’ उनले दुःखेसो पोखे।बिचौलिया व्यापारीहरूले डोल्पाबाट लिएको स्याउबाट पाँच गुणाभन्दा पनि धेरै फाइदा खाने गरेको उनको भनाइ छ।

अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकहरूले दुःखेसो पोखे। नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेका छन्। उनको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्ने गर्छ, तर उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ ।

‘बगैँचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन, जिल्लाबाहिरका बजारमा लैजाउँ भने कच्ची बाटो र ठाउँठाउँमा पुल नहुँदा एक दर्जनभन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्यभन्दा ढुवानी रकम धेरै हुन्छ,’ उनले भने, ‘डोल्पासम्म सडकको राम्रो सुविधा भएको भए बर्सेनि लाखौँ रुपैयाँ डोल्पाली कृषकले कमाउँथे, जिल्लाबाहिरबाट काँचै स्याउ सस्तो मूल्यमा किन्ने व्यापारी त आएका छन्, भनेजतिको मूल्य नपाइने भएकाले बिक्री गरेको छैन्।’

सोही गाउँका स्याउ कृषक जसमान केसीले पनि सात रोपनी क्षेत्रमा स्याउ लगाएका छन्।

उनलाई पनि उत्पादन भएको सबै स्याउ बिक्रीको चिन्ता छ। गाउँका धेरैजसो कृषकले २० देखि ३० रुपैयाँ मूल्यमा काँचै स्याउ बिक्री गरे पनि आफूले बिक्री नगरेको उनले बताए।

कृषकहरूले वर्षभरि दुःख गरेर उत्पादन गरेको स्याउ राम्रोसँग पाकेपछि भदौ अन्मिमा मात्र बेच्न पाउने समय निर्धारण गरी मूल्य तोकिदिएको भए धेरै राहत हुने त्रिपुरासुन्दरी नगरपालिका– ४ का अध्यक्ष रञ्जित बुढाले बताए।

नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र बिचौलिया व्यापारी फाइदामा भएको उनको भनाइ छ। उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।

डोल्पाबाट नेपालगन्ज, सुर्खेतसम्म सीधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषक सधैँ मारमा पर्ने कार्यालयको भनाइ छ। डोल्पामा चार सय १२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिकटन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।

त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्री–वितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ। यस वर्षबाट त्रिपुरासुन्दरी नगरपालिकाले व्यापारीबाट प्रतिकिलो एक रुपैयाँ पचास पैसा ढुवानीकर लगाउन सुरु गरेको छ। डोल्पामा स्थानीय जातको रेड, गोल्डेन स्याउ उत्पादन हुने गर्दछ।