Skip This
महिला विश्वकपमा मोरक्को सफलताले दिने प्रेरणा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Saturday, 27 July, 2024
कदिजा बाइजोर्न
२o८o भदौ ५ मंगलबार o९:१६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महिला विश्वकपमा मोरक्को सफलताले दिने प्रेरणा 

Read Time : > 2 मिनेट
कदिजा बाइजोर्न
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार o९:१६:oo

महिला फुटबल विश्वकपमा ‘एटलस लियोनेसेस’ सफलता चमत्कार वा अपवाद नभई खेलकुद क्षेत्रमा संरचनागत ढंगले लगानी गर्दाको परिणाम हो 

महिनाको सुरुवातमा मोरक्कोको महिला राष्ट्रिय फुटबल टोली, एटलस लियोनेसेसले फिफा विश्वकपमा राउन्ड अफ १६ मा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । टोलीका लागि सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको डेब्यु खेलमा कोलम्बियामाथिको विजय र जर्मनीलाई नकआउट गरेर स्तब्ध बनाउनु रहेको थियो । यसका बाबजुद मोरोक्कोको टोली फ्रान्ससँग हार व्यहोरेर प्रतियोगिताबाट बाहिरियो । तथापि कमजोर मानिएको अर्थात् अन्डरडग टोलीको प्रेरणादायी फुटबल यात्राले विश्वभरका असंख्य फुटबल प्रशंसकको स्नेह पायो ।

सबैभन्दा सफल डेब्युटेन्ट (पहिलोपटक विश्वकप खेल्ने टोली) बनेको एटलस लियोनेसेसले फुटबलमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट सीप एवं कला प्रदर्शन गरेर आफ्नो मुलुकलाई गौरवान्वित बनाएको छ । यति मात्रै नभई टोली मुलुकभित्र र बाहिर महिला सशक्तीकरणको प्रतीक बनेको छ । सबैभन्दा महत्वपूर्ण कुरो यस टोलीको सफलताले विवेकपूर्ण ढंगले महिला खेलकुदमा दीर्घकालीन लगानी गर्दा अन्तर्राष्ट्रिय खेलकुद सफलतादेखि लैंगिक समानतासम्म नतिजा दिन्छ भन्ने देखाउँछ । मोरोक्कोवासी विशेषतः मोरक्कन महिला र बालिकामाझ ठूलो छाप छाड्ने गरी महिला फुटबल विश्वकपमा एटलस लियोनेसेस सफलता कुनै चमत्कार वा अपवाद नभई खेलकुद क्षेत्रमा संरचनागत ढंगले लगानी गर्दाको रुपान्तरणको परिणाम हो ।   

सन् २००० को सुरुवातीताकादेखि मोरोक्कोका राजा मोहम्मद छैटौँ मुलुकका युवा खेलकुद प्रतिभाको विकास गर्न अनवरत लागिपरेका छन् । यिनै प्रयासअन्तर्गत नै उनले सन् २००९ मा मोहम्मद छैटौँ फुटबल एकेडेमी स्थापना गरेका थिए र मुलुकभर कैयौँ उच्चस्तरका फुटबल मैदान निर्माण गराएका थिए । ‘स्टेट–अफ–द–आर्ट इन्फ्रास्ट्रक्चर’ र बृहत् तालिम कार्यक्रममा उल्लेख्य लगानी गरेर राजा मोहम्मद छैटौँले महिला फुटबलमा पनि विशेष समर्थन गरेका थिए । यो प्रयास गतवर्ष नै देखिएको थियो, जब मोरोक्को वुमन्स अफ्रिका कप अफ नेसन्स (वाफ्कोन) को फाइनलमा पुगेको थियो । टोलीले फाइनलमा दक्षिण अफ्रिकासँगको प्रतिस्पर्धात्मक खेलमा पराजय व्यहोरे पनि उसले आफूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा दाबेदारका रूपमा उभ्याएको थियो । 

स्मरण रहोस्, विश्वकप खेल्न हिजाब पहिरेकी पहिलो मुसलमान महिला खेलाडी नौहैला बेन्जिना समावेश भएको टोलीले यो उपलब्धि हासिल गरेको हो । विश्वकपमा एटलस लियोनेसेसको सफलताले पुरुषसँगै मैदानमा समान स्थान पायौँ भनेर धेरै महिला फुटबल उत्साही भएको छ । यसले विशेषतः मुसलमान महिलालाई विश्वस्त गराएको छ । यो उपलब्धिले महिला फुटबल पुरुषको जस्तै फलदायी र ध्यानयोग्य छ भन्ने देखाउँछ ।

मैले देश र विदेश रहेका मोरक्कन महिलासँग खुला छलफल गरेकी थिएँ । यी महिलाले मसँग टोलीको विजयमा आफ्नो दृष्टिकोण बताएका थिए । उदाहरणका लागि २३ वर्षीया सौकानियाले आफू र फ्रान्समा रहेको उनको परिवारले राष्ट्रिय महिला टोलीको विश्वकप खेल सँगै हेरेको उल्लेख गरिन् । उनी महिला फुटबल टोलीका लागि फ्रान्सका आफन्तको उत्साह देखेर आफू तीन छक परेकी बताउँछिन् । ‘मैले कहिल्यै सोचेकी थिइनँ कि हामी सबै टिभीमा महिला फुटबल खेलका लागि यति धेरै उत्साहित हुनेछौँ... । यो निकै रमाइलो अनुभव थियो... । खेलकुदमा महिलाको उत्कृष्टताको साझा उत्सव’ भन्दै सौकानिया उत्साहित भएकी थिइन् । २४ वर्षीया अमिना आफूजस्तै हिजाब लगाउने महिलालाई खेलमैदानमा देख्नु आफ्ना लागि ठूलो भएको बताउँछिन् । ‘विश्वमञ्चमा मोरक्कन महिला अग्रणी बनेको देख्दा म निकै खुसी भएकी छु, यसले म एक मोरक्कन महिला भएकामा गौरवान्वित बनाएको छ,’ उत्साहित हुँदै अमिना थप्छिन् ।  

निःसन्देह यसले सबै गर्नुपर्ने काम सम्पन्न भइसक्यो र मोरक्कोले खेलकुद वा सार्वजनिक जीवनका अन्य क्षेत्रमा लैंगिक समानता हासिल गरिसक्यो भन्ने अर्थ लाग्दैन । हामीसँग अझै महत्वपूर्ण यात्रा मौजुद छन् । मोरक्कोमा अझै धेरै यस्ता मानिस छन्, जसले महिलाको भूमिका घरमा मात्र सीमित छ भन्ने मान्छन् । जहाँ महिलालाई एक–एक कर्तव्यनिष्ठ छोरी, आमा वा पत्नीका रूपमा मात्रै हेरिन्छ । कतिपय परिवारले महिला शिक्षा र विद्यालयस्तरमा खेलकुदमा प्रोत्साहन गरे पनि ‘पुरुषले खेल्ने’ छोरीहरूलाई फुटबल खेल्न दिन हिच्किचाउँछन् । तसर्थ कैयौँ मोरक्कन बालिकाका लागि व्यावसायिक फुटबल खेलाडी बन्ने सपना सपनामै सीमित हुने गर्छ । 

एटलस लियोनेसेसको सफलताले भने यी मान्यता भत्किँदै गइरहेका छन् । तर, सफलतालाई दिगो बनाउन महिला फुटबल र समग्रमा महिला खेलकुदमा निरन्तर लगानी आवश्यक छ । टोलीको लचिलोपन, दृढता र चुनौतीमाथिको विजयको कथाले मोरक्कन युवतीहरूले आफ्ना सबै सम्भावनालाई उजागर मात्रै गरेका छैनन्, यी खेलाडीले सामाजिक दृष्टिकोणलाई समेत बदल्न थालेका छन् । परिवारले एटलस लियोनेसेसलाई राष्ट्रिय नायकका रूपमा स्वागत गरेको देख्दा आफ्ना छोरीलाई फुटबल अभ्यासमा सामेल गराउन उत्साहित हुँदै छन् । मैले हालै आठ वर्षीया सारालाई महिला टोलीमा उनको मन पर्ने खेलाडीबारे सोधेकी थिएँ, उनले उत्साहित भई ‘सबै’ खेलाडीका लागि आफ्नो स्नेह व्यक्त गरिन् र आगामी वर्षदेखि आफैँ पनि फुटबल खेल्ने बताइन् । मोरक्कन महिला फुटबल टोलीको मैदान र मैदानबाहिरको सफलताले महिला खेलकुदलाई पर्याप्त समर्थन गर्दा उन्नति, वृद्धि र सशक्तीकरण गर्न सकिन्छ भनेर देखाउँछ । पछिल्लो १० वर्षयता मोरक्कोले फुटबल एकेडेमी र प्रशिक्षण केन्द्रमा मात्र नभई अन्य कैयौँ क्षेत्रमा ठूलो लगानी गरेर मोरक्कन महिलाको सम्भावना वृद्धि गरेको छ । अन्य राष्ट्रले पनि मोरक्कोको पदचाप अनुसरण गर्ने वेला भएको छ । 

(बाइजोर्न म्यानचेस्टर विश्वविद्यालयकी विद्यावारिधि शोधकर्ता हुन्) 
अलजजिराबाट