१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अजित अधिकारी काठमाडौं
२०८० भदौ ३ आइतबार १७:३४:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

डिजेल मिसिएको पेट्रोल वितरण, दोषी कर्मचारी जोगाउन चालकमाथि कारबाहीको प्रपञ्च

आयल निगममा मनपरी 

Read Time : > 3 मिनेट
२०८० भदौ ३ आइतबार १७:३४:००

नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले गत बिहीबार साँझ घोडाघोडी नगरपालिका–१० मा रहेको मित्र ट्रेडस् पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ। सो घटनामा निगम कर्मचारीको प्रत्यक्ष लापरबाही देखिए पनि कारबाही गर्नुको सट्टा उच्च व्यवस्थापनले संरक्षण गरेको छ।

पहलमानपुरस्थित मित्र ट्रेडसका सञ्चालक अजय बमले सो दिन निगमको धनगढी डिपोमा बिल नम्बर ८१०७–७००००१२४४ मार्फत ४ हजार लिटर पेट्रोलको माग गरेका थिए। र, निगमले ३ हजार ९ सय ९४ लिटर पेट्रोल पठाएको भन्दै बिलिङ गरेको थियो। बमको पम्पमा पेट्रोल लिएर ना ५ ख ७७३ नम्बरको ट्यांकर बिहीबार दिउँसो ४ बजेर २६ मिनेटमा पुगेको थियो। 

आयल निगमको धनगढी डिपोले स्थानीय मित्र ट्रेडर्स नामको पम्पमा पेट्रोल भनेर पठाएको डिजेलको परिमाण। 

कुल २० हजार लिटर पेट्रोल लिएर पुगेको ट्यांकरको च्याम्बर नम्बर ५ मा रहेको चार हजार लिटर पेट्रोल आफ्नो पम्पमा खसाल्नुअघि सञ्चालक बमले हाइड्रोमिटरमार्फत पेट्रोलको गुणस्तर परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको हो।

‘पम्पमा आएको ट्यांकरको तेल ठीक छ कि छैन भनेर नियमित रूपमा चेक गर्ने गरेको छु। अन्य दिनमा जस्तै बिहीबार पनि हाइड्रोमिटरमार्फत चेक गरेको थिएँ। सुरुमा करिब ६–७ लिटर तेल झिकेर परीक्षण गर्दा सबै डिजेल मात्रै भेटियो,’ सञ्चालक बमले भने, ‘त्यसपछि ट्यांकरबाट थप एक बाल्टी (२० लिटर) तेल झिकेर पुनः परीक्षण गर्दा पनि सबै डिजेल मात्रै रहेको पाएँ।’ 

पेट्रोलको बिलिङ गरेर निगमको डिपोबाट निस्केको ट्यांकरमा डिजेल मिसावट भएको पाएपछि उनी आफैँ छक्क परेका थिए।

बारम्बारको परीक्षणमा पेट्रोल रहेको भनिएको ट्यांकरबाट डिजेल मात्रै निस्केपछि स्थानीयस्तरमा तुरुन्तै खबर फैलिएको थियो। तेल भर्न सवारीसाधनसहित पम्पपरिसरमा आएका उपभोक्ताले आयल निगमबाट डिजेल मिश्रित पेट्रोल ल्याएको खबर थाहा पाएपछि ट्यांकरमा आगजनीसमेत गर्न खोजेका थिए। स्थिति नियन्त्रणमा लिन पम्प सञ्चालक बमले निगमको धनगढी कार्यालयका कर्मचारी र स्थानीय प्रशासनलाई खबर गरेका थिए।

निगम कार्यालयबाट करिब ३५ किलोमिटर टाढा रहेको पम्पमा आयल निगमका डिपो प्रमुख मोहनकुमार साहलगायतका कर्मचारी ढिला गरी पुगेका थिए भने स्थानीय प्रहरी तुरुन्तै आएर सुरक्षा दिएका थिए। 

निगम कर्मचारी आएर थप एक बाल्टी (२० लिटर) तेल झिकेर परीक्षण गर्दा पुनः डिजेल नै पुष्टि भएको थियो।  त्यसपछि अर्काे बाल्टीमा तेल झिकेर परीक्षण गर्दा भने पेट्रोल पाइएको सञ्चालक बमले जानकारी दिए।

आयल निगमका कर्मचारीले ट्यांकरमा रहेको डिजेलको मात्रा २ बाल्टी (४० लिटर) मात्रै भएकाले डिजेल सकिएर ट्यांकरमा शुद्ध पेट्रोल मात्रै भएको दाबी गर्दै सोही पम्पमा खन्याउन दबाबसमेत दिएका थिए। तर, सञ्चालक बलमे सो ट्यांकरको पेट्रोल फिर्ता लगेर अर्को ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाइदिनुपर्ने अडान कसेका थिए। 

डिजेल मिसावटयुक्त पेट्रोल ढुवानीका लागि प्रयोग गरिएको ट्यांकर।

त्यसपछि स्थानीय बासिन्दा र घोडाघोडी नगरपालिका–१० का  वडाध्यक्षको रोहबरमा मुचुल्का तयार गरी सो पम्पमा नयाँ ट्यांकरमा ४ हजार लिटर पेट्रोल पठाउने सहमति बनेको थियो।

स्थानीयले डिजेल मिश्रित पेट्रोल पठाउने निगम कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै तेल बोकेर गएको ट्यांकरमा तोडफोड प्रयास गरेपछि स्थानीय प्रहरी परिसरमा ट्यांकरलाई सुरक्षित राखिएको थियो। तर, सो ट्यांकरमा रहेको पेट्रोलमा थप मिसावट नभएको भन्दै महेन्द्रनगरस्थित एक पम्पमा लगेर मिसावटयुक्त पेट्रोल बेचिएको स्रोतको भनाइ छ।

दोष कर्मचारीको, कारबाही चालकमाथि  

पेट्रोलपम्प सञ्चालकले तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर राखेका कारण धनगढीमा डिजेल मिसिएको पेट्रोल आयल निगमले बिक्री गरेको पत्ता लागेको हो, तर सबै पेट्रोलपम्प व्यवसायीले यस्ता उपकरण राख्दैनन् जसकारण निगमले पठाएको तेल पम्पको अन्डर ग्राउन्डमा खसालेर सोझै बिक्री हुने गरेको छ।

बिहीबार धनगढीमा भएको मिसावटमा निगमको डिपो प्रमुख मोहन साह र अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको प्रत्यक्ष दोष छ। धनगढी डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी) को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात हुने गरेको छ। धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट तेल बोकेर आएको ट्यांकरलाई डिपो परिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिएको छ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले डिपोमा आएको ट्यांकरलाई ‘ड्रेन’ नगरी पम्पमा तेल पठाउँदा मिसावटको घटना भएको अनुमान गरेको बताए। आइओसीबाट तेल लिएर आएको ट्यांकरको प्रत्येक चेम्बरको तल्लो भागमा रहेको तेल बाल्टीमा खसालेर पुनः ट्यांकरको माथिल्लो भागबाट सोही चेम्बरमा खसाल्नुलाई ड्रेन भनिन्छ। 

‘ड्रेनमा भएको कमजोरीले पेट्रोलमा मिसावटजस्तो देखिएको हो, यसबारे विस्तृत लेखी पठाउनू भनेर धनगढी कार्यालयलाई निर्देशन दिइसकेका छौँ,’ प्रवक्ता ठाकुरले भने।

आयल निगमले एउटै ट्यांकरमा पेट्रोल र डिजेल ढुवानी गर्ने गलत नीति अपनाउँदै आएको छ। सोही कारण पनि मिसावटको घटना भएको निगमको प्रारम्भिक बुझाइ छ। प्रवक्ता ठाकुरले अघिल्लोपटक सो ट्यांकरले डिजेल ढुवानी गरेको हुन सक्ने र ट्यांकरको पिँधमा केही डिजेल बाँकी नै रहेको वेला पेट्रोल ढुवानी गर्दा मिसावट भएको हुन सक्ने बताए।  

निगमको धनगढी डिपो प्रमुख मोहनकुमार साहले भने पेट्रोल बोकेको ट्यांकरमा डिजल कसरी देखियो भन्नेबारे अझै यकिन हुन नसकेको र छानबिनकै क्रममा रहेको गैरजिम्मेवार अभिव्यक्ति दिए। उनले यस घटनामा चालकलाई मुख्य दोषी करार गर्दै कारबाहीसमेत गर्ने बताए।

पेट्रोलपम्प व्यवसायीले दोषीलाई कारबाही गर्न लेखेको पत्र र पम्पमा डिजेल मिश्रित पेट्रोल आएको भनि सरकारी प्रतिनिधिको रोहबरमा तयार गरिएको मुचुल्का ।

‘पेट्रोलको ट्यांकरमा डिजल कसरी देखियो भन्नेबारे चालकलाई सोधपुछ गरेका छौँ, तर उनले यसबारे बोलेका छैनन्। हाम्रो छानबिन जारी छ,’ शाहले भने, ‘ट्यांकरचालक र ट्यांकरधनीलाई कारबाही गर्छौँ।’ निश्चित अवधिसम्म ट्यांकरलाई पेट्रोलियम पदार्थ बोक्न नपाउने गरी निलम्बन गरिने उनले बताए।

पेट्रोलमा डिजेल मिसाएर पठाउने घटनामा दोषीलाई कारबाही गर्न सुदूरपश्चिमाञ्चल डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र आयल निगमलाई लिखित पत्राचार गरे पनि सुनुवाइ भएको छैन। 

एसोसिएसनका अध्यक्ष चक्र मल्लले हस्ताक्षर गरी पठाएको पत्रमा ४० लिटर डिजेल मिसिएको पेट्रोल पठाउने घटनामा संलग्नलाई आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ। एसोसिएसनमा आबद्ध एक व्यवसायीका अनुसार अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको लापरबाहीले घटना भएको हो। ‘यो घटनामा कमचारीलाई कारबाही हुनुपर्ने हो। डिपो प्रमुखले नैतिक जिम्मेवारी लिनुपर्छ,’ ती व्यवसायीले भने।

आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले समेत पेट्रोलमा डिजेल मिसिएको घटनालाई सामान्य रूपमा लिएका छन्। व्यवसायी र चालकलाई कारबाही गर्न निर्मम बन्दै आएका कार्यकारी निर्देशक थानीसहितको उच्च व्यवस्थापन कर्मचारीको संलग्नता देखिए संरक्षण गर्नतिर लाग्ने गरेका छन्। 

केही समयअघि लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा तीन हजार लिटरभन्दा बढी डिजेल तस्करी भएको घटनामा भैरहवा डिपोमा कार्यरत कर्मचारीको कमजोरी देखिएपछि राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अघि बढाएको थियो। त्यति वेला पनि निगम व्यवस्थापनले आफ्ना कर्मचारी जोगाउन सर्तकता केन्द्रमा शक्तिको दुरुपयोग गरेका थिए।