
सभामुख देवराज घिमिरेले आफ्नो एकल प्रयासले सदनको गतिरोध अन्त्य नहुने बताएका छन् ।
संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सञ्चार सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले अवरोध हटाउन सबैको प्रयास जरुरी रहेको बताएका हुन् ।
सभामुखको कुन व्यवहार, भूमिका, प्रयत्नले सदन खुलेन भनेर उनले प्रश्न गरे । आफूले अधिकतम प्रयत्न गरेको भन्दै उनले सभामुखको भूमिकाले मात्रै सदन नखुल्ने बताए ।
‘सभामुखको कुनचाहिँ अभिव्यक्ति, व्यवहार, ढिलाइले, कुनचाहिँ भूमिकाले, निष्क्रियताले, कुनचाहिँ प्रयत्नको अभावले संसद्को अवरोध खोल्नलाई रोकेको छ । केचाहिँ गर्याे भने संसद्को अवरोध खुल्छ ? सभामुखको भूमिकाबाट मात्र यो हुनेजस्तो लाग्दैन,’ उनले भने ।
उनले संसद् अवरोध हुँदा सदनको समय, सम्पत्ति र क्षमता खेर गइरहेको भन्दै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताए ।
अवैध ढंगले ल्याइएको सुनकाण्डलाई लिएर प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना भएपछि आठवटा बैठक बस्न प्रयत्न गरिएको उनले जिकिर गरे । आठवटा बैठकबाट प्रयत्न गरेको, पाँचवटा बैठक अवरोध भएको, तीनवटा बैठक सहमतिका लागि सूचना टाँस गरेर स्थगित गरिएको उल्लेख गर्दै उनले सरकार र सत्तापक्ष आफ्नै अडानमा हुँदा समस्या भएको बताए ।
उनले आज पनि प्रधानमन्त्रीसँगको भेटमा संसद्प्रति जनताको वितृष्णा बढेको, व्यवस्थामाथि प्रश्न उठाउनेलाई मलजल गरेको भन्दै ध्यानाकर्षण गराएको बताए । सदनमै छलफल गरेर निकास खोज्ने गरी यो दुई दिनभित्र व्यापक छलफल गर्ने सहमति भएको उनले जानकारी दिए ।
सभामुख घिमिरेले पत्रकारले उठाएका कुरा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए । उनले सदनका छलफललाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । कानुनले प्रतिबन्ध गरेकोबाहेक कुनै पनि सूचना रोक्न नहुने उनको भनाइ थियो ।