
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।
मणिपुरको राजधानी सहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषलाई गोली हानी हत्या गरिएको थियो ।
‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंकारीको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीनजनाको मृत्यु भएको छ,’ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निंशेम वासुमले बताएका छन् । मारिएका मानिसले स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।
हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा एक सय ५० भन्दा बढीको ज्यान गएको छ । भिडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौँ घर र पसल जलाइएको छ ।