१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:o४:oo

महाकाली नगरपालिका– ६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर घरमै बच्चा जन्माउने गरेका छन्।

गत आर्थिक वर्ष ०७९/०८० मा वडाका ६ महिलाले घरमै बच्चा जन्माएकाे तथ्यांक छ। सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिकाको सबैभन्दा विकट बस्ती रहेका निसिल पौनेखोलाका नागरिक अहिले पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको स्थानीय महेश भट्टले बताए। सडकसम्म पुग्नका लागि समेत यी बस्तीबाट तीन घन्टा हिँड्नुपर्छ।

‘सुत्केरी महिलाले यति लामो बाटोमा हिँडेर कसरी जिल्ला अस्पताल आउन सक्छन् ?’ भट्टको प्रश्न छ, ‘स्वास्थ्यजस्तो संवेदनशील कुरामा स्थानीय सरकार गम्भीर हुनुपर्छ।’ वडा नम्बर ६ मात्र नभई नगरपालिकाको अन्य वडाका थाप्ला, मुल्ला मैखोलीलगायतका बस्तीका नागरिकका लागि समेत स्वास्थ्य सेवामा सहज पहुँच छैन। ‘बर्खाको वेला सडक अवरुद्ध हुन्छ। सुत्केरी गराउन समयमै अस्पताल पुर्‍याउन सकिने अवस्था छैन। अहिलेसम्म भगवानभरोसामा छौँ,’ मट्टले भने।

नगरपालिकाले ‘होम डेलिभरी’ शून्य पालिका घोषणा गर्ने लक्ष्य लिएको भए पनि अझै यहाँका अधिकांश वडा तहमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुँदा समस्या रहेको नगरपालिकाका स्वास्थ्य संयोजक जयबहादुर फर्सवानले बताए। नाैवटा वडा रहेको नगरपालिकामा साबिकका धाप, दत्तु, खलंगा, काटै र छापरीमा मात्रै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर छन्।

नगरपालिकाले पाँचवटा सहरी स्वास्थ्य एकाइ र तीनवटा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरे पनि जनशक्ति अभावमा प्रसूति गराउन सकिने अवस्था छैन। ‘हामीसँग स्वास्थ्य चौकीमा मात्रै एसबिए तालिमप्राप्त जनशक्ति छन्,’ उनले भने, ‘आधारभूत र सहरी स्वास्थ्य एकाइमा अहिले एक–एक अहेव, अनमी र कार्यालय सहयोगी राखिएका छन्। तालिमप्राप्त जनशक्ति अभावले सबै ठाउँमा सुरक्षित प्रसूति गराउन सकिएको छैन। यी ठाउँहरूमा बर्थिङ सेन्टर आवश्यक नै हो,’  स्वास्थ्य संयोजक फर्सवानले भने।

महाकाली नगर प्रमुख नरसिंह चैसिर नगरपालिकाभित्र नगरको छुट्टै अस्पताल निर्माणका लागि योजना बनिरहेको बताउँछन्। ‘हामीले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर सहरी र आधारभूत स्वास्थ्य एकाइ थपेका हौँं,’ उनले भने, ‘तर कतिपय ठाउँमा सबै प्रकारका दक्ष जनशक्ति उपलब्ध हुन सकेको छैन। हामी सबै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा बनाउने सोचका साथ अघि बढेका छौँ।’

ad
ad