१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा– २०८०’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न भएको फाइनल अडिसनमा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा– २०८०’ छनोट भएका छन्। 

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्त रूपमा सोमबार आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा– २०८०’ छनोट भएका हुन्। 

खोटाङ जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन्। 

यस्तै, नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः रु. दुई लाख दुई हजार, रु. एक लाख एक हजार र रु. ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा संगीतकार रूपकुमार राईले जानकारी दिए। 

‘खोटाङ प्रतिभा– २०८०’ छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ,’ उनले भने, ‘प्रतियोगितामा सहभागी बाँकी १४ जना प्रतिभालाई प्रोत्साहनस्वरूप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ।’

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेका थिए।

खोटाङ प्रतिभा– २०८० छनोट प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए । 

जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभामध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो। 

पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०–३० जना प्रतिभा छनोट गरिए पनि काठमाडौंमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिए ।  

खोटाङ घर भई काठमाडौंलाई कार्यक्षेत्र बनाएर गीत–संगीतलाई आफ्नो पेसाको रूपमा अंगालेका खोटाङे कलाकारहरूले ०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो। 

कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर संघर्ष गरिरहेका खोटाङे कलाकारको साझा मञ्चको रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको कलाकारहरूले बताएका छन्।