१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण ३० मंगलबार १०:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बैंकमा पनि नक्कली प्रमाणपत्रका आधारमा जागिर, सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

Read Time : > 1 मिनेट
२०८० श्रावण ३० मंगलबार १०:०१:००

सरकारी सेवामा प्रवेश गर्न थुप्रैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि हुँदै आएको छ । पब्लिक कम्पनीमा समेत यस्तो विकृति देखिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलमा १० जनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको खुलेको छ । जसमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बुटवल शाखाकी मनीषा मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री र प्रतीक्षा रेग्मी तथा काठमाडौंका दीपक विष्ट पक्राउ परेका हुन् । सिटिजन्स बैंकबाटै भएको पत्राचारअनुसार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनीहरूविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा कारबाही गर्न लागिएको छ । 

बैंककै पत्राचारपछि पक्राउ गरिएको हो : एसपी कुमुद ढुंगेल प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै कारबाहीका लागि सिटिजन्स बैंकबाट भएको पत्राचारअनुसार प्रहरीले बैंकका विभिन्न शाखामा कार्यरत ६ कर्मचारीलाई पक्राउ गरेको छ । चारजना फरार छन् । उनीहरूविरुद्ध लिखत किर्तेसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढ्छ

स्रोतका अनुसार बैंकले १० जना कर्मचारीमाथि कारबाही गर्न पत्राचार गरेको थियो । चारजना फरार छन् । नक्कली प्रमाणपत्रधारी धेरैजसो सोर्सफोर्समा भर्ना भएका बैंक स्रोत बताउँछ । उनीहरूले भारतका कलेजमा अध्ययन गरेको भनेर नक्कली प्रमाणपत्र पेस गरेका थिए ।

बैंकिङ क्षेत्रमा नक्कली प्रमाणपत्रको समस्या धेरै रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उच्च तहका कर्मचारीदेखि सञ्चालकसम्मले नक्कली प्रमाणपत्र पेस गर्ने गरेका छन् । सञ्चालक हुन पनि न्यूनतम शैक्षिक योग्यता तोकेपछि कतिपयले नक्कली प्रमाणपत्र पेस गरेको विषयमा नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको छ । 

निर्दाेष चिकित्सक चार दिन थुनामा 
नेपाल मेडिकल काउन्सिलको चरम लापरबाही र प्रहरीको कमजोरीका कारण एक निर्दाेष चिकित्सक चार दिनसम्म प्रहरी हिरासतमा बस्नुपरेको छ । नक्कली प्रमाणपत्रको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरेकोमा उनको प्रमाणपत्र सक्कली भएको पुष्टि भएको छ । उनकै नाम गरेका अर्का चिकित्सकको प्रमाणपत्र नक्कली रहेको भए पनि नाम मिलेकै आधारमा डा. यादवले अनाहकमा दुःख पाएका हुन् । निर्दाेष रहेको खुलेपछि प्रहरीले माफी मागेर सोमबार उनलाई रिहा गरेको छ । 

नेपाल मेडिकल काउन्सिलको गल्तीले डा. यादवमाथि अन्याय भएको हो । काउन्सिलले नक्कली प्रमाणपत्र भएका रञ्जितकुमार यादवको सट्टामा सक्कली प्रमाणपत्र भएका रञ्जितकुमार यादवको विवरण सिआइबीलाई पठाएको थियो । पक्राउ परेलगत्तै उनले आफ्नो प्रमाणपत्रमा कुनै कमजोरी नभएको बताएका थिए । तर, प्रहरीले उनको भनाइलाई मतलब नगरी अदालतमा उपस्थित गराएको थियो । अदालतले पनि प्रहरी दाबीअनुसार नै थुनामा राख्न म्याद दिएको थियो । पछि बुझ्दा उनी निर्दाेष भएको खुलेको हो । 

प्रहरीले देवेन्द्र यादवका छोरा रञ्जितकुमारको विवरण माग गरेकोमा विश्वनाथ यादवका छोरा रञ्जितको विवरण भुलवश पर्न गएको भन्दै काउन्सिलले आइतबार नै सिआइबीलाई पत्राचार गरेको थियो ।