१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १२:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार अभावमा नागरिकलाई ज्यान जोगाउनै मुस्किल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:५९:oo

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाइन्।

बायाँपट्टिको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँपट्टिको शरीर चल्न छोडेकोलगायतका स्वास्थ्य समस्यासँग लडिरहेकी ममता कोहलपुर मेडिकल कलेजको आइसियूमा उपचाररत रहेका वेला उनकाे मृत्यु भयाे।

आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचार हुन नसक्दा उनको मृत्यु भएको आफन्त बताउँछन्। उनका बुबा र आफन्तले सहयोगका लागि अपिल गरेका थिए। तर, उनको उपचारका लागि सहयोग जुट्न सकेन।

दुर्गम जिल्ला जुम्लाको विकट सिँजाबाट उपचारका लागि निजी अस्पतालमा पुग्दा ममताका आफन्तले अस्पतालले तोकेको खर्च व्यहोर्न सकेनन्। ममताका मामा सन्तोष बोहोराका अनुसार डाक्टरहरूको सल्लाहअनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सल्लाह दिएका थिए। ‘भेन्टिलेटरमा प्रतिदिन १४ हजारभन्दा बढी खर्च लाग्ने रहेछ,’ उनले भने, ‘त्यही खर्चको जोहो नहुँदा भान्जीकाे ज्यान गयो।’ 

गाउँले साथीभाइको सहयोगमा आइसियूमा राखेर उपचारपछि पनि ममताकाे हाेस नखुलेपछि डाक्टरले भेन्टिलेटरमा राख्न भनेका थिए। भेन्टिलेटरमा राखेर उपचार गर्न नसक्दा ममताले मृत्युवरण गर्नुपरेको बोहोराले बताए। छोरीले उपचार भारत गएर परिवार चलाउँदै आएका ममताका बुबा खुमबहादुर उपचारमा खर्च गर्न नसक्दा छोरी गुमाउनुपरेकाे पीडापछि उनी अझैसम्म सम्हालिन सकेका छैनन्।  

यस्तै, गुठीचौर गाउँपालिका– ५ गज्याङकोटका ५० वर्षीय कमानसिंह परियारले आर्थिक अभावका कारण उपचार नपाएरै ज्यान गुमाए। उनको ०७९ चैत ३ गते निधन भएको हो। उनका दुवै मिर्गौला फेल भएका थिए। पाँच महिनाअघि परिवारसहित रोजगारीका लागि छिमेकी मुलुक भारत गएका परियारका दुवै मिर्गौलाले काम गर्न छोडे। 

भारतमै उपचार गराउन नसकेपछि मिर्गौलापीडित कमानसिंहको परिवार ०७९ फागुन २५ गते जुम्ला आइपुगेका हुन्। दुई छोरी, एक छोरा र श्रीमतीसहित जुम्ला पुगेको वडाध्यक्ष इन्द्र बुढाले बताए। उनले भने– आर्थिक अभावका कारण घरमै मिर्गौलापीडित परियारकाे छटपटाएर निधन भयो भारतको हिमाचल प्रदेशको कटगाँउबाट आफ्नै जन्मभूमिमा मृत्युवरण गर्ने निधो गरी घर फर्केका थिए।

चन्दननाथ नगरपालिका– ३ डाँडाकोटका २६ वर्षीय राजन नेपाली उपचार खर्च जुटाउनै मुस्किल भइरहेको बताउँछन्। उनी विगत सात वर्षदेखि थला परेका छन्। आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गरे। पैसा खर्च हुँदै गयो। धन–सम्पत्ति नासिँदै गयो। तर, उनलाई निको भएन। झन् कमजोर हुँदै गए। जेनतेन अहिले उनले उपचार गरिरहेका छन्। 

तातोपानी गाउँपालिका– २ डाँगीका ३४ वर्षीय मानबहादुर खत्री विगत डेढ वर्षदेखि मिर्गौलासम्बन्धी गम्भीर समस्याबाट ग्रसित थिए । आर्थिक अभावले केही महिना घरमै थला परे। गाउँले सहयोग उठाएर काठमाडौं हुँदै भारतको लखनउसम्म लिएर उपचार गराए। 

मिर्गौलामा समस्या आइसकेकाले प्रत्यारोपणको विकल्प नरहेको डाक्टरले सल्लाह दिएपछि घरपरिवारले प्रत्यारोपणको लागि खर्च जोहो गरेतापनि सम्भव भएन। मिर्गौला दिने मान्छेकै खोजीमा रहेका खत्रीका दम्पतीलाई एक अवसर आयो, मिर्गौला दिएर, मिर्गौला हाल्ने। 

दाङकी सोफिया श्रेष्ठलाई पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने थियो। प्रत्यारोपण केन्द्रले क्रसम्याच गर्दा खत्रीकी श्रीमती ललिता रोकायाले सोफिया श्रेष्ठलाई मिर्गौला प्रत्यारोपण गरेको खण्डमा खत्रीलाई मिर्गौला पाइने भयो। आफ्नो श्रीमानको जीवनरक्षाका लागि मानबहादुरकी श्रीमती ललिता सोफियालाई मिर्गौला दिन तयार भइन्। 

उनले सोफियालाई आफ्नो मिर्गौला प्रत्यारोपण गरेपछि दाङका विकल्प पोखरेलले डेढ वर्षदेखि थलिएका मानबहादुर खत्रीलाई मिर्गौला दिए। गत साता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा खत्रीलाई मिर्गौला प्रत्यारोपण गरियो। अहिले दुवै श्रीमान्–श्रीमती उपचारमै छन्। तर, उपचार खर्चको चरम अभाव भएको छ। 

‘मिर्गौला प्रत्यारोपणमै ऋण गरेको सात–आठ लाख रुपैयाँ सकियो। अझै आइसियूमै छन्। होस खुलेको छैन,’ कुरुवा भीम कार्की भन्छन्, ‘मिर्गौला प्रत्यारोपणका लागि ऋण जोहो गरेको सात–आठ लाख रुपैयाँ सबै सकियो। खल्तीमा चिया खाने पैसासमेत छैन। अस्पतालमा अझै एक महिनाभन्दा बढी राख्ने कुरा छ। कसरी खर्च चलाउने ? एक दिनमै १०–१२ हजारको औषधि किन्नुपर्छ।’

खाने, बस्ने त परै जाओस् औषधि–उपचारका लागि मात्रै कम्तीमा ५–६ लाख रुपैयाँ खर्च हुने देखिन्छ। औषधि किन्नसमेत समस्या भएको कुरुवा कार्कीले सुनाए। मिर्गौला प्रत्यारोण गरिएका मानबहादुर खत्री र उनीकी श्रीमती ललिताको थप उपचारका लागि आर्थिक अभाव भएपछि उपचार खर्चका लागि आमनागरिकलाई सहयोग गर्न आग्रह गरेका छन्। 

चन्दननाथ नगरपालिका– १० बोहाेरागाउँकी ११ वर्षीया मिर्गौलापीडित सुस्मिता सार्कीलाई बचाउन उनको परिवारले सहयोगको आग्रह गरेकाे छ। उनको दुवै मिर्गौलामा गम्भीर समस्या देखिएको छ। सुस्मिता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा छन्। 

घरको आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा उपचार गर्न समस्या भएको बिरामीका आफन्त बताउँछन्। सुस्मिताका बुबा जनक नेपालीले घरको आर्थिक अवस्था कमजोर रहेकोले छोरीको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन्। 

चन्दननाथ नगरपालिका– १० सिलाम गाउँकी लालकौरा योगीलाई ब्लड क्यान्सर भएर काठमाडौंको पाटन अस्पतालमा उपचाररत छन्। थप उपचारका लागि आर्थिक समस्या भएकोले सबै सहयोग गर्न उनका श्रीमान खुम्बीलाल कुँवरले याचना गरिरहेका छन्। 

उपचार खर्च नै नभएर धेरै बिरामी समस्यामा परेका छन्। उनीहरूको उपचारका लागि लामो समयदेखि धेरै बिरामीका लागि सहयोगको क्याम्पियन चलाउँदै आएका पत्रकार सागर नेपाली भन्छन्– स्वास्थ्य सेवा निःशुल्क नभएकै कारण यस्तो भएको हो । धेरै बिरामीले उपचार खर्च जुटाइदिन आग्रह गर्दछन्। 

धेरैथोरै भए पनि उपचार खर्च जुटाएर बिरामीलाई सहयोग गर्ने गरिएको उनले बताए। उनले भने, ‘निःशुल्क उपचार गर्ने राज्यको दायित्व हो। तर, नेपालमा सरकारी अस्पतालभन्दा पनि निजी अस्पताल धेरै भएका कारण उपचारका लागि बिरामीले मोटो रकम खर्चिनुपर्ने बाध्यता छ।’ 

संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रदान गरे पनि उपचारको पहुँचबाट टाढा रहेका नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको नागरिक अगुवा राजबहादुर महत बताउँछन्। 

ad
ad