कुनै जमाना थियो, जतिवेला बच्चाहरू विभिन्न खेल खेल्थे । चकचक गर्ने, कुद्ने गरेर अभिभावकलाई हैरान पार्थे । सहरी इलाकामा हिजोआज खेल्नका लागि पर्याप्त स्पेस छैन । धेरै बच्चा एकोहोरो रूपमा मोबाइल, ल्यापटपलगायत डिभाइसमा घोत्लिएर बस्छन् । विभिन्न भिडियो गेम खेलेर उनीहरू लामो समय बिताइरहेका हुन्छन् । केही समययता अधिकांश बालबालिकामा पब्जी भिडियो गेम खेल्ने, टिकटक बनाउने लत बसेको छ । यस्तो लत बालबालिका मात्रै नभएर युवायुवतीलाई पनि परिसकेको छ ।
प्रविधिको युगमा देखिएको यो समस्यालाई हामी ‘स्क्रिन एडिक्सन’ भन्छौँ । आजको युगमा कसैलाई पनि प्रविधिबाट टाढा राख्न सकिँदैन । तर, यसको अत्यधिक प्रयोगमा नियन्त्रण अत्यावश्यक भइसकेको छ । अभिभावकले बालबालिकालाई मोबाइल र ग्याजेटको सही प्रयोग गर्न सिकाउनुपर्छ । अन्यथा, बढ्दो स्क्रिन टाइमका कारण बालबालिकामा अनिद्रा, मोटोपन, डिप्रेसन, कमजोर दृष्टिलगायत शारीरिक तथा मानसिक समस्या देखिन्छ ।
पाटन अस्पतालका बालविकास विशेषज्ञ डा. अनिलराज ओझा बच्चाहरूको वृद्धिविकासमा यसले असर पुर्याइरहेको बताउँछन् । ‘मोबाइल नपाउँदा छटपटी हुने, बिस्तारै टाउको दुख्ने, निद्रा नलाग्ने तथा रिस उठ्नेजस्ता समस्या प्रायमा देखिन्छ । कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने हुन्छ । पब्जीजस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलाप गर्ने जोखिम रहन्छ ।’
अमोहा क्लिनिकका मनोविद् डा. विजय ज्ञवाली स्क्रिन टाइम नियन्त्रण गर्न नसक्दा बालबालिकामा डिजिटल अटिजम हुने खतरा देखिएको बताउँछन् । ‘केही समयअघि एक अभिभावकले पाँच वर्षको बच्चा लिएर मकहाँ आउनुभएको थियो । ती बच्चाको बोली तीन वर्षमा फुटेको रहेछ । बिस्तारै उनले बोल्न छाडे । उनकी आमा पसलमा काम गर्ने, दिनभरि बच्चालाई मोबाइल दिने, जसले गर्दा बोल्नै बिर्सिएछन् । इसाराले मात्रै गफ गर्ने बानी रहेछ । स्क्रिनमा लामो समय बिताएको भएर उनलाई डिजिटल अटिजम भएछ । थेरापी गर्न थालेपछि ठीक भयो,’ उनले भने । अभिभावकका केही सामान्य गल्तीका कारण बच्चाको स्क्रिन टाइम बढ्दै जान्छ र त्यो लतका रूपमा विकास हुन्छ । ‘हिजोआज बच्चालाई खाना खाँदा मोबाइल देखाएर खुवाउने चलन छ । उसले के खाँदै छु भन्ने थाहा पाउँँदैन । घरमा पाहुना आउँदा पनि डिस्टर्ब हुन्छ भनेर मोबाइल थमाइदिने चलन हुन्छ,’ ज्ञवालीले भने, ‘बाबु–आमा काममा जान्छन् र बच्चा दिउँसोभरि मोबाइल चलाएर बस्छन् । कालान्तरमा यो लत बन्छ ।’
अभिभावकको लापरवाही
लालच : बच्चाले अनेक डिमान्ड गरिरहेका हुन्छन् । त्यस्ता डिमान्डबाट आजित कतिपय अभिभावक सहज बाटो खोज्छन् र उनीहरूको मन भुलाउन मोबाइल वा ल्यापटप प्रयोग गर्न दिन्छन् । र, कालान्तरमा बच्चालाई यसैको बानी पर्छ । बच्चाले मागेका कुरा दिन नसकेका वेला उनीहरूलाई सम्झाउनुपर्छ । घुमाउन लैजान पनि सकिन्छ । फकाउने अनेक विधि छन् । तर, मोबाइलको लालच देखाउनुहुँदैन ।
फोनको अत्यधिक प्रयोग : कतिपय अभिभावक आफैँ फोन वा टिभी हेरेर घन्टौँ बिताउँछन् । अभिभावकबाट बालबालिकाले पनि यस्तै गर्न सिक्छन् । यदि तपाईं बच्चाकै अगाडि सामाजिक सञ्जाल वा मोबाइल चलाइराख्नुहुन्छ भने उनीहरूलाई यसबाट टाढा राख्न असम्भव हुन्छ । । बच्चासँग समय बिताउँदा मोबाइल टाढा राख्नुस् ।
समय नदिनु : जब अभिभावकले समय दिँदैनन्, तब बच्चाले समय बिताउने तरिका आफैँ खोज्छन् । त्यसैले अभिभावकले बच्चालाई पर्याप्त समय दिनुपर्छ । उसले के भन्दै छ, के गर्दै छ भन्ने कुरा ख्याल गर्नुपर्छ । उनीहरूले भनेका कुरा सुन्नुस् । रमाइलो कुराकानी गर्नुस्, उनीहरूलाई उत्प्रेरित गर्नुस् । प्रेरणादायी कथाहरू सुनाउनुस् ।
शारीरिक गतिविधिको कमी : बच्चाले अल्छी गर्नासाथ अभिभावकहरू टिभी खोलिदिन्छन् वा मोबाइल थमाइदिन्छन् । तर, बच्चालाई मोबाइलमा होइन, मैदानमा खेलाउनुपर्छ । उनीहरूलाई विभिन्न इन्डोर तथा आउटडोर खेल खेलाउन सकिन्छ । चेस, लुडोलगायत विभिन्न खेल खेलेर उनीहरूसँगै रमाइलो गर्न सकिन्छ । फुटबल, क्रिकेट, कराँतेजस्ता खेलले उनीहरूलाई शारीरिक रूपमा सक्रिय बनाउँछ ।
के गर्ने ?
दुई वर्षभन्दा मुनिका बच्चालाई झुक्किएर पनि मोबाइल दिनुहुँदैन । दुई वर्षभन्दा माथिका बालकलाई केही समय मोबाइल चलाउन वा टिभी हेर्न दिँदा हुन्छ, तर अभिभावकसँगै राखेर छोटो समय मात्रै । ६ वर्षपछि उनीहरूसँगै बसेर मोबाइलमा कहिलेकाहीँ गेम खेल्न सकिन्छ । तर, उनीहरूलाई इन्डोर र आउटडोर खेल पनि खेलाउनुपर्छ । जसकारण, शारीरिक रूपमा उनीहरू सक्रिय हुन्छन् र स्क्रिनमा ध्यान कम जान्छ । किशोरावस्थामा पुगेपछि मोबाइल, ल्यापटप, टिभीमा उनीहरूको रुचि बढेर जानु स्वाभाविक हो । यतिवेला उनीहरूलाई थर्काएर हुँदैन, मोबाइलको प्रयोग सीमित मात्रामा गर्नुपर्छ भनेर राम्ररी सम्झाउनुपर्छ । टिभी हेर्दा पनि बैठक कोठामा बसेर परिवारसँगै हेर्ने बानी विकास गर्नुपर्छ । किताब पढ्ने, चेस खेल्नेलगायत बानी विकास गर्न सकिन्छ ।