१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व

नाइजरको ‘कु’प्रति पश्चिम किन यति धेरै चिन्तित ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४६:oo

विगत एक दशकदेखि पश्चिमी अफ्रिकाको सुक्खा एवं विपन्न साहेल क्षेत्र (उत्तरमा सहारा र दक्षिणमा सुडानी साभाना क्षेत्रबीचको मध्यअफ्रिकी इलाका)मा हिंस्रक जिहादी, तानाशाह र विद्रोहीविरुद्धको लडाइँ चलिरहेको छ । साहेल क्षेत्रको महत्वपूर्ण मुलुक नाइजरमा गत २६ जुलाईमा भएको सैन्य ‘कु’पछि यो संघर्ष संकटको बिन्दुमा पुगेको छ । केही समयपहिले माली र बुर्किना फासोमा सैन्य ‘कु’ भएपछि नाइजर यो क्षेत्रको अन्तिम अर्ध–सञ्चालित राज्य थियो । यहाँको पछिल्लो परिदृश्य तरबारको धारजस्तो देखिएको छ । 

पश्चिमी अफ्रिकी राज्यहरूको एक समूह ‘इकोवास’ले नाइजरमा निर्वाचित सरकारलाई अगस्ट ६ सम्ममा पुनस्र्थापित नगरे जुन्ता (सैन्य सरकार)विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएको छ र यो समय सकिएको छ । दीर्घकालीन परिदृश्यमा यो क्षेत्रको अस्थिरता अफ्रिकी महाद्वीपभर फैलने देखिन्छ । घाना र नाइजेरियाजस्ता ठूला अर्थतन्त्र खतरामा पर्नेछन् भने अतिवाद र आतंकवाद अफ्रिकाबाहिर समेत विस्तारित हुन सक्छ । नाइजरको दुःस्वप्न साहेलमा अस्थिरतातर्फको अर्काे खतरनाक कदम हो र यो विश्वव्यापी सुरक्षा खतरा बन्दै छ । 

नाइजरका जननिर्वाचित राष्ट्रपति मोहम्मद बजोमलाई ‘कु’द्वारा अपदस्त गरी जनरल अब्दुरामाने चियानी नेतृत्वको सेनाले बारुदमा सलाई कोर्ने काम गरेको छ । यसपछि, पूर्वऔपनिवेशिक शक्ति फ्रान्सले नाइजरबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ । यहाँ जिहादीविरुद्ध लड्न फ्रान्सका १५ सय सैनिक तैनाथ छन् । प्रदर्शनकारीले राजधानी नियामेस्थित फ्रान्सेली दूतावासमा आगजनी गर्न खोजेपछि उसले आफ्नो हितविरुद्ध हुने कुनै पनि आक्रमणको ‘सम्झौताहीन प्रतिक्रिया’ दिने धम्की दिइसकेको छ । नाइजरको जुन्ताले इकोवासको ‘आक्रमणको योजना’को प्रतिवाद गर्ने बताएको छ । माली र बुर्किना फासोको सैन्य सत्ताले नाइजरमाथिको आक्रमणलाई आफूहरूमाथिको युद्धको घोषणाका रूपमा लिने बताएका छन् ।

अफ्रिकामा जिहादी संकटको परिमाण डरलाग्दो छ । साहेलका साथै लडाकुहरूले उत्तरपूर्वी नाइजेरिया र सोमालियाको विशाल भूभागलाई आफ्नो नियन्त्रणमा लिएका छन् । समग्रमा यी क्षेत्र १० प्रतिशतभन्दा बढी सब–सहारान अफ्रिकीको घर हो । गत जुनसम्मको एक वर्षमा जिहादीसँग सम्बन्धित हिंसामा यो क्षेत्रमा २२ हजारभन्दा बढी अफ्रिकीको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी हो भने सन् २०१४ मा इराकमा इस्लामिक स्टेटसँगको युद्ध उत्कर्षमा रहेका बखत मारिनेहरूको संख्याभन्दा दोब्बर हो ।

अफ्रिकाका लागि अमेरिकाका एक वरिष्ठ सैन्य कमान्डरले यस वर्षको सुरुमै चरमपन्थी समूह बढ्दै जाँदा ‘अमेरिकी नागरिक, दूतावास र अन्ततः अमेरिकाविरुद्ध नै आतंकवादी षड्यन्त्रको खतरा बढ्ने सम्भावना रहेको र यो महाद्वीपमा एकपटक खतरा उत्पन्न भएपछि त्यो विश्वव्यापी खतरामा परिणत हुने’ चेतावनी दिएका थिए
 

नाइजर ‘कु’का योजनाकारले जिहादीविरुद्ध डटेर लड्ने र मुलुकलाई जिहादीमुक्त बनाउने दाबी गरेका छन्, तर बुर्किना फासो र मालीमा जुन्ताले निर्वाचित सरकारहरू ढालेपछि जिहादी हिंसा बढेको थियो । हरितन्नम, अवैध र जनताबाट कटेका सैन्य सरकारले यस्ता गहिरा समस्याको समाधान गर्दैनन् ।

जिहादी हिंसा सामाजिक र आर्थिक पतनको संकेत हो । साहेलको सन्दर्भमा जनसंख्या वृद्धि र जलवायु परिवर्तनले भूमि र अन्य स्रोत हत्याउने प्रतिस्पर्धा बढाएको छ, साथै आन्तरिक आप्रवासनलाई अस्थिर बनाएको छ । भ्रष्ट र अक्षम सरकारले यस्ता समस्यालाई चर्काउँछन्, सिकारी नोकरशाही र क्रूर सेना सिर्जना गर्छन्, जसले साम्प्रदायिक तनावलाई बढावा दिने र जातीय अल्पसंख्यकलाई प्रताडित गरेर जिहादलाई बढावा दिन्छन् ।

औपनिवेशिकतापछिको निराशा र पश्चिमाप्रतिको अरुचिले यो द्वन्द्वलाई अझ बढाएको छ । सन् २०१३ मा साहेलमा जिहादीविरुद्ध लड्न फ्रान्स नेतृत्वको सैन्य प्रयासले निराशाजनक नतिजा निकालेको थियो, जसको आंशिक कारण फ्रान्सप्रतिको अविश्वास पनि थियो । पश्चिमी मुलुकको सहयोगको सट्टा यहाँका केही देशले वाग्नरका भाडाका सैनिकलगायत खराब स्थानबाट सहयोग लिएका छन् । तिनको नेतृत्वचाहिँ येवगेनी प्रिगोजिनले गरेका छन्, जो भर्खरै रुसमा असफल विद्रोहको नेतृत्व गरेका व्यक्ति हुन् र उनलाई यो क्षेत्रमा शान्ति ल्याउनभन्दा पनि यहाँका खनिज सम्पदा आफ्नो हात पार्नमा बढी रुचि छ ।

बाँकी अफ्रिका र बाहिरी विश्वका लागि अब केही नगर्नु नै एउटा विकल्प भएको छ । आखिर अतिवादलाई नियन्त्रण गर्न र साहेलमा स्थिर सरकार स्थापना गर्न बारम्बार गरिएका प्रयास जो असफल भएका छन् । यो समस्या अब भौगोलिक रूपमा सीमित छैन । विद्रोहीहरूले सीमा पार गरेर पश्चिमतिर विस्तारित हुने र घाना र आइभोरी कोस्टलगायत तटीय क्षेत्रका धनी र घना आवादी भएका देशलाई अस्थिर पार्ने धम्की दिइरहेका छन् ।

घाना र आइभोरी कोस्ट सब–सहारा अफ्रिकाका दश ठूला अर्थतन्त्रमध्येका हुन् । यी जिहादी यो क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र नाइजेरियाका चरमपन्थीसँग जोडिन सक्छन् । अफ्रिकाका लागि अमेरिकाका एक वरिष्ठ सैन्य कमान्डरले यस वर्षको सुरुमै चरमपन्थी समूह बढ्दै जाँदा ‘अमेरिकी नागरिक, दूतावास र अन्ततः अमेरिकाविरुद्ध नै आतंकवादी षड्यन्त्रको खतरा बढ्ने सम्भावना रहेको र यो महाद्वीपमा एकपटक खतरा उत्पन्न भएपछि त्यो विश्वव्यापी खतरामा परिणत हुने’ चेतावनी दिएका थिए । 

त्यसैले अफ्रिकी जिहादलाई नियन्त्रण गर्न विश्वव्यापी प्रयास आवश्यक छ । यसको अर्थ यसलाई समूल सम्बोधन गर्नुपर्छ भन्ने हो । विडम्बनापूर्ण तरिकाले नाइजरले यतैको बाटो देखाइरहेको छ । नाइजरमा पहिलो लोकतान्त्रिक सत्ता हस्तान्तरणमार्फत सन् २०२१ मा राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेका बजुमले स्वास्थ्य र शिक्षाजस्ता शासन र सेवामा सुधार गरेका छन् । उनले स्थानीय गुनासा र जातीय विवादलाई वार्ताको माध्यमबाट समाधानको प्रयास गरेका छन् र केही जिहादीलाई आममाफीको प्रस्ताव गरेर हतियार बिसाउन राजी गराएका छन् । उनले पश्चिमका सेनालाई बोलाएर आतंककारीसँग लड्न यहाँका सेनालाई तालिम दिलाएका छन् । उनको सरकारले इस्लामिक खतरा नियन्त्रणको दिशामा प्रगति देखाएको छ । त्यसैले, ‘इकोवास’ले नाइजरको ‘कु’ उल्ट्याउन सक्छ भनेर आशा गर्न सकिन्छ । यो क्षेत्रमा यस्तो पहिले पनि भएको छ । इकोवासले विगत दुई दशकमा गाम्बिया, गिनी र साओ टोमलगायतमा ‘कु’लाई उल्ट्याइसकेको छ ।

यदि नाइजरको सत्तामा सैन्य जुन्ता रहिरह्यो भने पश्चिमले यो देशबाट आफ्ना सहयोग फिर्ता गर्नुपर्छ र यहाँको तटीय क्षेत्रका घना आवादीयुक्त देशलाई अफ्रिकी जिहादवादविरुद्ध डटेर लड्नमा सहयोगलाई केन्द्रित गर्नुपर्छ । अर्थात् यी राज्यलाई जिहादवादलाई रोक्न व्यापक दृष्टिकोण अपनाउन आग्रह गर्नुपर्छ । उनीहरूलाई नाइजरबाट (मोहम्मद बजोमकालका) विधिको शासन र सहज र सुलभ सेवाहरूको महत्वबारे सिक्न उत्प्रेरित गर्नुपर्छ ।

यसको अर्थ जिहादीविरुद्ध लड्ने सैनिकलाई स्थानीय जनतासँग निर्मम व्यवहार नगर्न र यस क्षेत्रका सरकारको निमन्त्रणामा पश्चिमा सेनाहरूको प्रत्यक्ष सैन्य हस्तक्षेपका लागि खुला रहन प्रशिक्षण दिनुपर्छ । र, यसको अर्थ जिहादवादविरुद्ध लड्न औपनिवेशिक शक्तिसहितको व्यापक गठबन्धन निर्माण गर्नुपर्छ भन्ने पनि हो । स्थिर र समृद्ध हुँदै गएको अफ्रिकाप्रति चीन र टर्कीलगायत अहिले धेरै देशको चासो छ । तिनले पनि यी देशलाई मद्दत गर्न आवश्यक छ । खतरा तात्कालिक छ र जिहादीहरू ढोकैमा छन् । 
–द इकोनोमिस्टबाट
 

ad
ad