१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हुलाकी सडक अलपत्र : ठेकेदारविरुद्ध स्थानीयको अनिश्चितकालीन धर्ना

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२९:oo

थप गरेको समयमा पनि निर्माण सम्पन्न नगरी हुलाकी सडक अलपत्र छाडेपछि मोरङमा स्थानीयवासीले अनिश्चितकालीन धर्ना थालेका छन् । मोरङको कटहरी र धनपालथान गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबारदेखि हुलाकी सडक अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई कारबाही माग गर्दै अनिश्चितकालीन धर्ना थालेका हुन् । 

अनिश्चितकालीन धर्नाका लागि स्थानीयले विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयअगाडि पाल टाँगेर धर्नास्थल निर्माण गरेका छन् । उनीहरू बिहान १० देखिसाँझ ५ बजेसम्म धर्ना बस्न थालेका छन् । आन्दोलित भएका स्थानीयले हुलाकी सडकमा लापरबाही गर्ने कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्नुपर्ने, समयमै सडक निर्माणलाई तीव्रता दिनुपर्ने, सडकमा पानी निकास हुने गरी नाला र कल्भर्ट निर्माण गर्नुपर्ने माग राखेका छन् । 

यस्तै, विराटनगर र कटहरी जोडने सिंघिया–कटहरी–धनपालथान जोड्ने लोहन्द्रा खोलाको जीर्ण पुल चाँडो निर्माण गर्नुपर्ने उनीहरूको माग छ । ‘पटक–पटक ज्ञापन बुझाउने, डेलिगेसन जाने, सर्वदलीय सर्वपक्षीय छलफल गर्नेगर्दा पनि हुलाकी सडक निर्माणले गति लिएन, यसैले हामी वाक्कदिक्क भएर अनिश्चितकालसम्म धर्ना बस्न थालेका हौँ । माग पूरा नभएसम्म हामी कुनै हालतमा ब्याक हुनेछैनौँ,’ स्थानीयका भनाइ छ । अलपत्र हुलाकी सडक निर्माणका लागि दबाब दिन उनीहरूले संयुक्त नागरिक संघर्ष समिति बनाएका छन् । स्थानीयको आन्दोलनलाई यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सबै दलका सांसदले पनि समर्थन जनाएका छन् ।  

पालिका प्रमुख र सांसद पनि आन्दोलित 
हुलाकी सडक निर्माण चाँडो सम्पन्न गर्न दबाब दिनका लागि मोरङका विभिन्न पालिकाका प्रमुख, संघ र प्रदेशका सांसदले समेत पटक–पटक ज्ञापनपत्र बुझाएका छन् । तैपनि अझैसम्म मोरङमा हुलाकी सडकको निर्माणले तीव्रता पाउन सकेको छैन । २१ वैशाख ०८० मा हुलाकी सडक निर्माण गर्न आयोजना र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै मोरङको २, ४ र ५ नम्बर क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसद अनि प्रभावित पालिकाहरू कटहरी र धनपालथान अनि रंगेली, सुनबर्सी र रतुवामाई नपाका अध्यक्षहरूले पनि ठेकेदारविरुद्ध सडकसंघर्ष घोषणा गरेका थिए । 

म्याद थप गर्दा पनि उस्तै अवस्था 
नेपाललाई दक्षिणतर्फबाट पूर्व–पश्चिम जोड्ने लाइफलाइन राजमार्गका रूपमा चर्चित हुलाकी राजमार्ग मोरङको विराटनगरको केशलिया खोलादेखि पूर्व रतुवा खोलासम्मको लम्बाइ कुल ९६ किलोमिटर छ । यसभित्र मोरङका ६ वटा पालिका र तीनवटा ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्र पर्छन् । मोरङमा हुलाकी क्षेत्रमा पर्ने हुलाकी सडक निर्माण गर्न २४ कात्तिक ०७६ मा चार खण्डमा ठेक्का लागेको थियो । ३६ महिनामा सम्पन्न हुनुपर्ने निर्माण कार्य पूरा नभएपछि पुनः ६ महिना म्याद थप गरिएको थियो । तर, थपिएको समयमा पनि प्रगति सन्तोषजनक भने छैन ।

ad
ad