Skip This
हुलाकी सडक अलपत्र पार्ने ठेकेदारविरुद्ध स्थानीयकाे अनिश्चितकालीन धर्ना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o८o श्रावण २२ सोमबार १३:३३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुलाकी सडक अलपत्र पार्ने ठेकेदारविरुद्ध स्थानीयकाे अनिश्चितकालीन धर्ना

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १३:३३:oo

म्याद थप गरेको समयमा पनि काम सम्पन्न नगरी हुलाकी सडक निर्माण अलपत्र छाडेको भन्दै मोरङमा स्थानीयवासीले अनिश्चितकालीन धर्ना थालेका छन्।  

मोरङको कटहरी र धनपालथान गाउँपालिकाका स्थानीयले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबारदेखि हुलाकी सडक अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई  कारबाही माग गर्दै अनिश्चितकालीन धर्ना थालेका हुन्। 

अनिश्चितकालीन धर्नाका लागि स्थानीयले विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयअगाडि पाल टाँगेर धर्नास्थल निर्माण गरेका छन्। आइतबारदेखि उनीहरू बिहान १० देखिसाँझ ५ बजेसम्म धर्ना बस्न थालेका हुन्। 

आन्दोलित भएका स्थानीयले हुलाकी सडकमा लापरबाही गर्ने कम्पनीलाई धरौटी जफत गरी कालोसूचीमा राख्नुपर्ने, समयमै सडक निर्माणलाई तीव्रता दिनुपर्ने, सडकमा पानी निकास हुने गरी नाला र कल्भर्टहरू निर्माण गर्नुपर्ने माग राखेका छन्। 

यस्तै, विराटनगर र कटहरी जोडने सिँघिया–कटहरी–धनपालथान जोडने लोहन्द्रा खोलाको जीर्ण पुल चाँडो निर्माण गर्नुपर्ने उनीहरूको माग छ। ‘पटक–पटक ज्ञापन बुझाउने, डेलिगेसन जाने, सर्वदलीय सर्वपक्षीय छलफल गर्ने गर्दा पनि हुलाकी सडक निर्माणले गति लिएन, यसैले हामी वाक्कदिक्क भएर अनिश्चितकालसम्म धर्ना बस्न थालेका हौँ। माग पूरा नभएसम्म हामी कुनै हालतमा ब्याक हुनेछैनौँ,’ स्थानीयका भनाइ छ । 

अलपत्र हुलाकी सडक निर्माण गर्न संयुक्त नागरिक संघर्ष समिति नै निर्माण गरेर आन्दोलित भएका स्थानीयको आन्दोलनलाई संघ र प्रदेशका सबै दलका सांसदले पनि समर्थन जनाएका छन्।   

पटक–पटक हुलाकी सडक समयमै गुणस्तरीय ढंगले निर्माण गराउन माग गर्दै आए पनि बेवास्ता हुँदै आएकाले स्थानीयले  हदैसम्म सास्ती भोगिरहनुपरेको भन्दै चाँडो निर्माण गराउन र ठेकेदार कम्पनीलाई कारबाही गर्न माग गर्दै मोरङको धनपालथान र कटहरी गाउँपालिकाका स्थानीयले शुक्रबार जिल्ला प्रशासन मोरङमार्फत प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र पठाएका थिए।

हुलाकी सडक निर्माणका लागि मोरङवासीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघ र प्रदेशका सांसदहरूदेखि हुलाकी राजमार्ग निर्देशनालयलगायत सबैलाई २१ साउनदेखि हुलाकी सडक निर्माणका लागि धर्ना बस्नेबारे जानकारी गराएका थिए। 
    
पालिका प्रमुख र सांसद पनि आन्दोलित 

हुलाकी सडक निर्माण चाँडो सम्पन्न गर्न मोरङमा स्थानीयवासी मात्र नभएर पालिका प्रमुख, संघ र प्रदेशका सांसदले समेत पटक–पटक ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, प्रशासनमार्फत सर्वदलीय छलफल गराएर दबाब दिँदै आएका छन्। 

तैपनि अझैसम्म मोरङमा हुलाकी सडकको निर्माणले तीव्रता पाउन सकेको छैन। २१ वैशाख २०८० मा हुलाकी सडक निर्माण गर्न आयोजना र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै मोरङको २, ४ र ५ नम्बर क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसद अनि प्रभावित पालिकाहरू कटहरी र धनपालथान अनि रंगेली, सुनबर्सी र रतुवामाई नपाका  अध्यक्षहरूले पनि ठेकेदारविरुद्ध सडक संघर्ष घोषणा गरेका  थिए।

हुलाकी सडक निर्माणको गुणस्तर परीक्षण गर्नुपर्ने, अधुरा काम तुरुन्त पूरा गर्नुपर्ने, सडकको सौन्दर्यीकरण गर्नुपर्ने र निर्माणको प्रगति सार्वजनिक गरिनुपर्ने उनीहरूको माग थियो। 

म्याद थप गर्दा पनि उस्तै अवस्था 

नेपाललाई दक्षिणतर्फबाट पूर्व–पश्चिम जोडने लाइफलाइन राजमार्गका रूपमा चर्चित हुलाकी राजमार्ग मोरङको विराटनगरको केशलिया खोलादेखि पूर्व रतुवा खोलासम्मको लम्बाइ कुल ९६ किलोमिटर छ।

यसभित्र मोरङका ६ वटा पालिका र तीन वटा ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्र पर्छन्। मोरङमा हुलाकी क्षेत्रमा पर्ने हुलाकी सडक निर्माण गर्न २४ कात्तिक ०७६ मा  चारखण्डमा ठेक्का लागेको थियो। 

३६ महिनामा सम्पन्न हुनुपर्ने निर्माण कार्य पूरा नभएपछि पुनः ६ महिना म्याद थप गरिएको थियो। तर, थपिएको समयमा पनि प्रगति सन्तोषजनक भने छैन। कागजमा हुलाकी सडक निर्माणको प्रगति देखाइए पनि फिल्डमा भने अझै अलपत्र अवस्थामा रहेको स्थानीय बताउँछन्।