मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
तिवारी यादव वीरगन्ज
२०८० श्रावण २१ आइतबार १२:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुख ठेकेदारसँग भारत भ्रमणमा 

Read Time : > 1 मिनेट
२०८० श्रावण २१ आइतबार १२:०७:००

बाराको परवानीपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुख एकैपटक बिदा लिएर भारत भ्रमणमा निस्किएका छन्। 

गत सोमबारदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, लेखा शाखाका प्रमुख आयुश साह, योजना शाखाका प्रमुख रुपेश मण्डल र वडा नम्बर ५ बहुवरी स्वास्थ्य चौकीका प्रमुख हरिओम प्रसाद एकैपटक भारत भ्रमणमा निस्किएका हुन्। 

उनीहरू पालिकामा लामो समयदेखि निर्माण व्यवसायको काम गर्दै आएका ठेकेदार तुना साहसँग भारत भ्रमणमा निस्किएको कर्मचारीले बताए। निर्माण व्यवसायी ठेकेदार साह प्रमुख प्रशासकीय अधिकृत रौनियारका निकट व्यक्ति हुन्। 

पालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतलाई भारत भ्रमण सकिएर नआएसम्म प्रमुख प्रशासकीय अधिकृतले मौखिम रूपमा रेखदेखको जिम्मेवारी दिएको जिन्सी शाखाका अजय कुशवाहले जानकारी दिए। 

उनले भारत भ्रमणमा गएको जानकारी आफूले पनि पाएको, तर कति दिनको बिदा लिएको विषयमा जानकारी नरहेको बताए। भारतको जम्मुमा रहेको वैष्णोदेवी दर्शन गरेर फर्किने योजना रहेको स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतले जानकारी दिए। 

कर्मचारी स्रोतका अनुसार आर्थिक वर्ष ०७९/८० सकिएर कामको चाप कम भएपछि निर्माण व्यवसायी ठेकेदार साहले कर्मचारीहरूलाई भ्रमणमा लगेका हुन्। 

शाखागत प्रमुख बिदामा बस्दा सेवा प्रभावित 

पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका शाखागत प्रमुख बिदा लिएर भ्रमण निस्केपछि सेवा प्रभावित बनेको छ।  पालिकाले अहिले चालू आर्थिक वर्ष आर्थिक वर्ष ०८०/८१ विभिन्न ठेक्काट्टाको बोलपत्र आह्वान गरेको छ। 

तर, पालिकाका प्रमुख कर्मचारी नै बिदामा रहेपछि बोलपत्रको फारम भर्नेदेखि विभिन्न काम नै रोकिएको सेवाग्राही विन्देश्वर पटेलले बताए। पालिकाका कार्यपालिका सदस्य जगदीश रामले पनि प्रमुख कर्मचारीहरू नै लामो समयदेखि बिदामा बसेको आफूले पनि जानकारी पाएको बताए। 

कर्मचारीहरू कहिलेदेखि कति दिनसम्मको बिदा लिएर भ्रमणमा निस्किएको विषयमा खासै जानकारी नरहेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत रौनियारसँग यस विषयमा जानकारी लिन खोज्दा फोन नै उठाएनन्।