१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सरकारले एक लाख टन चामल र १० लाख टन धान आयात गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२७:oo

भारतले बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि सरकारले खाद्यान्न अभाव हुन नदिन तत्काल एक लाख मेट्रिकटन चामल र १० लाख मेट्रिकटन धान ल्याउने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले धान र चामलसहित ५० हजार मेट्रिकटन चिनीसमेत ल्याउन लागेको बताए ।   

व्यवसायीहरूले तीन महिनासम्मका लागि चामलको मौज्दात रहेको जानकारी दिएपनि सम्भावित अभाव र मूल्यवृद्धिलाई रोक्न तत्काल चामल ल्याउन लागेको उनको भनाइ छ । सरकारले कुन विधि र प्रक्रियामार्फत चामल आयात गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । जिटुजीमार्फत वा खाद्य व्यापार कम्पनीमार्फत ल्याउन सकिनेबारे छलफल भइरहेको उनले बताए । पछिल्लो समय चिनीको उत्पादन कम भएको र गत वर्ष ल्याएको ४० हजार मेट्रिकटन चिनी सकिएको हुँदा थप ५० हजार टन ल्याउँदा पर्याप्त हुने तथा माग र आपूर्तिको सन्तुलन मिलाउन सकिने ठाकुरको दाबी थियो ।  

एक लाख मेट्रिकटन चामल तत्कालै सरकारद्वारा सरकारमार्फत (जिटुजी) प्रक्रियामार्फत ल्याउने निर्णय भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिए । उनले भने, ‘हाम्रो धान उत्पादन ५५–५६ लाख मेट्रिकटन हो, माग ६५ देखि मेट्रिकटनको छ, त्यसैले १० लाख मेट्रिकटन धान ल्याउने तयारी गरिएको हो ।’ 

भारतले चामल निर्यातमा रोक लगाएपछि साउन ४ र ६ गते मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

त्यसक्रममा मुख्यसचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए । सोहीअनुसार तत्काल चामल र धान ल्याउने तयारी भएको विभागले जनाएको छ । नेपाल चामल, तेल–दाल उद्योग संघका सदस्य नरेश राठीले १० लाख मेट्रिकटन धान भए पुग्ने बताए ।उनका अनुसार भारतले हरेक वर्ष कात्तिक–मंसिरसम्मका लागि करिब ६ लाख मेट्रिकटन धान नेपालमा निर्यातका लागि कोटा छुट्याउँदै आएकोमा यसपटक साउनमै कोटा पूरा भइसकेको छ । उनले भने, ‘अघिल्लो वर्ष ६ लाख कोटामा साउनसम्म मात्र पुग्यो, त्यसैले यसपटक १० लाख भए कात्तिक–मंसिरसम्म पुग्छ भनेर सोहीअनुसार प्रस्ताव गरेका थियौँ ।’ बढी खपत हुँदा यसपटक कोटाको धान आइसकेको र अहिले चामलको मूल्य बढेको उनको भनाइ छ ।  

चामल निर्यातमा रोक लगाउँदा मागअनुसार आपूर्तिमा केही असहज भएको तथा भारतले धानको मूल्य प्रतिकिलो तीन रुपैयाँ भारुले बढाएको कारण मूल्यमा असर गरेको उनले दाबी गरे । तत्काल धान र चामल नल्याउने हो भने चाडपर्वका वेलामा चामल अभाव हुने र मूल्य झनै बढ्न सक्ने राठीले बताए ।

भारतले दुई हप्ताअघि नेपाललगायत विभिन्न देशमा बासमतीबाहेकको चामलमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले चामलको मूल्य बोरामै दुई सय रुपैयाँसम्म बढाएका छन् । उपभोक्ता अधिकारवादी ज्योति बानियाँले चामलको मूल्य सर्वाधिक बढेको हुँदा उपभोक्ता मारमा परेको बताए । उनले भने, ‘विभागसँग अहिले अनुगमन गर्ने जनशक्तिको अभाव देखिएको छ ।

तुरुन्त जनशक्ति बढाएर अनुगमन थाल्न र उपभोक्तालाई खाद्यान्नको जोहो गर्न सरकारलाई अनुरोध गर्दै आएका छौँ ।’ चिनीदेखि सबै खाद्यान्नको मूल्य बढ्दा पनि  अनुगमन चुस्त हुन नसकेकाले उपभोक्ता सीधा मारमा परेको उनको भनाइ छ । गत आर्थिक वर्ष ०७९÷८० को जेठ मसान्तसम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धान–चामल आयात भएको छ । 

ad
ad