१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o८:३४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुईपटकको च्याम्पियन जर्मनी बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३४:oo

दुईपटकको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा पहिलोपटक समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’मा प्रिक्वार्टरफाइनलमा पुग्न जर्मनीले दक्षिण कोरियालाई हराउनुपर्ने थियो । बराबरी वा हारको नतिजाले जर्मनी प्रतियोगिताबाट बाहिरिने शतप्रतिशत थियो । गर या मरको खेलमा दक्षिण कोरियासँग १–१ को बराबरी खेलेपछि जर्मनी घर फर्किएको हो । जर्मनी सन् २००३ र सन् २००७ को संस्करण च्याम्पियन हो । 

प्रतियोगिताको उपाधि दाबेदार मानिएको जर्मनी समूह ‘एच’मा तीन खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो । यस समूहबाट अप्रत्याशित रूपमा कोलम्बिया र मोरक्कोले अन्तिम १६ को स्थान पक्का गरेका छन् । मोरक्को पहिलोपटक नकआउट चरणमा पुगेको हो । एक अंक जोडेको दक्षिण कोरिया पुछारमा छ । कोलम्बिया र मोरक्कोले तीन खेलबाट समान ६ अंक जोडेका छन् । गोलअन्तरमा मोरक्को पछि परेका कारण उपविजेता बनेको हो । 

प्रतियोगितामा जर्मनीले उत्कृष्ट सुरुवात गरेको थियो । समूहकै पहिलो खेलमा जर्मनीले कोलम्बियामाथि ६–० को सानदार जित निकाली अन्य शक्तिशाली राष्ट्रलाई खबरदारी दिएको थियो । त्यसपछि दोस्रो खेलमा जर्मनी अप्रत्याशित रूपमा दक्षिण अफ्रिकन राष्ट्र मोरक्कोसँग २–१ ले पराजित भयो । यस हारले जर्मनीसमक्ष दक्षिण कोरियालाई हराउनुपर्ने समीकरण तयार भयो । तर, निर्णायक खेलमा जर्मनीले दक्षिण कोरियाको डिफेन्सलाई एकपटकबाहेक तोड्न सकेन । 

अस्ट्रेलियाको ब्रिसबेनमा बिहीबार दक्षिण कोरियाले अग्रता लिएको थियो । चो सो ह्युनले छैटौँ मिनेटमा दक्षिण कोरियालाई १–० को अग्रता दिलाइन् । खेलको ४२औँ मिनेटमा जर्मनीका लागि अलेक्जान्ड्रा पोेपले १–१ को बराबरीमा ल्याइन् । जर्मनीकी पोपले खेलको ५८औँ मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन रेफ्री (भिएआर)ले त्यसलाई मान्यता दिएन । 

जर्मन मिडफिल्डर लेना ओबेरडोर्फले धेरै अवसर सिर्जना गरे पनि नतिजाबाट दुःखी भएको बताइन् । ‘हामीले कोरियाका भन्दा धेरै अवसर बनायौँ तर, यसलाई गोलका रूपमा प्रयोग गर्न सकेनौँ,’ उनले भनिन्, ‘आज खेलमा के भयो, वर्णन गर्न सकिँदैन, कोरियाविरुद्ध हामीले राम्रो गर्न सकेनौँ ।’

मोरक्को पहिलोपटक अन्तिम १६ मा
डेब्यु संस्करणमै कीर्तिमान राच्दै मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो हाफमा अनिशा लाहमारीको एक मात्र गोलमा मोरक्कोले कोलम्बियालाई हरायो । मोरक्कोको यही जितले अन्तिम १६ स्थान रक्षा मात्र गरेन, प्रतियोगिताबाट जर्मनीलाई समेत बाहिर पठायो ।

अस्ट्रेलियाको पर्थमा पहिलो हाफको इन्जुरी समयमा अनिशाले विजयी गोल गरेकी हुन् । रिबाउन्ड पेनाल्टी प्रहारलाई अनिशाले पोस्टको दिशा दिएकी हुन् । मोरक्कोका प्रशिक्षक रेयनाल्ड पेड्रोसले आफ्ना खेलाडीले शतप्रतिशत खेलेको बताए । ‘सबैले खेलाडीलाई राम्रो साथ दिए । जसका कारण यो नतिजा आएको हो,’ उनले भने, ‘हामी आगामी दिनमा थप नतिजा निकाल्न चाहन्छौँ ।’