१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेडिकल शिक्षामा बिदेसिने विद्यार्थी पनि बढे

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२२:oo

वार्षिक एक हजार विद्यार्थी बाहिरिँदै, अमेरिका, अस्ट्रलिया र बेलायतमा आकर्षण

सरकारले विद्यार्थीहरूलाई स्वदेशमै टिकाउन वर्षेनी छात्रवृत्तिसहित एक खर्बभन्दा बढी बजेट छुट्याउँदै आएको छ । यो वर्ष मात्रै शिक्षालाई प्र्राथमिकतामा राखेर एक खर्ब ९६ अर्ब दुई करोड बजेट विनियोजन गरेको छ । तर, शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी बालुवामा पानी खन्याएसरह भइरहेको छ । स्वदेशका स्कुल–क्याम्पसको पठनपाठन गुणस्तरीय नहुँदा र शिक्षालाई रोजगारसँग जोड्न नसक्दा अध्ययन र रोजगारीको अवसर खोज्दै बिदेसिने नेपाली विद्यार्थीको संख्या उच्च छ । 

पछिल्ला वर्षहरूमा नेपालको स्वास्थ्य शिक्षा प्रणालीमाथि नै असर पर्ने गरी मेडिकल शिक्षा अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढेको पाइएको छ । चिकित्सा शिक्षा आयोगको तथ्यांकअनुसार नेपालबाट चिकित्सा शिक्षामा बिदेसिनेको संख्या हरेक वर्ष बढ्दै गइरहेको देखिन्छ । 

आयोगका अनुसार ०७९ (वैशाख–चैतसम्म) मेडिकल शिक्षामा स्नातक तहमा (एमबिबिएस, नर्सिङ, बिफार्म, बिडिएसलगायतमा) अध्ययनका लागि ८७८ विद्यार्थी बाहिरिएका छन् । ०७९ मै स्नाकोत्तर तहमा २८९ जना (एमडी, एमएस, एमडिएस पढ्न) विद्यार्थी बाहिरिए । यो संख्या ०७८ को भन्दा दोब्बर हो । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीका अनुसार मेडिकल शिक्षाका लागि सबैभन्दा धेरै आकर्षण अमेरिका, अस्ट्रलिया र बेलायत मानिएको छ । यसबाहेक नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश, भारत, चीन, पाकिस्तानलगायतका देश जाने विद्यार्थीको संख्या पनि बढ्दो देखिन्छ । ०७९ मा फेलोसिप कार्यक्रममा ११ विद्यार्थी विदेश गएका छन् । यसरी एक वर्षमा ११ सय ६८ विद्यार्थी विदेश गएका छन् ।

०७८ (वैशाख–चैतसम्म) मा स्नातक तहमा ४२५ जना विद्यार्थी मेडिकल शिक्षाका निम्ति बाहिरिएका थिए । स्नातकोत्तर तहको मेडिकल शिक्षाका लागि २८३ जना विदेश गएका थिए । सो वर्ष फेलोसिप कार्यक्रमअन्तर्गत नौजना गएका थिए । 

चालू आर्थिक वर्षमा पनि मेडिकल शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । वैशाखयता तीन महिनामा स्नातक तहका २८ र स्नातकोत्तर तहका १२ गरी ४० जना मेडिकल शिक्षाका विद्यार्थी विदेश गएको आयोगले जनाएको छ । 

तर, आयोगका उपाध्यक्ष प्रा.डा. गिरी मेडिकल शिक्षा अध्ययनका लागि बाहिर जानेको संख्याले नेपालको स्वास्थ्य प्रणालीमा असर नपर्ने दाबी गर्छन् । उनले हाल नेपालका सरकारी विश्वविद्यालयमै मेडिकल शिक्षा अध्ययन सहज भइरहेकाले अब बिदेसिने विद्यार्थीको संख्या कम हुँदै जाने दाबी गरे । नेपालका विश्वविद्यालयमा विद्यार्थीको आकर्षण नहुनुको मुख्य कारण यहाँको शैक्षिक क्यालेन्डर व्यवस्थित नहुनु रहेको उनको भनाइ छ । 

नेपालबाट नर्सिङ पढ्न विदेश जानेको संख्या पनि तुलनात्मक रूपमा घट्दै गइरहेको र विदेशबाट नेपालमा आएर मेडिकल शिक्षा अध्ययन गर्नेको संख्या बढ्दै गइरहेको गिरीको दाबी छ । हाल ४३४ जना विदेशी विद्यार्थी नेपालमा मेडिकल शिक्षामा अध्ययनरत छन् । ‘नेपालबाट विदेश जाने नर्स र डाक्टरको संख्या बढ्यो, देशको स्वास्थ्य प्रणाली बिग्रन्छ भनेर धेरै प्रश्नहरू उठिरहेका छन् । तर, तथ्यांक हेर्दा अब मेडिकल शिक्षाका लागि बाहिर जानेको संख्या क्रमशः घट्छ,’ गिरीले भने ।

अन्य संकायका विद्यार्थी बिदेसिनेको संख्या पनि उच्च 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा एक लाख १० हजार २१७ जना विद्यार्थी बाहिरिएका छन् । ०७८/७९ मा एक लाख १७ हजार विद्यार्थी बाहिएका थिए । कोभिडका कारण विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थी ‘होल्ड’ भएर बसेका कारण अघिल्लो वर्ष विद्यार्थी संख्या उच्च देखिएको छ । तर, अन्य वर्षको तुलना गर्दा गएको वर्ष विदेश जान एनओसी लिनेको संख्या बढेको छ । एनओसी कार्यालयका अनुसार कोभिडका कारण ०७७/७८ मा २७ हजार नौ सय मात्रै विद्यार्थी बाहिरिएका थिए । ०७६/७७ मा ३४ हजार ९६ विद्यार्थी बाहिरिएका थिए । ०७५/७६ मा ६३ हजार दुई सय ९५ जना विद्यार्थीले एनओसी लिएको देखिएको छ । 

पछिल्लो समय विदेश जाने विद्यार्थीको तथ्यांक बढेको एनओसी कार्यालयका प्रमुख वासु वस्तीले जानकारी दिए । उनका अनुसार नेपालमा निजी कलेज सञ्चालकहरूले नै कन्सल्टेन्सीलगायत शैक्षिक परामर्श संस्था सञ्चालन गरेका छन् । कतिपयले विदेशमै पनि कलेज खोलेका छन् । उनीहरूका कारण पनि नेपालबाट विदेश जाने विद्यार्थी संख्या बढ्दो छ । ‘सरकारले शिक्षामा विद्यालय तहलाई निःशुल्क गरेको छ, तर विद्यालय सकिएपछि विदेश जानेको संख्या ठूलो छ, त्यसलाई नेपालमै रोक्नेतर्फ ध्यान दिनु आवश्यक छ,’ वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वस्तीले भने । 

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार नेपालमा   विद्यार्थी नटिक्नुको कारण शिक्षालाई रोजगारसँग जोड्न नसक्नु हो । नेपालमै पढेर विदेशमा राजेगारीको लागि जानुभन्दा विदेशमै पढेर उतै रोजगार हुने मनसायले पछिल्लो समय कक्षा ११ र १२ को पढाइ सकिएपछि नै विदेश जाने विद्यार्थीको संख्या बढेको हो । ‘हाम्रोमा शिक्षालाई आत्मनिर्भरता, सीप तथा रोजगारसँग जोड्न सकिएन । यहाँका केही निजी स्कुलहरूले पनि विदेशमै पढाउने ढाँचामा विद्यार्थी पढाइरहेका छन्,’ उनले भने, ‘नेपालमा भविष्यको अन्योलता र पढेपछि पनि रोजगार नभइने डरमा बिदेसिनेको संख्या ठूलो छ ।’ उनका अनुसार सरकारले शिक्षालाई सीप तथा रोजगारसँग जोड्ने हो भने बिदेसिनेको संख्यामा कमी आउन सक्छ वा विदेशमा गएकालाई पनि फर्काउन सकिन्छ । तर, शिक्षामा सरकारको यथास्थितिवादी सोच हो भने बिदेसिनेको संख्या उच्च हुँदै जाने उनको भनाइ छ ।

कुन देशमा कति विद्यार्थी गए ?
आर्थिक वर्ष ०७९/८० मा ७० देशका लागि विद्यार्थीहरूले एनओसी लिएको तथ्यांक छ । जसमा ३३ हजार ९९१ अस्ट्रेलिया, २१ हजार ५७४ क्यानडा, १० हजार ५२७ बेलायत, तीन हजार ९७० अमेरिका, दुई हजार ३८९ युएई, एक हजार ८५ डेनमार्क, ५३७ बंगलादेश, १४२ बहराइन, जर्मनी ५७४, फ्रान्स एक हजार २८२, फिनल्यान्ड ८३२, १३० साइप्रस, २३१ कतार, रिपब्लिक अफ कोरिया तीन हजार ४६, ९६६ रसिया, १६४ स्विडेन,  ५४२ थाइल्यान्ड गएका छन् ।

विदेश जाने धेरै विद्यार्थीको रोजाइमा व्यवस्थापन र सूचना प्रविधि 
एनओसी कार्यालयको वार्षिक तथ्यांकअनुसार ०७९/८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि विदेश गएका छन् । यो संख्या २९ हजार ७३४ छ । विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार दुई सय ३८ छ । जापानिज भाषा अध्ययनका लागि २१ हजार १३१ जनाले एनओसी लिएका छन् । 

इन्जिनियरिङतर्फ चार हजार एक सय, कम्प्युटर साइन्सका लागि दुई हजार ७३४, सामुदायिक सेवाका लागि दुई हजार ३२३, विज्ञानमा तीन हजार ९२३, कानुनतर्फ १५७, वातावरण विज्ञानतर्फ २०३, मेडिसिनतर्फ ५९८, सामाजिक विज्ञानतर्फ ५२९, व्यवसाय विषय अध्ययनका लागि १२ हजार ८८३, सूचना प्रविधि विषय अध्ययनका लागि नौ हजार ४६८, कृषि विज्ञानतर्फ ४८२, अर्थशास्त्रमा ६४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका छन् । आव ०७९/८० मा विदेश जाने विद्यार्थीबाट २५ करोड १२ लाख १० हजार राजस्व संकलन भएको छ । एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क तिर्नुपर्छ । हाल दैनिक ६ सयजनासम्मले वैदेशिक अध्ययन अनुमति शाखामार्फत एनओसी लिने गरेका छन् । 

ad
ad