१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o६:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोलियमको मूल्य बढ्ने सूचनापछि व्यवसायीले एकैपटक उठाए धेरै तेल

निगमका चार डिपोबाट मात्रै सामान्य अवस्थाभन्दा झन्डै आठ सय किलोलिटर बढी पेट्रोल–डिजेल खरिद

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:२७:oo

पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् । मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित थियो । नयाँ मूल्य बढेर आउने पम्प व्यवसायीहरूले जानकारी पाएसँगै बिहानैदेखि निगमका चार डिपोबाट मात्रै सामान्य अवस्थाभन्दा झण्डै आठ सय किलोलिटर बढी पेट्रोल–डिजेल उठाएका छन् । निगमका डिपो प्रमुखहरूले धेरै तेल वितरण नगर्न कडाइ गरे पनि अन्य दिनको तुलनामा मंगलबार केही बढी पेट्रोल–डिजेल बिक्री भएको छ ।

कोसी प्रदेशका पम्प व्यवसायीले तुलनात्मक रूपमा धेरै तेल उठाएर लाभ लिएका छन् । कोसीमा इन्धन वितरण गर्ने निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयका प्रमुख पूर्णप्रसाद रिजालका अनुसार सोमबार आठ सय ५६ किलोलिटर पेट्रोल र डिजेल बिक्री भएकोमा मंगलबार ११ सय ५२ किलोलिटर बिक्री भएको छ ।

त्यस्तै, निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा)बाट पनि व्यवसायीले सोमबारको तुलनामा तीन सय ८४ किलोलिटर धेरै तेल उठाएका छन् । सो कार्यालयका अनुसार मंगलबार १६ सय ८८ किलोलिटर (पेट्रोल तीन सय ९२ किलोलिटर र डिजेल १२ सय ९६ किलोलिटर) बिक्री भएको थियो भने सोमबार १३ सय चार किलोलिटर (पेट्रोल दुई सय ७९ किलोलिटर र डिजेल एक हजार २५ किलोलिटर) बिक्री भएको थियो ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुख जगदीशचन्द्र यादवका अनुसार सोमबारको तुलनामा मंगलबार एक सय आठ किलोलिटर इन्धन बढी बिक्री भएको छ । मंगलबार पेट्रोल दुई सय १७ र डिजेल ६ सय २३ किलोलिटर गरी कुल आठ सय ४० किलोलिटर बिक्री भएको उनले जानकारी दिए । सोमबार भने पेट्रोल दुई सय ६ किलोलिटर र डिजेल पाँच सय २६ किलोलिटर गरी कुल सात सय ३२ किलोलिटर बिक्री भएको थियो ।

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख शैलेन्द्र भुसालले भने सोमबारको तुलनामा कम पेट्रोल–डिजेल बिक्री गरेको बताए । उनका अनुसार सोमबार १२ सय ६४ किलोलिटर बिक्री गरेकोमा मंगलबार १२ सय २० किलोलिटर मात्रै बिक्री भएको छ । पम्प व्यवसायीहरूले बुधबार बिहान तेल बेच्दा प्रतिलिटर पेट्रोलमा नौ रुपैयाँ र डिजेलमा प्रतिलिटर सात रुपैयाँ बढी मुनाफा सुनिश्चित गरेका छन् । पम्प व्यवसायीले मंगलबार साँझसम्म पुरानो दरमा तेल किनेका छन् । 

 स्वचालित प्रणालीलाई चुनौती
प्रत्येक १५ दिनमा आइओसीले नयाँ खरिद मूल्य पठाउने गर्छ । आइओसीले नयाँ खरिद मूल्य पठाउने मिति निश्चित (१ र १६ तारिख) छ । अन्तर्राष्ट्रिय बजारभाउलाई विश्लेषण गरी आइओसीले नयाँ मूल्य पठाउँदा घटाएर वा बढाएर पठाउनेबारे पम्प व्यवसायी जानकार हुन्छन् । त्यसैले उनीहरूले मूल्य घट्ने वा बढ्ने दिन अतिरिक्त लाभ हुने गरी इन्धन खरिद गर्न सक्छन् ।

यसबाट निगमलाई संस्थागत रूपमा नोक्सानी हुनेछ । त्यस्तै, निगमभित्र आर्थिक अराजकता र विकृतिसमेत बढ्ने खतरा देखिएको छ । मूल्य बढ्ने वेला सामान्य अवस्थाको भन्दा बढी तेल दिने डिपो प्रमुखलाई पम्प व्यवसायीहरूले प्रतिलिटरका दरले कमिसन रकम बुझाउन तयार हुन्छन् । र, यो विकृतिले संस्थागत रूप लिने जोखिम रहन्छ ।

मूल्य घट्ने वेला पम्प व्यवसायीले तेल नै नउठाउने गर्छन् । यस्तो वेला कमिसन लेनदेन गरेका डिपो प्रमुखले तेल लैजान पम्प व्यवसायीलाई दबाब दिन सक्दैनन् । जसकारण बजारमा तेलको अभाव हुन सक्छ । यसअघि भने मूल्य घटबढबारे व्यवसायीलाई थाहा नहुने हुँदा इन्धन आपूर्तिमा कुनै अवरोध र चलखेल हुने गरेको थिएन ।

पहुँच हुने पम्प व्यवसायीले धेरै तेल लगे
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका केन्द्रीय पदाधिकारीलाई मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य ठूलो अन्तरले बढ्ने अग्रिम जानकारी थियो । केही ठूला व्यवसायीलाई मंगलबार साँझ साढे पाँच बजे निगम सञ्चालक समिति बैठक डाकिएको  सोमबार नै थाहा थियो ।

त्यसैले ठूला र पहुँच भएका व्यवसायीले मंगलबार बिहान नै तुलनात्मक रूपमा धेरै तेलका उठाए । केही मध्यमस्तरका पम्प व्यवसायीले भने दिउँसो मात्रे थाहा पाएपछि दोहोर्‍याई, तेहर्‍याई बढी तेलको माग गरेका थिए । मूल्य बढ्ने सूचनाका आधारमा व्यवसायीले धेरै तेल माग गर्न थालेपछि डिपो प्रमुखहरूले सामान्य अवस्थाको मागसँग तुलना गर्दै सोभन्दा बढी नदिने अडान राखेका थिए ।

निगमको कोसी प्रादेशिक कार्यालय प्रमुख पूर्ण रिजालका अनुसार बिहानदेखि बेलुकासम्मै पम्प व्यवसायीले अन्य दिनको भन्दा धेरै तेलको माग गरेका थिए । ‘मूल्य बढ्ने अनुमानका आधारमा पम्प व्यवसायीले धेरै तेल मागेका थिए, तर धेरै हदसम्म कडाइ गरियो,’ उनले भने, ‘मागेजति कसैलाई तेल दिइनँ । तैपनि, अन्य दिनको भन्दा आज केही बढी वितरण हुन पुगेको छ ।’  

डिपो प्रमुखले मागअनुसार तेल नदिएपछि पहुँच भएका पम्प व्यवसायीले केन्द्रीय कार्यालयका कर्मचारीलाई भनसुन गरी दबाब र प्रलोभन देखाएर डिपोबाट मनग्य तेल उठाएका छन् । डिपो प्रमुखहरूलाई केन्द्रीय कार्यालयका उच्च तहका कर्मचारीले फोन गरी पम्पले मागेजति तेल दिन दबाबसमेत दिएका थिए ।

व्यवसायीहरूले पनि मंगलबार मागेजति तेल नपाएको भन्दै गुनासो गरेका छन् । ‘पम्पले मागेजति तेल कुनै पनि डिपोले दिएनन् । यो राम्रो भएन,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने । बढ्ने वेलामा मागेजति तेल नपाएका पम्प व्यवसायीले मूल्य घट्ने वेलामा भने डिपोबाट तेल नै नउठाएर बदला लिने भन्दै चित्त बुझाएर बसेका छन् ।

पेट्रोल नौ र डिजेल सात रुपैयाँ बढ्यो, ग्यास एक सय ३० रुपैयाँ घट्यो
नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।निगमको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल नौ रुपैयाँ, डिजेल र मट्टीतेल समान सात रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिलिटर एक सय ३० रुपैयाँले घटाएको छ ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७३ रुपैयाँ र डिजेल र मट्टीतेल समान एक सय ५३ रुपयाँ प्रतिलिटर पुगेको छ । काठमाडौंको तुलनामा तराईका जिल्लामा प्रतिलिटर २.५० रुपैयाँ र दाङ तथा सुर्खेतमा प्रतिलिटर एक रुपैयाँ पेट्रोल र डिजेल सस्तो पर्ने गर्छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने एक हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ । हवाई इन्धनको मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मंगलबार दिउँसो मूल्य बढेर आएका कारण निगमले पनि नेपाली बजारमा मूल्य समायोजन गरेको हो । निगम प्रवक्ता मनोज ठाकुरका अनुसार  पेट्रोल ८.१४ रुपैयाँ र डिजेल ६.८६ रुपैयाँ प्रतिलिटर बढेर आएको तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक सय १७ रुपैयाँ ६२ पैसा घटेर आएको छ । १५ दिनअघिबाट निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने भन्दै स्वचालित प्रणाली लागू गरेको छ ।

ad
ad