भुटानले दक्षिणमा रहेका आफ्ना नागरिकलाई कहिल्यै पनि नागरिक मानेन । जुनसुकै जुक्ति बनाएर भए पनि ती नेपालीभाषीलाई गलहत्याएर छाड्ने नीतिस्वरूप नेपालीभाषी भुटानीलाई विभिन्न सात वर्गमा विभाजित गरायो, आतंकित बनायो, तर्सायो, डर देखायो, धनजनको क्षति गरायो । अन्तमा ज्यानै बचाउन यी सोझा नागरिक रुँदै भारतको बाटो भएर पूर्वी नेपालमा शरण लिन आइपुगे । यो रोदनसँगै उनीहरूले भुल्न नसकेका भाषा, भेष, संस्कार, रीतिरिवाज र संस्कृतिलाई जतनसाथ काखी च्यापेर सदाका लागि देश छाड्नुपर्यो ।
यतिमै भुटान चुप रहन सकेन । शरणार्थीहरूको मुद्दा फितलो पार्न सधैँ नेपालका राजनीतिक दल र ती दलका भ्रष्ट नेताहरूलाई पालन–पोषण गरिरह्यो । भुटानले एकातिर नेपालका नेतालाई सम्पत्तिमा लोभ्याएर मुसो खेलाएझैँ खेलाइरह्यो भने अर्कोतिर विश्वजगतको आँखामा छारो हाल्न कहिले ‘विश्वकै सर्वोच्च खुसी मुलुक’को ढोल पिट्यो त कहिले नमुना प्रजातान्त्रिक मुलुक भनेर चिच्याइरह्यो । यसले भुटानी शरणार्थी मुद्दालाई पैसा र शक्तिको भरमा सधैँ अन्धकारतिर धकेलिरह्यो ।
भारत आफू भुटानलाई खप्लक्क निल्ने दाउमा छ, ताक पर्ना साथ सिक्किम बनाउन बाघले सिकार ढुकेझैँ ढुकेर बसेको छ! जनस्तरका मुद्दामा चुँइक्क बोल्दैन भारत । नेपाल र भुटानको बीचमा १५ वटा मन्त्रीस्तरीय वार्ताको ढोल पिटे पनि नेपाल भुटानको तीनवटा वार्तालाई मात्र शरणार्थी सरोकारमा केन्द्रित मान्न सकिन्छ! ती हुन् परराष्ट्रमन्त्री : डा. प्रकाशचन्द्र लोहनी, केपी शर्मा ओली र चक्र प. बास्तोलाको नेतृत्वमा रहेको नेपाल भुटान मन्त्रीस्तरीय वार्ता । यी वार्ताहरूले चाहिँ पक्कै भुटानसँग शरणार्थीबारे बोलेकै हुन् । बाँकी गफमा सीमित भए ।
भुटानी शरणार्थीको आन्दोलनलाई माटोमै मिसाउन नेपाली राजनीतिक दलले ठूलै भूमिका खेलेका छन् । तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले शरणार्थीलाई चार भागमा वर्गीकरण गर्ने भुटानको प्रस्तावलाई सदर गरिदिएपश्चात् नै यी निमुखाको बोली बन्द हुन पुगेको हो । नेपाली कांग्रेसको नेतृत्वले भुटानी शरणार्थीको न्यायिक आन्दोलनलाई ध्वस्त गरेको भन्दा आश्चर्य मान्नुपर्दैन । शेरबहादुर देउवा र दागो छिरिङले पहिलो मन्त्रीस्तरीय बैठक काठमाडाैंमा अक्टोबर ४–७, १९९३ मा गरेका थिए र यी सोझा शरणार्थीलाई चार भागमा वर्गीकरण गरेका थिए ।
यी चार वर्गीकरण यसप्रकार थिए :
१. भूलवश देश छोडेका असली नागरिकहरू !
२. राजीखुसीले देश त्यागेर हिँडेकाहरू !
३. भुटानीसत कुनै सम्बन्ध नराख्ने गैरनागरिकहरू !
४. भुटानमा आतंककारी गतिविधि गरेर भागेकाहरू
बाबु र आमा असली नागरिक भनेर प्रमाणित गर्ने भुटानले भुटानमै जन्मिएका तिनका सन्तानलाई कि गैरनागरिक या शिशुलाई आतंककारी भनेकै थियो, तर खुदुनाबारीमा समेत ६ महिनाको शिशुलाई आतंककारी घोषणा गर्दासमेत चुँइक्क नबोल्नुले त्यसवेलैको नेपाली राज्यसत्ता कति लाचार थियो भन्ने स्पष्ट हुन्छ ।
भुटानबाट लखेटिएकाहरू कसले स्वेच्छाले देश छाडे ? को–को गैरनागरिक थिए ? तिनै व्यक्तिहरू जो राज्यसत्ता नै लागेर नक्कली शरणार्थी बनाइए ? वा ती नेपालका भ्रष्ट मन्त्रीहरू ? वा टेकनाथ रिजाल को हुन् त ? बन्दुकसमेत नदेखेका यी सोझा भुटानी जनताले के आतंककारी गतिविधि गरे ? यी सबै प्रश्नको उत्तर पाउन संयुक्त राष्ट्रसंघले भुटानमा पनि अनुसन्धान गर्न आवश्यक छैन र ?
खुदुनाबारी शरणार्थी शिविरमा नेपाल र भुटानले खास भुटानी प्रमाणीकरण गरेका शरणार्थीको अवस्थाबारे नेपाली राजनीतिक दल र सरकार आजसम्म पनि किन कहिल्यै बोलेनन् ? यस पछाडि के–के भए अब त्यो पनि बाहिर आउनैपर्छ ! पन्थी आयोगको निष्कर्ष खोइ कुन दुलोमा छ र किन सार्वजनिक भएन ?
नेपाली मिडिया हाम्रो साथी !
जसरी नेपाली राजनीतिज्ञहरूले हामीमाथि लात हान्ने काम गरे– त्यसको ठीक विपरीत छ नेपाली मिडिया । मिडियाले हाम्राबारेमा लेख्न र बोल्न कहिल्यै छाडेन । नेपाली जनता र नेपाली मिडिया नभइदिएको भए हाम्रो पहिचान नै रहने थिएन । मिडियाकर्मीहरूलाई जति नै नमन गरे पनि कमै हुन्छ ।
यदि नेपाली मिडियाको हात र कलम काम्नु मात्रै थियो भने शायद हामी भारतको कुनै भूभागतिर माग्दै त्यतै विलय भइसकेका हुन्थ्यौँ ! जसरी नेपाली नेताले हामीमाथि अत्याचार गरे त्यसरी नै नेपाली मिडियाले मल्हमपट्टी गर्ने काम गरे । अहिलेसम्म पनि नेपाली मिडिया हाम्रा साथी भएका छन् । नेपाली मिडियाले हाम्राबारेमा लेख्न र बोल्न छाडेन । भारतीय वा पश्चिमेलीभन्दा निकै नै सान्दर्भिक र सत्य छ नेपाली मिडिया ! त्यसैले गर्दा पनि भुटानले एकलौटी गर्न नसकेर हालसम्म भुटानी शरणार्थी समस्याबारे वेलाबखत बहस भइरहन्छ ।
यति गर्दागर्दै पनि नेपाली मिडियालाई एउटा ठूलो चुनौती भने पक्कै छ। अब पुनः यी मिडियाले हामीलाई एकपटक साथ दिनैपर्छ । हामीमाथि नपिएको विष लागेको छ । पूर्वी नेपालमा रहेका प्रत्येक शरणार्थीलाई नेपाली सञ्चारकर्मीले भेट्नुपर्छ, तिनीहरूको राय बुझ्न सक्नुपर्छ । किन र के कारणले उनीहरू शरणार्थी शिविरमै रहे त्यो पत्ता लगाउन सक्नुपर्छ र उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याएर त्यसको उत्तर खोजिनुपर्छ । यो काम नेपाली मिडियाभन्दा अरूले पक्कै नगर्ला ।
नेपालको विश्वसामु गिरेको साख जोगाउन भए पनि नेपाली मिडियाले यो चुनौतीको सामना गर्नैपर्छ । आज सगरमाथाको उचाइ भएको देशको प्रतिष्ठा नक्कली शरणार्थीको बहाना लिएर समुद्रको गहिराइमा पुग्दा कुन नेपाली खुसी होला र ? मिडियाले यो चुनौतीलाई कसरी हेर्छ त्यो हामीले नि नियाल्दै जाने हो । नेपालको साख जोगाउन अब नेपाली जनता र नेपाली मिडियाले सरकार र सरोकारवालालाई निरन्तर खबरदारी गरी नै रहनुपर्छ ।
प्रचण्ड सरकारले भुटानसँग बाँकी रहेका ६ हजार पाँच सय शरणार्थीका विषयमा अब ठोस वार्ता गर्न सक्नुपर्छ । यो वार्तामा भारत र अमेरिकाको अनिवार्य उपस्थिति गराउन सक्नुपर्छ र देशको गिरेको साख बचाउनुपर्छ। अब नेपाल–भुटानको मात्र वार्तालाई विश्वास गर्न सकिन्न । होइन भने भुटानले भुटानी शरणार्थीहरूसँगै वार्ता गर्ने वातावरण नेपालले बनाइदिनुपर्छ । प्रधानमन्त्री प्रचण्डले अब भूमिका खेल्नुपर्ने समय आएको छ । सरकारले शिविरमा रहेका मानिसको ससम्मान स्वदेश फिर्तीलाई प्राथमिकता दिनैपर्छ ।
(निरौला पूर्वभुटानी शरणार्थी हुन् । तेस्रो मुलुक पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका उनी अमेरिकामा पत्रकारिता गरिरहेका छन्। उनी सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट विभूषित भएका थिए । उनी हालै प्रकाशित ‘द फरगटन स्टोरी’ पुस्तकका लेखक हुन् ।)