
भारत सरकारले शनिबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा देशभर बाघको संख्या तीन हजार ६८२ पुगेको उल्लेख छ । कुनै वेला मध्य, पूर्वी र दक्षिणी एसियामा बाघको अत्यधिक चहलपहल हुने गर्थ्यो, तर पछिल्लो शताब्दीमा बाघले आफ्नो ऐतिहासिक हिस्साको करिब ९५ प्रतिशत गुमाइसकेको छ ।
भारत अहिले विश्वको सबैभन्दा धेरै बाघ पाइने मुलुक हो । यहाँ विश्वको कुल बाघसंख्याको ७५ प्रतिशत बाघ छन् । क्यामेरामा आधारित सर्वेक्षणपछि अप्रिलमा बाघको संख्या बढेर तीन हजार १६७ पुगेको भारतले घोषणा गरेको छ ।
वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले गरेको सोही सर्वेक्षणको तथ्यांकलाई थप विश्लेषणपछि देशभर बाघको औसत संख्या तीन हजार ६८२ रहेको अनुमान गरिएको सरकारले जनाएको छ । पछिल्लो तथ्यांकले बाघको संख्या वार्षिक ६.१ प्रतिशतले वृद्धि भएको देखाएको सरकारले बताएको छ ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको संख्या करिब ४० हजार रहेको अनुमान गरिएको थियो । त्यसपछिका दशकमा यो संख्या उलेख्य घट्दै गएर सन् २००६ मा एक हजार ४११ सम्म झरेको थियो । त्यसपछि भारत सरकारले बाघ संरक्षणलाई महत्व दिन थालेपछि अहिले पुनः संख्या बढ्न थालेको छ ।
‘जनसहभागिता’ र देशको ‘संरक्षणको संस्कृति’ले देशमा बाघको संख्या बढेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत अप्रिलमा बताएका थिए । वन फँडानी, चोरी सिकारी र वासस्थानमाथिको मानवीय अतिक्रमणले एसियाभरि बाघको संख्यालाई तहसनहस पारेको छ ।