१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format o५:५६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

९२ दिनमा १४ हिमाल आरोहण गरेर क्रिस्टिन र तेन्जेनको कीर्तिमान

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५६:oo

पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो केटु (८,६११ मिटर) हिमालमा क्रिस्टिन र तेन्जेन । तस्बिर : सेभेन समिट ट्रेक्स

नेपाली पथप्रदर्शक तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलाले बिहीबार हिमाल आरोहणमा कीर्तिमान बनाएका छन् । ९२ दिनमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरेर उनीहरूले कीर्तिमान कायम गरेका हुन् ।

बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो केटु (८,६११ मिटर) हिमाल आरोहण सम्पन्न गरेसँगै क्रिस्टिन र तेन्जेनको नाममा रेकर्ड बनेको हो । दुवैले बिहान ११ः४० बजे केटु शिखर चुमेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले बताए । यससँगै सबैभन्दा छोटो अवधिमा १४ हिमाल आरोहण गर्ने निम्स दाइ (निर्मल पुर्जा)को रेकर्ड तोडिएको छ । पुर्जाले ६ महिना ६ दिनमै १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए । गत वर्ष उनको आरोहण टोलीमाथि बनाइएको वृत्तचित्रले विश्वभर चर्चा कमाएको थियो ।

विश्वमा आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा छन् । जसमध्ये सर्वोच्च शिखर सगरमाथासहित आठवटा हिमाल नेपालमै छन् । विश्वको दोस्रो अग्लो केटुसहित पाँचवटा हिमाल पाकिस्तान र एउटा चीन (तिब्बत)मा छ । विगततिर फर्किंदा रेनहोल्ड मेस्नरले १६ वर्ष लगाएर १४ वटा हिमालको चुचुरो चुमेका थिए । क्रिस्टिन र तेन्जेनले तीन महिनामै विश्वका अग्ला चुचुरा चुमेर संसारलाई चकित पारेको सेभेन समिटका अध्यक्ष शेर्पाले बताए । ‘एउटा दृढ संकल्पको विजय भएको छ,’ मिग्माले भने ।

नर्वेजियन क्रिस्टिन हेरिलाको ‘सी मुभ्स माउन्टेन’ अभियानलाई नेपाली गाइड तेन्जेन शेर्पाले सुरुदेखि नै साथ दिएका थिए । क्रिस्टिनले १४ वटै हिमाल तेन्जेनसँगै आरोहण गरेकी हुन् । यसअघि एक वर्ष पाँच दिनमा १४ अग्ला हिमाल आरोहण गरेर क्रिस्टिनले पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् । क्रिस्टिनको हिमाल आरोहणको व्यवस्थापन नेपाली कम्पनी सेभेन समिट ट्रेक्सले गरेको हो ।

२६ अप्रिल ०२३ मा क्रिस्टिन र तेन्जेनले चीन (तिब्बत)मा रहेको सिसपांग्मा (८,०२७ मिटर) हिमाल आरोहण गरेर अभियान सुरु गरेका थिए । यो आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये सबैभन्दा सानो हो । उनीहरूले ३ मेमा चोयु हिमाल (८,१८८ मिटर), १३ मेमा मकालु (८,४८५ मिटर), १८ मेमा विश्वकै तेस्रो अग्लो कञ्चनजंघा (८,५८६ मिटर), २३ मेमा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), २३ मेमै विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर), २९ मेमा धवलागिरि (८,१६७ मिटर) हिमालको चुचुरो चुमेको सेभेन समिट ट्रेक्सले जनाएको छ । 

यस्तै, ५ जुनमा क्रिस्टिन र तेन्जेनले अन्नपूर्ण फस्र्ट (८,०९१ मिटर) हिमालको सफल आरोहण गरेका थिए भने १० जुनमा मनास्लु (८,१६३ मिटर), २६ जुनमा पाकिस्तानमा रहेको नङ्गा पर्वत (८,१२५ मिटर), १५ जुलाईमा पाकिस्तानकै ग्यासरब्रम–टु (८,०३४ मिटर), १८ जुलाईमा पाकिस्तानमै रहेको ग्यासरब्रम–वान (८,०८० मिटर), २३ जुलाईमा पाकिस्तानमै रहेको ब्रोडपिक (८,०५१ मिटर) र २७ जुलाईमा पाकिस्तानमै रहेको केटु हिमाल (८,६११ मिटर) सफल आरोहण गरेका हुन् । 

१७ वर्षीय निमा रिन्जी शेर्पा केटु चुचुरोमा
१७ वर्षीय किशोर आरोही निमा रिन्जी शेर्पाले पाकिस्तानको केटु (८,६११ मिटर) हिमालको सफल आरोहण गरेका छन् । उनी बिहीबार बिहान १०ः४५ बजे केटुको चुचुरोमा पुगेको बताइएको छ । उनी किशोरावस्थामै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल आरोहण गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छन् । उनले यसअघि सगरमाथा, ल्होत्से, मनास्लु, नङ्गा पर्वत, ग्यासरब्रमलगायत सातवटा अग्ला हिमाल आरोहण गरिसकेका छन् । 

यस्तै, कीर्तिमानी आरोही मिंग्मा डेभिड शेर्पाले छैटौँपटक केटु हिमालको सफल आरोहण गरेर रेकर्ड राखेका छन् । पर्वतीय पथप्रदर्शक रहेका उनले केटु हिमाल आरोहणमा आफ्नो पुरानो रकेर्ड तोड्दै आइरहेका छन् । हिमालमा विभिन्न विश्व कीर्तिमान उनको नाममा दर्ज छन् । 

यस्तै, गोरखाकी पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पनि माउन्ट केटु हिमाल सफलतापूर्वक आरोहण गरेकी छिन् । यसअघि उनले सगरमाथा, मनास्लु, अन्नपूर्णलगायत हिमाल आरोहण गरिसकेकी छिन् ।