१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाै.
Invalid date format o६:१८:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सय किलो सुन तस्करी प्रकरण : मलहोत्राको फोटो छापिँदा ओलीको आपत्ति

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाै.
नयाँ पत्रिका
Invalid date format o६:१८:oo

४ साउनमा प्रकाशित नयाँ पत्रिका, जसमा आफ्नो फोटो छापिएको भन्दै ओलीले आक्षेप लगाएका छन् तर, पूरै समाचारमा न उनको फोटो छ, न नाम

अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको करिब सय किलो सुन तस्करीसम्बन्धी समाचारमा आपत्ति जनाउँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नयाँ पत्रिकामाथि लाञ्छना लगाएका छन् । गत बिहीबार प्रकाशित समाचारमा आफ्नो फोटोसमेत राखिएको उनको आरोप छ । जब कि समाचारमा न ओलीको फोटो छ, न उनको नाम नै । 

नयाँ पत्रिकाले ४ साउनको अंकमा ‘भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद’ शीर्षकको प्रमुख समाचार प्रकाशित गरेको थियो । जसमा यसअघि पटक–पटक सुन तस्करीमा नाम जोडिएका विवादास्पद व्यक्ति दीपक मलहोत्रा अनुसन्धानको घेरामा रहेको उल्लेख थियो । समाचारसँगै मलहोत्राको फोटो पनि थियो । तर, त्यसलाई ओलीले आफ्नो फोटो छापेको भन्दै लाञ्छना लगाए । 

दोस्रो ठूलो दलको प्रमुख नेता तथा तीन–तीनपटक प्रधानमन्त्रीसमेत भइसकेका ओलीले प्रारम्भिक सूचनाको पुनर्पुष्टिविनै नयाँ पत्रिकामाथि आक्षेप लगाए । ‘हावाका पछाडि कुद्ने, नचाहिँदा कुरा लेख्ने । अनि कसको मानमर्दन, कसरी गर्न पाइन्छ भनेर भन्नेजस्तो एउटा नयाँ पत्रिका भन्ने छ क्यारे नेपालमा । त्यो पत्रिकाले सोझै मेरोसमेत फोटो छापेछ । मेरो फोटो किन छापेको ? न म सरकारमा, न म प्रहरी चलाउने, न म अध्यागमन चलाउने । मेरो फोटो किन छापेको ?’ ६ दिने कम्बोडिया भ्रमणबाट स्वदेश फर्किने क्रममा ओलीले सोमबार राति विमानस्थलमा पत्रकारसँग भने, ‘कमसेकम एउटा न्यूनतम धर्म त राख्नुपर्छ नि । पत्रकारिताको न्यूनतम मर्यादा त राख्नुपर्छ नि । यसलाई त पीत पत्रकारिता भनिन्थ्यो । पीत पत्रकारिता मात्र होइन कि, यो त कालो पत्रकारिता, वर्स्ट । त्यस्तो पनि हुन्छ ?’ 

ओली त्यत्तिकैमा रोकिएनन्, नयाँ पत्रिका कुनै अमूक दलबाट सञ्चालित भएको लाञ्छना पनि लगाए । ‘तपाईंहरूमध्ये यहाँ (विमानस्थलमा) कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर, त्यो गृहमन्त्रीको, प्रधानमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका हो, सबैलाई थाहा छ, त्यो माओवादीको पत्रिका हो,’ उनको भनाइ थियो । 

पत्रिकालाई लिएर हचुवाको भरमा ओलीले दिएको अभिव्यक्तिबारे एमालेका अधिकांश पदाधिकारी असन्तुष्ट छन् । यद्यपि, त्यसलाई पार्टीका तर्फबाट संस्थागत खण्डन गरेका छैनन् । एक पदाधिकारीले मंगलबार ओलीलाई गलत सूचनाका आधारमा पत्रिकामाथि आरोप लगाएको विषय जानकारी गराएका थिए । तर, ओलीले ‘आफूलाई कसैले पत्रिकाले त्यसरी फोटो प्रकाशन गरेको जानकारी गराएको सूचनाका आधारमा बोलेको’ जवाफ दिएका छन् । ‘उहाँले कसैले आफूलाई पत्रिकाले छापेको देखाएर जानकारी गराएका कारण प्रतिक्रिया व्यक्त गरेको प्रस्ट्याउनुभयो, अरू केही बताउनुभएन,’ ती पदाधिकारीले भने । ओलीका सचिवालयका एक सदस्यले माओवादीका थुप्रै केन्द्रीय सदस्यले नै फोटो राखिएको समाचार सामाजिक सञ्जालमा दुरुपयोग गरेर दुष्प्रचार गरेको र सोही कारण अध्यक्ष ओलीले पर्याप्त जानकारीविना असावधानीवश प्रतिक्रिया व्यक्त गरेको जवाफ दिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ पत्रिकाले तस्बिर नछापेको जानकारी भएको र पत्रिकाले पनि सामाजिक सञ्जालको दुरुपयोगबारे ध्यान दिनुपर्ने प्रतिक्रिया दिए । ‘त्यो फोटो नयाँ पत्रिकाले छापेको होइन भन्ने हामीलाई र अध्यक्षलाई जानकारी भयो । तर, पत्रिकालाई दुरुपयोग गरी सामाजिक सञ्जालमा दुरुस्तै पत्रिकाले छापेजसरी प्रचार हुनु राम्रो होइन । त्यसले गर्दा अध्यक्षले पत्रिका नै जोडिएजस्तो आभाष भएर प्रतिक्रिया व्यक्त गर्नुभएको हुन सक्छ,’ उनले भने, ‘तर, सार्वजनिक कार्यक्रममा समूहमा कुनै एक व्यक्तिले भेटेको एउटा फोटोलाई कुनै एउटा पत्रिकाकै प्रतिष्ठामा असर पुग्ने गरी सामाजिक सञ्जालमा समाचारसँग जोडेर दुष्प्रचार हुँदा अबका दिनमा सम्बन्धित पत्रिकाको पनि गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।’ 

गृहमन्त्रीमाथि पनि खनिए ओली

ओली गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध पनि खनिएका छन् । श्रेष्ठले नियोजित रूपमै फोटो प्रकाशन गर्न लगाएर सुन तस्करीको विषयमा अन्यत्रै ध्यान मोड्न खोजेको दाबीसमेत ओलीले गरे । ‘गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ? तसर्थ, यहाँनेर उहाँको नयाँ पत्रिकाले सुरुमै बोल्नु, चेम्बर (नेपाल चेम्बर अफ कमर्स)को अधिवेशनमा खिचिएको फोटो । चेम्बरको अधिवेशनमा व्यापारी नभएर को किसान हुन्छ ? त्यहाँ चेम्बरको, सिएनआईको, एफएनसिसिआई (उद्योग वाणिज्य महासंघ)को हुन्छन् नै । त्यो फोटो छाप्छ, अत्यन्तै गैरजिम्मेवार ढंगले,’ ओलीले भने, ‘यस्ता गम्भीर विषय डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ?’ 

ओलीले भविष्यमा आफू सत्तामा आए श्रेष्ठमाथि कारबाही गर्ने चेतावनी दिए । ‘आकाशमा उता चिल देखाएर यता के लुकाउन खोज्दै छ ? म गृहमन्त्री र नयाँ पत्रिकाहरूलाई सोध्न खोज्छु– के छोप्न खोजिँदै छ ?’ उनले भने, ‘म पनि भन्न चाहन्छु– अबको समयमा कुनै वन (नारायणकाजी निवास हात्तीवनमा छ) होस् कि वनको छेउछाउ होस् कि कहीँ होस्, कसैले यस्ता काम गरेको छ भने छोडिनेवाला छैन ।’

ओलीले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका छन् । ‘उहाँले यहाँ (एयरपोर्टमा) सुरक्षाको बन्दोबस्त गर्नुभएको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँ को आउँछन्, जान्छन् निरीक्षण गर्ने काम उहाँको हो कि होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ,’ ओलीले भने, ‘गृहमन्त्री कोट र टारको गालामा गएर काँक्राको बियाँ टाँस्दै बस्छन्, मुखैका छेउमा गएर । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार हो । यसको भए पनि, उसको भए पनि यस्ता गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ।’

ओलीले थप प्रश्न गरे, ‘गृहमन्त्रीले बताउनुपर्‍यो– यसमा उहाँको संलग्नता छ–छैन ? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला ! उहाँको चाहिँ संलग्नता छ–छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यत्तिकै कोटको गालामा काँक्राको बियाँ टाँस्ने होइन ।’

ओलीले गृहमन्त्रीले जथाभावी बोलेको टिप्पणी गरे । ‘म उहाँलाई सचेत गराउन चाहन्छु– गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो । तर, यो त बत्तमिजको मात्र होइन, गैरजिम्मेवार हद भयो । गृहमन्त्री भएर जथाभावी बोल्ने ? गृहमन्त्री भएर जथाभावी बोल्न छुट छ ? अर्को कसैले उनको जवाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? अब गृहमन्त्रीविरुद्धचाहिँ मुद्दा हाल्ने कि नहाल्ने ?’ ओलीले भने । 

ओलीले सुनकाण्डको सिलसिला अन्तिमसम्म नपुर्‍याएसम्म नछोड्ने बताए । ‘गृहमन्त्रीलाई थाहा होस्, तपाईंहरूले गृहमन्त्रीकहाँ पुर्‍याइदिनुस् । कहीँ भए पनि । यस्ता कुरालाई खनेर ननिकालेसम्म हामी छोड्दैनौँ । यसमा कारबाही के हुन्छ हामी हेरिरहेका छौँ । कसलाई कारबाही हुन्छ, को जवाफदेही छ ? बोक्न त प्लेन, भरियालाई बोकायो होला, तर बोकायो कसले ?’ ओलीले प्रश्न गरे । 

विमानस्थलमा के भने ओलीले ?
जनतामा निराशा पनि छ । यो निराशाचाहिँ दुई प्रकारका शक्तिहरूले नै संयुक्त रूपमा बढाएका छन् । एउटा राजनीतिकर्मीहरूका गलत क्रियाकलापले भएको छ । अर्को सञ्चारकर्मीहरूको क्रियाकलाप पनि त्यति प्रशंसायोग्य छैन । हावाका पछाडि कुद्ने, नचाहिँदा कुरा लेख्ने अनि कसको मानमर्दन कसरी गर्न पाइन्छ भनेर भन्नेजस्तो एउटा नयाँ पत्रिका भन्ने छ क्यारे नेपालमा । त्यो पत्रिकाले सोझै मेरोसमेत फोटो छापेछ । मेरो फोटो किन छापेको ? न म सरकारमा, न म प्रहरी चलाउने, न म अध्यागमन चलाउने । मेरो फोटो किन छापेको ? 

तपाईंहरूमध्ये (पत्रकार) कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर, त्यो गृहमन्त्रीको, प्रधानमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका हो । सबैलाई थाहा छ, त्यो माओवादीको पत्रिका हो । कमसेकम एउटा न्यूनतम धर्म त राख्नुपर्छ नि । पत्रकारिताको न्यूनतम मर्यादा त राख्नुपर्छ नि । यसलाई त पीत पत्रकारिता भनिन्थ्यो । पीत पत्रकारिता मात्र होइन कि यो त कालो पत्रकारिता, वर्स्ट । त्यस्तो पनि हुन्छ ? 

गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ? यहाँनेर उहाँको नयाँ पत्रिकाले सुरुमै बोल्नु, चेम्बरको अधिवेशनमा खिचिएको फोटो छाप्नु । चेम्बरको अधिवेशनमा व्यापारी नभएर को किसान हुन्छ ? त्यहाँ चेम्बरको, सिएनआईको, एफएनसिसिआईको मान्छे नै हुन्छन् । अनि त्यो फोटो छाप्छ, अत्यन्तै गैरजिम्मेवार ढंगले । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? आकाशमा उता चिल देखाएर यता के लुकाउन खोज्दै छ ? म गृहमन्त्री र नयाँ पत्रिकाहरूलाई सोध्न खोज्छु । के छोप्न खोजिँदै छ ? 

सम्पादकीय टिप्पणी : आपत्तिजनक टिप्पणीप्रति चिन्ता

नेकपा (एमाले) अध्यक्ष केपी ओलीबाट सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथिको आरोपपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशको दोस्रो ठूलो राजनीतिक दलका अध्यक्षको अभिव्यक्तिमा विवेक, मर्यादा र सूचनाको अभाव देखेर हामी चिन्तित छौँ ।

गत बिहीबार प्रकाशित ‘भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद’ शीर्षक समाचारमा पटक–पटक सुन तस्करीमा जोडिएका विवादास्पद दीपक मलहोत्रा अनुसन्धानको दायरामा भएको उल्लेख छ । तर, त्यसमा न ओलीको कुनै तस्बिर छ, न नाम । त्यसमा जम्मा मलहोत्रा अनुसन्धानमा भएको उल्लेख छ, आरोप छैन । 

त्यो समाचारमा ओलीको आक्रोश, आरोप र गाली–गलौजले मलहोत्रासँग उनको अतिरिक्त प्रेम त देखिएला, तर राजनीतिक विवेक र मर्यादा देखिँदैन । अमूक पार्टीसँग जोडेर देशकै लोकप्रिय दैनिकलाई उनले लगाएको लाञ्छना पत्रिकालाई होइन, कतै न कतै उनैतिर फर्किन सक्छ । हामी ओलीको भाषा त प्रयोग गर्न सक्दैनौँ, तर यत्ति भन्न सक्छौँ– नेताहरूले तस्करहरूका लागि भन्दा देशका लागि केही गर्छौँ भन्नेहरूका लागि आधा उभिइदिए साँच्चिकै फरक पर्ने थियो, तर तिनले न चन्दा उठाउन सक्छन्, न नेता पाल्न सक्छन् । 

३३ किलो सुन तस्करी प्रकरणबाट मलहोत्रा कसरी र किन जोगिए ? पूर्णपाठ आउन बाँकी नै छ र ओलीको आक्रोशबाट सजिलै बुझ्न सकिन्छ । 

हामी माननीय ओलीलाई आफ्ना आरोप प्रमाणित गर्न चुनौती दिन्छौँ । लाखौँ मान्छे सहभागी भएको, हजारौँले बलिदान दिएको आन्दोलन तस्करहरूको प्रतिरक्षामा नसिध्याउन विनम्रतापूर्वक अनुरोध गर्दछौँ । यो देश उहाँको पार्टीजस्तो पनि छैन, जहाँ कसैले प्रश्न उठाउन नसकोस् । संगत तीसँग गर्नोस्, जोसँग सार्वजनिक प्रश्न नउठोस् ।

देशको दोस्रो ठूलो दल र त्यसको निरंकुश अध्यक्ष नभएको भए हामी यो सम्पादकीय टिप्पणी लेख्दैनथ्यौँ । राजनीतिमा सामान्य आरोप–प्रत्यारोप र त्यसका लागि सहिदको खोजी सामान्य नियम हुन् । तर, हामी अध्यक्ष ओलीलाई यत्ति भन्न चाहन्छौँ– तपाईंको राजनीतिका लागि राजनीतिबाहिरका सहिदको खोजी नगर्नुस् । दीपक मलहोत्रालाई माया गरिरहनुहोस्, तर त्यसका लागि हामीलाई आरोपित नगर्नुहोस् । तस्करहरूप्रति यत्ति नाङ्गो प्रेम आफ्ना कार्यकर्तालाई कतै दुख्ला भन्ने विवेक प्रयोग गरिदिनोस् ।